‘चितवन सहायता कोष बेल्जियम’को साधारणसभा सम्पन्न

‘चितवन सहायता कोष बेल्जियम’को साधारणसभा सम्पन्न


  • डिल्ली अम्माई, बेल्जियम

सीता सापकोटाको संयोजकत्वमा सन् २००५ मा स्थापित चितवन सहायता कोष बेल्जियमले यही २६ सेप्टेम्बर २०२२ मा आफ्नो १५औँ साधारणसभा सम्पन्न गरेको छ । बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदुतको प्रमुख आतिथ्यता र कोषका अध्यक्ष राजु घिमिरेको सभापतित्वमा क्याट बेल्जियमले युरोपको डाइमण्ड सिटि अन्त्वेर्पेनमा आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।

प्रमुख अतिथि राजदुतद्वारा पानसमा बत्ति बालेर शुभारम्भ गरिएको सभामा कोषका सचिव शंकर बजगाईंद्वारा राष्ट्रिय गान बजाएपश्चात उपाध्यक्ष तेजेन्द्र कँडेलले अतिथि तथा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

त्यस्तै, कोषका निवर्तमान अध्यक्ष भुवन सुवेदीले कोषको परिचयात्मक मन्तब्यमार्फत कोषको सहयोगबाट चितवनको शिक्षा, स्वास्थ्य र प्राकृतिक विपत्तिको क्षेत्रमा पुगेको योगदानबारे संक्षिप्त रुपमा प्रकाश पारेका थिए ।

त्यसपछि कोषका महासचिव शंकर बजगाईंले कोषको प्रगति प्रतिवेदन पढेर सुनाए भने कोषाध्यक्ष मोहन केसीले आर्थिक प्रतिवेदन बाचन गरे।

दुवै प्रतिवेदन हलले स्वीकृत गरेपछि चितवन सहायता कोषमा नेतृत्वदायी भूमिका निभाएका पूर्वअध्यक्षहरु लगायत विशेष योगदान गरेबापत गोर्खाका युवा ब्यवसायी मदन दवाडीलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने कोषका आजीवन सदस्यहरुलाई राजदूत राजभण्डारीद्वारा आजीवन सदस्यताको प्रमाणपत्र दिइएको थियो।

सभामा चितवन जिल्लाका अविभावक केशव प्रसाद सुबेदीले बोल्ने क्रममा चितवन क्याटद्वारा गरिएका परोपकारी सामाजिक कार्यहरुको खुलेर प्रसंशा गरेका थिए।

प्रमुख अतिथि राजदूत गेहेन्द्र राजभण्डारीले ुकहिले नेतृत्वको पछाडि भिड हुन सक्छ भने कहिले एक्लै हिँड्नुपर्ने पनि हुन सक्छ, तर नेतृत्वले कहिल्यै जनताको अगुवा बन्न छोड्नु हुँदैन भन्दै क्याटको नेतृत्वलाई हौसला प्रदान गरे । आफ्नो मन्तव्यको क्रममा उनले क्याट जस्तो संस्था सबै भैदिए कति राम्रो हुने थियो भन्दै रिजल्ट देखिने खालका काममा दूतावासले काम गरिरहेको बताए।

कार्यक्रमको अन्त्यमा चितवन क्याटको सामाजिक सेवाबाट अत्यन्तै प्रभावित भएर लुम्बिनी कपिलबस्तु अभियानकर्मी दामोदर आचार्यले २०० युरो कोषको लागि दान दिएको घोषणा गरे भने कार्यक्रमका सभापति राजु घिमिरेले चितवन क्याटलाई सहयोग गर्ने सबै नेपालीहरुलाई धन्यवादको साथै विजयादशमीको समेत शुभकामना दिँदै १५औँ साधारणसभाको अन्त्य गरेका थिए ।

स्मरण रहोस्, चितवन क्याटका अध्यक्ष राजु घिमिरेले आफ्नै कार्यकालमा ८० लाख नेरुको आसपास रहेको अक्षय कोषलाई एक करोड पुऱ्याउने बचनबद्धता समेत जाहेर गरेका छन् ।