आफूभित्र रहेको शक्तिलाई बाहिर निकाल्न मद्दत गर्ने हुँदा दुःखको समय मानिसको जीवनमा निकै महत्वपूर्ण समय हो । त्यस्तो समयले मानिसको आत्मबल दह्रो बनाउँछ, आत्मविश्वासलाई थप मजबुत बनाउँछ । पाइतालामा काँडा बिझेपछि मात्रै मानिसले भुइँमा राम्ररी हेरेर हिँड्छ ।’
- बबिता बस्नेत
फलाम र सुनको एउटा चर्चित कथा छ । सुनले एकदिन फलामसँग भनेछ, गहना बनाउने क्रममा मलाई पनि त्यत्तिकै पिटिन्छ जति तिमीलाई भाँडाकुँडा बनाउने क्रममा पिटिन्छ । म त खासै वास्ता गर्दिनँ तर तिमी कति चिच्याएको ? किन त्यति धेरै आवाज निकालेर कराएको ? जवाफमा फलामले भनेछ- ‘आफ्नैले दिने पीडा कस्तो हुन्छ भनेर तिमीलाई थाहा छैन त्यही भएर यो प्रश्न गरिरहेका छौ, थाहा भएको भए गर्ने थिएनौं । तिमीलाई अरुले पिट्छ वास्ता गर्दैनौं, मलाई आफ्नैले पिट्छन् त्यसैले सहन गह्रो हुन्छ र आवाज निकालेर चिच्याउँछु । आफन्तले दिएको दुःख अरुले दिने दुःख भन्दा सहन गाह्रो हुन्छ ।’ फलामलाई फलामले ठोक्दा र काट्दाको यो सानो कथाभित्र ठुलो सन्देश लुकेको छ ।
जीवनमा साँच्चिकै हित चिताउने साथी को हुन्, निकटवर्ती र आफन्त को हुन् भनेर चिन्नका लागि मानिसको जिन्दगीमा कुनै यस्तो घटना हुनुपर्छ जसले उसको ब्यवसायिक या ब्यक्तिगत जीवनमा अप्ठ्यारो पर्ने अवस्था होस् । को आफन्त, को पराइ राम्ररी छुट्टिन्छ । मित्रता रोज्न पाइने कुरा हो । हामी कोसँग मित्र बन्ने या कसलाई साथी बनाउने, नबनाउने निर्णय गर्न स्वतन्त्र छौँ । आफन्त रोज्न सकिँदैन, आफ्नो पनको आभास दिलाएपनि नदिलाए पनि ती नातेदार र आफन्तमा गनिन्छन् । परिवारका सदस्यहरू यो आफ्नो हो, यो होइन भनेर रोज्न पाइँदैन, महसूस गर्न मात्रै मिल्छ । ब्यक्तिगत जीवन मात्रै बाँचिरहेका मानिस भन्दा सार्वजनिक जीवनमा भएका मानिसहरूको सवालमा ‘आफ्नो मान्छे’ को हो, को होइन चिन्नमा बडो द्विविधा हुन्छ । कहिले ‘योभन्दा नजिक त मेरो को छ र’ जस्तो लाग्छ, कहिले ‘यो मान्छेसँग अलि दूरी राख्नुपर्छ’ जस्तो लाग्छ । एउटै मान्छेले परिस्थिति हेरेर ब्यवहार गर्ने हुँदा यस प्रकारको ‘फिल’ हुनु स्वभाविक हुन जान्छ । अहिले चुनावको माहौल छ, मानिसहरू पार्टी अदलबदल गरिरहेका छन् । टिकटका लागि दौडधुप छ । यसले त मलाई गरिहाल्छ नि, यो मान्छे त मलाई छोडेर के जाला ? भन्ने लागेका मानिसहरूले धोखा दिएको हुन सक्छन् । किनभने अहिलेका मान्छे मित्रता होइन अवसर हेर्छन् । के गर्दा आफूलाई फाइदा हुन्छ अहिलेको जमानामा भावनाले होइन अवसर र पैसाले काम गर्छ, जसका कारण आफ्ना ठानेका मानिसहरू क्षणभरमै पराइ बनिदिन सक्छन् ।
यस्तो बेलामा ‘आफ्नो मान्छे’ कसरी चिन्ने त ? सार्वजनिक जीवनमा भएका मानिसहरूका लागि यो निकै चुनौतीको विषय हो । तथापि जो मान्छेले कुनै विषम अवस्थामा पनि समान ब्यवहार गर्छ र साथ छोड्दैन उही आफ्नो मान्छे हो । आफ्नो मान्छे त्यही हो जोसँग कुरा गर्दा विपरित परिस्थितिमा पनि सकारात्मक उर्जा प्राप्त भइरहेको हुन्छ । कुनै पनि निर्णय गर्दा यो रिसाउने हो कि…, यसले के भन्ला कि… यही कारणले पछि दुःख देला कि… भन्ने कुरा माइण्डमा आयो भने त्यो तपाईंको नजिकको मानिस होइन । त्यसो त, यसले मलाई कुनै पनि अवस्थामा हानी गर्दैन भन्ने मानिस आफूवरिपरि पाउन निकै गाह्रो छ । कसलाई कहाँ, कतिबेला, के कुरामा चित्त बुझिरहेको हुँदैन या कसले आफूलाई बिना कारण प्रतिस्पर्धी ठानिरहेको हुन्छ थाहै हुँदैन ।
विगतमा कसैलाई परेको बेला थिच्ने तरिकाहरू फरक थिए । अहिले शब्दरूपी भाला, छुरी, लाठी, बन्चरो, खुकुरी लिएर सामाजिक संजालमार्फत प्रहार गरिन्छ । त्यसरी प्रहार गर्नेमा कतिपय मानिस हल्लाको भरमा आफ्नो पछाडि लागेका हुन्छन् भने हल्ला चलाउनेचाहिँ प्रायः आफूले नजिक ठानेका मानिसहरू हुन्छन् ।
‘शत्रु मित्र सबैका हुन्छन्’ भनेर प्रायः मानिसहरूले भनेको सुनिन्छ । हामीमध्ये कतिलाई ‘म कसैलाई दुःख पुऱ्याउने काम गर्दिनँ, अरुलाई नराम्रो सोच्दिनँ, मलाई त कसले नराम्रो गर्ला र ? मेरो त को शत्रु छ र ? सबै आफ्नै त हुन्’ जस्तो लाग्छ । तर यो कुरा सही होइन भन्ने कुराका धेरै घटनापरक उदाहरण पाइन्छन् । कतिपय मानिसहरू कहिले यसलाई केही पर्छ र प्रहार गरुँ भनेर बसिरहेका हुने जस्तो पनि देखिएको छ । विगतमा कसैलाई परेको बेला थिच्ने तरिकाहरू फरक थिए । अहिले शब्दरूपी भाला, छुरी, लाठी, बन्चरो, खुकुरी लिएर सामाजिक संजालमार्फत प्रहार गरिन्छ । त्यसरी प्रहार गर्नेमा कतिपय मानिस हल्लाको भरमा आफ्नो पछाडि लागेका हुन्छन् भने हल्ला चलाउनेचाहिँ प्रायः आफूले नजिक ठानेका मानिसहरू हुन्छन् । टाढाका, आफूले वास्तै नगरेकाले भन्दा आफूले नजिक ठानेका ब्यक्तिका फरक रूप यही जुनीमा देख्न पाउनुलाई अवसर ठानेर मानिस अघि बढ्न सक्नुपर्छ । यसले पनि मलाई यस्तो भन्ने ? या यस्तो गर्ने ? भनेर त्यसैको पछि लाग्न थालियो भने जीवनको यात्रा सहज हुँदैन ।
हामीलाई आफ्नो वरिपरि मित्र मात्रै हुन् जस्तो लाग्छ, शत्रु पनि हुन् जस्तो लाग्दैन । सामान्य अवस्थामा आफ्नो साथी सर्कलमा शत्रु छन् जस्तो पनि लाग्दैन । जीवनमा मित्र र शत्रु दुवैले महत्व राख्छन् भनेर धेरै विद्वान्हरूले भनेका छन् । यस्ता कुरा सुन्दा शत्रुले पनि कसरी महत्व राख्छन् ? जस्तो लाग्छ । महाभारतमा कृष्णले भन्नुभएको छ, काँडा पनि काम लाग्छ तारबार गर्नका लागि । घरमा बगैँचाको सुरक्षा या चोरीका कारण हानी नोक्सानी नहोस् भनेर मानिसले काँडाको पर्खाल लगाउने गर्छन् । शत्रु पनि त्यस्तै काँडा हुन् जसले थप सङ्कट आउनबाट मानिसलाई सचेत बनाउँछन् । शत्रु र मित्रलाई लिएर कृष्णको यो भनाइ पनि त्यत्तिकै मननीय लाग्छ- ‘जीवनमा सफलता पाउनका लागि मित्रहरूको आवश्यकता पर्छ । तर अधिक सफलता पाउनका लागि शत्रुको आवश्यकता पर्छ । जब कसैलाई सङ्कट आइपर्छ मित्र सहायता गर्न खडा हुन्छन्, शत्रु सङ्कट झन् बढाउन अगाडि बढ्छन् । हामीभित्र कति शक्ति छ, कतिसम्म सहन सकिन्छ भन्ने कुराको परीक्षा लिनका लागि त्यस्तो समय निकै महत्वपूर्ण हुन्छ । आफूभित्र रहेको शक्तिलाई बाहिर निकाल्न मद्दत गर्ने हुँदा दुःखको समय मानिसको जीवनमा निकै महत्वपूर्ण समय हो । त्यस्तो समयले मानिसको आत्मबल दह्रो बनाउँछ, आत्मविश्वासलाई थप मजबुत बनाउँछ । पाइतालामा काँडा बिझेपछि मात्रै मानिसले भुइँमा राम्ररी हेरेर हिँड्छ ।’
समयले मानिसलाई जीवनमा शत्रु र मित्र चिन्ने अवसर दिन्छ । जस-जसले प्रतिस्पर्धी ठाने पनि हामीले आफ्नो प्रतिस्पर्धी आफैलाई ठान्नुपर्छ । हिजो गरेको कामसँग आजको कामले प्रतिस्पर्धा गर्नुपर्ने हुँदा मानिस आफ्नो प्रतिस्पर्धी आफै हो । यो संसारमा आफ्नै वरिपरि यति धेरै अवसरहरू छन् कि कसैलाई प्रतिस्पर्धी मानेर मनभरी इर्ष्याभाव राख्नै पर्दैन । हरेक ब्यक्तिले आफ्नो स्थान आफै बनाउन र सुरक्षित गर्न सक्छ । यदि कुनै पनि कारणले आफूलाई असुरक्षित महसूस भएको बेला कसैले त्यो असुरक्षित भावना पन्छाउन मद्दत गर्दै ‘तिमीसँग म छु नि’ भन्ने अनुभूति दिलाउँछ भने त्यो नै तपाईंको आफ्नो मान्छे हो ।
प्रतिक्रिया