पूर्वीय दर्शन र धर्म संरक्षणको लागि चितवनमा सत्याग्रह शुरु, जनसमर्थन उर्लंदो

पूर्वीय दर्शन र धर्म संरक्षणको लागि चितवनमा सत्याग्रह शुरु, जनसमर्थन उर्लंदो


नेपाललाई हिन्दु राज्य घोषणा गर्दै ओमकार परिवारका आध्यात्मिक स्थान (प्रतिष्ठान, मठ मन्दिर र दर्शन)हरुको राज्यद्वारा संरक्षण हुनुपर्ने माग

  • विशेष सम्वाददाता, चितवन

नेपाललाई सनातन हिन्दूराष्ट्र नेपाल कायम पुनः घोषणा गर्नुपर्ने, शालिग्राम प्राप्त हुने कृष्ण गण्डकी लगायत सम्पूर्ण पवित्र सम्पदाको संरक्षण गर्नुपर्ने, वेदलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, अन्य आदिम ग्रन्थलगायत पूर्वीय दर्शनहरुको संरक्षण गर्दै पूर्वीय सभ्यता र संस्कृतिको संरक्षण तथा अनुसन्धान केन्द्र नेपालमा स्थापना गर्नुपर्ने, देशलाई सनातन हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग अघिसार्दै गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही असोज १ गतेदेखि आमरण तथा रिले अनशन शुरु गरेको छ ।

हिन्दु धारमा सबै शाखालगायत सम्पूर्ण ओमकार अनुयायीहरुको नेतृत्व गर्दै धार्मिक अभियन्ता तथा महाआरती परिषदका अध्यक्ष प्रेमनिधि भारद्वाज स्वयम् अनशन बसेर यस अहिंसात्मक आन्दोलन शुरु गर्नुभएको छ भने अन्य २५ जना सनातनी अभियन्ताहरुले दैनिक १२ घन्टाको दरले रिले अनशन गरि उहाँलाई साथ दिँदै आउनुभएको परिषदले जनाएको छ ।

नेपाल पत्रकार महासंघ चितवनको कार्यालय हलमा सम्पन्न पत्रकार सम्मेलनबाट आफ्ना मागहरुसहित कार्यक्रमको घोषणा गरेपश्चात ‘सनातन संस्कृति संरक्षण सत्याग्रह’ शुरु भएको हो ।

सत्याग्रही अभियन्ता प्रेमनिधिले आफ्ना मागहरुबारे जानकारी दिँदै भनेका छन् कि नेपालमा अहिले विभिन्न पश्चिमा मिसिनरीबाट हाम्रो पूर्वीय सभ्यता र दर्शनमाथि अतिक्रमण तीव्र भएको छ । विभिन्न खाले दबाब, भ्रम र प्रलोभनमा नेपालको सांस्कृतिक तथा धार्मिक आस्था तथा सम्पदामाथि भइरहेको अतिक्रमणलाई रोक्न अब नेपालीलगायत सबै पूर्वीय सभ्यता र दर्शनप्रति आस्थाभाव राख्नेहरु जाग्नुको अब विकल्प रहेन ।

उहाँले अगाडि भन्नुभएको छ, ‘राज्यलाई हामीले धेरै प्रकारले दबाब दियौँ तर हाम्रो सभ्यता र सम्पदामाथिको त्यो अतिक्रमण रोकिएन । त्यसैले हामीले महाआरतीको दीप प्रज्वलन गरि यसखाले अतिक्रमणको विरुद्ध लड्न सत्याग्रहको अहिंसात्मक संघर्ष शुरु गरेका हौँ ।’

भारद्वाजले सबैलाई आह्वान गरेका छन्, ‘एकातिर हाम्रो धर्म, संस्कृति र धार्मिक तथा पुरातात्विक सम्पदामाथि बाह्य अतिक्रमण बढेको छ भने अर्कोतिर हामी आफैं पनि बहकिएका छौँ । राज्यले पनि यो दिशामा गहन भूमिका निभाएको नदेखेपछि हामीले महाआरतीको संकल्पसहित सत्याग्रहमा होमिन बाध्य भएका हौँ । तपाईं, हामी सबैलाई थाहा भएको कुरा हो कि हामी आफैंले पनि हाम्रा मोठ, मन्दिर, गुरुकुल, पवित्र स्थल र पवित्र पौराणिक दर्शनहरुको संरक्षणमा ध्यान दिन सकिरहेका छैनौँ । हाम्रो पवित्र जनावर कामधेनुको संरक्षणमा पनि राज्य मुकदर्शक मात्र भएको छ भने स्थानीय तहबाट पनि उति चासो देखाइएको छैन, न त त्यस विषयमा राज्यको चासो छ । त्यसको लागि सर्वप्रथम हामी आफैंमा जागरण आउन जरुरी छ । अब हामी सुतिरहन सक्दैनौँ । आउनुहोस, हाम्रो मौलिक सम्पदामाथिको यो सम्पूर्ण अतिक्रमण रोक्न पूर्वीय दर्शनमा आस्था राख्ने सबै एकजुट बनौँ ।’

परिषदले पत्रकार सम्मेलनमा राखिएका मागहरुमा मुख्य गरेर नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने, सम्पूर्ण पालिकाहरूमा सुरक्षित गोवनको व्यवस्था हुनुपर्ने, पूर्वीय दर्शन, सभ्यता, पवित्र ग्रन्थ वा दर्शन, पवित्रस्थल तथा अनुसन्धानलाई संचालन र व्यवस्थित गर्ने ध्येयले नेपालका जातजाति तथा उपजातिहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी राष्ट्रिय सनातन आयोग गठन गर्नुपर्ने, वेदसहित पौराणिक पूर्वीय ग्रन्थहरुलाई राष्ट्रिय ग्रन्थ घोषणा गर्नुपर्ने, मुक्तिनाथबाट उत्पत्ति भएकी शालिग्रामकी जन्मदाता कालीगण्डकी (कृष्णागण्डकी)लाई जीवित आस्था (देवी)का रूपमा स्वीकार गर्दै नेपाल सम्पदा सूचीमा सूचीकृत गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने र नेपालका विभिन्न नदीनाला, ताल-तलाउ, कुण्ड आदिमा रहेका परम्परागत घाट (स्नान तथा श्मशान)हरूको सुद्धता तथा पवित्रतालाई ध्यानमा राख्दै व्यवस्थित तथा निर्माण गर्नुपर्ने, २०७६ वैशाख १ गतेदेखि सनातन जागरणको सपथ लिएर नित्य संचालनमा रहेको महाआरतीस्थललाई आवश्यक सुरक्षित स्थान उपलब्ध गराउनुपर्ने, महाआरतीका लागि महानगरबाट संचालनार्थ आर्थिक सहयोगको प्रबन्ध गर्नुपर्ने, भरतपुर महानगरबाट प्रदान गरिने छात्रवृत्तिहरू वितरण गर्दा धार्मिक संघसंस्था, गुरुकुलमा बसेर अध्ययन गर्ने छात्रछात्राहरूका लागि निःशुल्क अध्ययन गर्न र अनाथालय संचालन गर्न वार्षिक आर्थिक बजेट प्रदान गर्नुपर्ने लगायत रहेका छन् ।

परिषद्का अध्यक्ष तथा संयोजक प्रेमनिधि कँडेल भारद्वाज लगायत चार जना युवाहरूले २०७२ सालमा पनि हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग राखी काठमाडौंमा अनशन बस्नुभएको थियो । तर राज्यले ति सबै माग पूरा गर्ने आश्वासन दिए पनि त्यसको लागि खासै चासो नदेखाएकोले अर्को सत्याग्रह गर्नुपरेको उहाँले बताउनुभयो ।

स्मरण रहोस्, वेदब्यासको जन्म तनहुँ जिल्लाको दमौलीमा आएर आदिशंकराचार्य वेदका पाण्डुलिपीहरु संकलन गरेको इतिहासमा उल्लेख छ । ती संकलित पाण्डुलिपिहरु अहिले पनि भारतको पुणेस्थित भण्डारकर ओरियण्टल रिसर्च इन्स्टिच्युटमा हेर्न सकिन्छ । तीमध्ये ३० पाण्डुलिपिहरु निकै महत्वपुर्ण छन्, जसलाई युनेस्कोले आफ्नो सम्पदा सूचिमा राखेको छ । त्यसैले वेद रचनाको प्याटेन्ट राइट भारतले लिने खतरा बढेकोले वेदको प्याटेन्ट राइट नेपालले लिन वेदलाई राष्ट्रिय ग्रन्थको सूचिमा राख्नुपर्ने तर्क महत्वपुर्ण मानिएको छ।