गैरआवासीय नेपाली संघको १४औँ युरोपियन सम्मेलनमा कानुनमन्त्री प्रमुख अतिथि

गैरआवासीय नेपाली संघको १४औँ युरोपियन सम्मेलनमा कानुनमन्त्री प्रमुख अतिथि


सम्मेलनको तयारी अन्तिम चरणमा रहेको आयोजकको भनाइ

  • विशेष प्रतिनिधि, स्टकहोल्म्स (स्विडेन)

गैरआवासीय नेपाली संघको १४औँ युरोपियन सम्मेलन, युवा तथा महिला भेलाको प्रमुख अतिथिका रुपमा भाग लिन नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला स्विडेनको राजधानी स्टकहोल्म्स आउँदै हुनुहुन्छ ।

गैरआवासीय नेपाली संघले नियमित गरिरहने यस्ता सम्मेलनहरु कोभिड महामारीको कारण प्रविधिको माध्यमबाट मात्र भइरहेकोमा यो पटक प्रत्यक्ष रुपमा हुन गइरहेको आयोजकले जनाएको छ । यसै बैठकको लागि युरोप क्षत्रिय समितिले संयोजकद्वय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईको संयोजकत्वमा एक समितिका साथ विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँड गर्दै काम अघि बढाएको जानकारी प्राप्त हुन आएको छ।

पछिल्लो चरणमा गैरआवासीय नेपाली संघको गिर्दो साखलाई सम्मेलनमार्फत केही हदसम्म उउचाइमा पुऱ्याउने प्रयास भैरहेको र त्यसैको लागि संस्थागत सल्लाहहरु लिएर अगाडि बढिरहेको समेत जानकारी मिलेको छ ।

सम्मेलनमा भाग लिन आउने अनुमानित पाहुनाको संख्या २०० देखि ३०० सम्म अपेक्षा गरेको युरोप क्षेत्रले संघको आन्तरिक समस्यालाई हल गर्नका निमित्त विधान संशोधनको प्रक्रियालाई यसै सम्मेलनमार्फत आगाडि बढाएर सबै अट्ने अनुशाशित संघको भविष्यको लागि काम गरिरहेको समेत बताइएको छ । सो विषयलाई आइसीसीले विधान समायोजन समिति बनाएर काम गरिरहेको र त्यसको संयोजक डा. हेमराज शर्मा र सदस्यसचिवको भूमिकामा गंगाधर गौतम रहनुभएको बताइएको छ।

आयोजक राष्ट्रका अध्यक्ष राजकुमार पाठकका अनुसार युरोप क्षेत्रले दिएको जिम्मेवारीलाई महत्वका साथ लिँदै आफ्नो तर्फबाट सम्पूर्ण रुपले तयार भएको र क्षत्रिय सम्मेलनमा आउनुहुने पाहुनाहरुलाई स्वागत गर्न आतुर रहेको प्रतिक्रिया दिनुभएको छ।

कार्यक्रममा फरक फरक सात सेसनसँगै विविध विषयहरुलाई समेटेर बनाइएको कार्यक्रमलाई एक दुइं दिनभित्र प्रकाशित गरिने जानकारी दिइएको छ।

युरोप सम्मेलन एकताको सम्मेलन समेत बनाउनका निमित्त भित्री गृहकार्य भइरहेको साथै सबैको संघ बनाउनका निमित्त अत्यन्त लचिलो बन्दै सबैलाई समेट्दै, सहभागी बनाउँदै सम्मेलनले सकारात्मक सन्देश दिने बनाउनका निमित्त काम भइरहेको समेत जानकारी प्राप्त भएको छ ।