सिड्नी आइपुगिन् अन्जु, शनिबार सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै

सिड्नी आइपुगिन् अन्जु, शनिबार सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली सुगम गीत संगीतकी वरिष्ठ एवम् लोकप्रिय गायिका अन्जु पन्त सिड्नी आइपुगेकी छन् । उनी बिहिबार राती सिड्नी आइपुगेकी हुन् ।

शनिबार सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुन लागेको विजडम म्यूजिकल नाइट कार्यक्रममा आफ्ना चर्चित सांगीतिक प्रस्तुति दिन अन्जु सिड्नी आइपुगेकी हुन् । कार्यक्रमको आयोजना विजडम इन्टरटेनमेण्टले गरेको हो ।

कार्यक्रम आयोजक संस्थाका प्रमुख सफल कार्कीका अनुसार यो म्यूजिकल नाइटमा सिड्नीमै रहेका गायक संजिव पराजुली र सन्ध्या जोशीलगायतका कलाकारहरूले पनि बेजोड प्रस्तुति पस्कने छन् ।

सिड्नी टेकेलगत्तै गायिका अन्जु पन्तले लामो समयपछि फेरि अष्ट्रेलिया आउन पाएकोमा खुशी ब्यक्त गरिन् । उनले सिड्नीमा रहनुहुने नेपालीहरूमाझ गीत संगीत प्रस्तुत गर्ने अवसर मिलेकोमा खुशी ब्यक्त गरिन् । ‘दशैँको अवसरमा सिड्नीमा रहनुहुने नेपालीहरूका माझ गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्न म आएकी छु । हजूरहरू पनि आउनुहोला । सँगै गाऔँला, नाचौँला, रमाइलो गरौँला’, गायिका पन्तले सिड्नीवासी नेपालीसमक्ष आग्रह गरेकी छन् ।