कसैले ‘काङ्ग्रेसमा के योगदान छ ?’ भनी सोधेपछि…

कसैले ‘काङ्ग्रेसमा के योगदान छ ?’ भनी सोधेपछि…


मैले मेरो बुबा गोविन्दराज जोशीको पद र ओहोदाको गलत प्रयोग नगरिकन, कुनै पनि गरिब जनताको छोराछोरीका नाउँमा आउने छात्रवृत्ति आफ्नो पोल्टामा नपारिकन अमेरिका गएर दुई वटा विषयमा स्नातकोत्तर गर्नु र, तत्पश्चात फेरि आफ्नै माटोमा फर्कनु गल्ती नै हो ?
  • दीपकराज जोशी

म २०४० सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य हुँदै थुप्रै विद्यार्थीलाई नेवि सङ्घको सदस्य बनाउँदा पटक-पटक पक्राउ परेको ब्यक्ति हुँ । कलेजमा नेवि सङ्घलाई जिताउन दिलोज्यान नलगाएको पनि होइन । वि.सं. २०४६ को जनआन्दोलनमा भाग लिएर प्रजातन्त्र ल्याउनुमा मेरो पनि योगदान छ । ल भन्नुस् नेपाली काङ्ग्रेसको राजनीति गर्नलाई के-के योगदान हुनुपर्ने हो र के-के मसँग छैन ?

नेपाली काङ्ग्रेसको राजनीतिका क्रममा मेरा बुबा गोविन्दराज जोशी, जोसँग मलाई गृहकार्य गराउने फुर्सद कहिल्यै भएन । उहाँलाई मेरो भन्दा बढी जनाताको छोराछोरीको शैक्षिक भविष्यको चिन्ता थियो । मेरो बुबाले मलाई दशैँमा लुगा किनेर ल्याइदिनुभएको सम्झना मसँग छैन । अरु त अरु सँगै खाना खाएको पनि सम्झना छैन । किनकि उहाँ परिवार छोडेर तपाईंको स्वतन्त्रताको वकालत गर्दैमा व्यस्त हुनुहुन्थ्यो । उहाँ अहिले तपाईंले गरिराख्नुभएको राजनीतिको वातावरण बनाउने कार्य गरेबापत थुप्रै पटक जेल पर्नुभएको छ ।

शिक्षित बुबा जेलमा र साधारण लेखपढ गर्ने आमासँग हुर्केको मलाई बुबा जेलबाट फर्कनुहुन्छ कि हुँदैन भन्ने सोचाइले धेरै सताउँथ्यो, र पनि हामी र हाम्रो परिवारले कहिल्यै पनि व्यक्तिगत स्वार्थलाई मान्यता दिएनौँ । जहिले पनि बुबाले जनताको पक्षमा हिँडेको बाटोलाई समर्थन गऱ्यौँ, जुन समयमा बुबा जेलमा हुनुहुन्थ्यो हामीले बाबुको सहयोगबिना हुर्किएको समयको भरपाइ के हुन सक्छ ? तपाईंको के योगदान छ भन्नेहरुको के योगदान छ जो नेपाली काङ्ग्रेसको राजनीति गर्नलाई योग्य छन् ? जेल सार्ने क्रममा मेरो बुबालाई तत्कालीन पञ्चायती व्यवस्थाले मारिदिएको भए म टुहुरो हुन्थेँ । त्यस्तो संवेदनशील कुराको पनि बेवास्ता गर्दै सदैव जनताको पक्षमा हिँड्ने मेरा बुबाको समर्थनमा हिँड्नु के सानो त्याग हो ?

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको अभियोगमा बुबा गोर्खा जेलमा हुनुहुन्थ्यो । म त्यतिबेला बाह्र-तेह्र वर्षको थिएँ । दशैँको बेला टीका लगाउन गोरखा जेलमा जाँदा सानो बालकको मनमा के पऱ्यो होला ? मानसिक रूपमा म र मेरो परिवार कति विक्षिप्त अवस्थामा थियौँ होला त्यसको क्षतिपूर्ति के ? बाल्यकालमा जब मलाई फुटबल खेल्न रहर हुन्थ्यो तब खेलकुद परिषदबाट फुटबलको कोचले फुटबल सिकाउन जाँदा म आफू नेपाली काङ्ग्रेसको छोरो भएकै कारणले निकालिएको छु । कलिलो उमेरमा आफूलाई रहर लागेको विषय गोविन्दराज जोशीको छोरा भएकै कारणले गुमाउनु पर्दा मभित्र कुन आगो उम्लियो होला ? त्यसको हिसाबकिताब दिनुहुन्छ ? जबकि मेरो योगदानको लेखाजोखा गर्नमा हतारो छ मान्छेलाई यहाँ !

अब रह्यो जिल्लामा नै बसेर राजनीति गर्नुपर्ने कुरा । विद्यालय स्तरको पढाइ सकेपछि कलेज जानु, कलेज पास भएपछि लोकसेवा दिएर जागिर खानु गल्ती हो ? आफ्नो बलबुता र मेहनतले उच्च शिक्षा हासिल गर्न विदेश जानु पनि गल्ती हो ? मैले मेरो बुबा गोविन्दराज जोशीको पद र ओहोदाको गलत प्रयोग नगरिकन, कुनै पनि गरिब जनताको छोराछोरीका नाउँमा आउने छात्रवृत्ति आफ्नो पोल्टामा नपारिकन अमेरिका गएर दुई वटा विषयमा स्नातकोत्तर गर्नु र, तत्पश्चात फेरि आफ्नै माटोमा फर्कनु पनि गल्ती नै हो ? मैले माथिका मध्ये केही नगरी दमौलीमा नै बसेर ठुला गफ लगाएर भाषणको राजनीति गर्नुपर्ने ?

हुन त यहाँ मेरो मात्रै होइन मेरो बुबा गोविन्दराज जोशीको पनि ठुलो गल्ती भएको छ । जस्तो कि, उहाँ शिक्षामन्त्री हुँदा छात्रवृत्ति नबेच्नु, जलस्रोतमन्त्री हुँदा खोलानाला नबेच्नु, रक्सी टन्न पिएर डान्स बार धाउन नसक्नु, क्यासिनोमा गएर जुवा खेल्न नसक्नु, रातो राहदानी बेच्न नसक्नु, सरुवा/बढुवामा पैसा खान नसक्नु, गृहमन्त्री हुँदा नागरिकता बेच्न नसक्नु, एयरपोर्टबाट सुन ओसारपसार गर्न नसक्नु आदि जस्ता थुप्रै गल्ती भएको छ उहाँबाट पनि । र, मबाट पनि उही गल्ती भएको छ । जो बुबाबाट भएको थियो । त्यसपछिका विभिन्न पार्टीका मन्त्री, तिनका छोराछोरीले के-के गरे के गरेनन् भन्नेमा पनि ध्यान दिएको भए केही जानकारी आउँथ्यो कि ?

अब कुरा गरौँ कि जिल्लामा नै बसेर राजनीति गर्नेहरुको के योगदान छ त ? २०३६ सालमा बहुदलले जितेको जिल्ला र २०४६ सालपछिको चुनावमा ८० प्रतिशत भन्दा बढी भोटले चुनाव जितेको जिल्लामा अहिले नेपाली काङ्ग्रेसका ६ जना केन्द्रीय सदस्य हुँदै गर्दा त्यही जिल्लाले ६ वटा सिट नै गुमाउनु पऱ्यो । त्यति मात्र नभइ अस्ति मात्र भएको स्थानीय निकायको चुनावमा उपल्लो सदनमा काङ्ग्रेसले माओवादीलाई भोट हालेर जिताउनु पऱ्यो । अब भन्नुहोस् जिल्लामा बसेर राजनिति गर्नेले समाजको त कुरै छाडौँ काङ्ग्रेसलाइ के योगदान दिए ? गुणात्मक त पर जाओस् संख्यात्मक हिसाबले काङ्ग्रेसमा कति वृद्धि भयो ?

यति हुँदाहुँदै पनि तपाईं ममाथि निर्धक्क भएर औँला उठाइरहनुभएको छ जबकि आज तपाईंलाई निर्धक्क भएर औंला ठड्याउन योग्य बनाउने वातावरण सृजना गर्नेमध्ये म पनि एक हुँ । राजनीति जागीर होइन । आ-आफ्नो ठाउँबाट सबैले त्याग गरेका छन्, जुन कुरा मैले पनि गरेको छु । प्रत्येक जनाताको छोराछोरीको योगदान हुन्छ राजनीतिमा, भलै तिनले ठुला कुरा र चर्का भाषणबाजी गर्दैनन् ।

देश र राजनीतिप्रति आफ्नो जिम्मेवारी निर्वाह गरेबापत मेरो बुबा गोविन्दराज जोशीले के पाउनुभयो भन्नेतर्फ जान चाहन्नँ । तर म केबल गोविन्दराज जोशीको छोरा मात्र नभएर एउटा क्रान्तिकारी चेतनाको परिवर्तन चाहने लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्ने युवा हुँ र पनि मेरो योगदान र योग्यतामा प्रश्न किन ? तपाईं भनिदिनुस् महोदय ! यहाँ तपाईं र तपाईं जस्तै काङ्ग्रेसभित्र हुनेको के-के र कस्तो कस्तो योगदान छ ? तपाईं काङ्ग्रेसमा हुनको निम्ति कुन-कुन योग्यता प्राप्त गरेर आउनुभएको हो ?

अब रह्यो चुनावमा भोट हाल्ने कुरा, मन लाग्छ भोट हाल्नु, मन लाग्दैन भोट नहाल्नु । तर तपाईंले कसैलाई हराउँदै गर्दा आफै हार्नुभयो भने के गर्नुहुन्छ ? भोलि तपाईंका सन्तति तथा भावी पुस्ताले हाम्रो जीवन किन दुःखी छ र हामी किन हाऱ्यौँ भनेर प्रश्न गर्दा, मैले कसैलाई हराउँदा म आफै हारेँ भन्ने जवाफ दिन नपरोस् ।

सबैको भलो होस्, सबैको जय होस् !