फेरि पनि दशैँको शुभकामना !

फेरि पनि दशैँको शुभकामना !


राजनीतिभित्रको भ्रष्टिकरणले कुशासनलाई उत्कर्षमा पुऱ्याएको छ र, यसबाट अर्थतन्त्र सिकिस्त बन्न पुगेको छ । कहालीलाग्दो आर्थिक दूरावस्थाले दशैँ, तिहार, छठ, नेपाल सम्वत्, इदलगायतका चाडपर्वमाथि स्वतः नकारात्मक असर पार्ने नै भयो, अहिले त्यही भइरहेको छ ।

नेपालीको महान् पर्व बडादशैँ सुरु भएको छ । दशैँ भन्नेवित्तिकै शरद् ऋतु, वन-उपवनमा ढकमक्क फूल फुल्ने याम, खेतमा झुलेका धानका बाला, बारीमा फले/फुलेका तरकारी र फलफूलको झलक मन-मस्तिष्कमा छाउँछ । वर्षा थामिएर न जाडो न गर्मीको अनुभूति हुने मौसम ! हलो, कुटो, कोदालो र हिलो माटोबाट आमकृषकलाई फुर्सद् मिलेको अवस्था । मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षणको उमङ्ग एकतिर, अर्कोतर्फ नाता/सम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई पनि न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक राष्ट्रिय राजनीतिक अवसरको रूपमा पनि दशैँको महत्व बढेको पाइन्छ । तर विडम्बना ! यस्तो महत्वपूर्ण चाड शुरु भइसक्दा पनि नेपालीजन उल्लसित हुन नसकेको अवस्था छ ।

जगजाहेर नै छ कि नेपाललाई विकृत राजनीतिले गाँजेको छ । अनुत्पादक राजनीतिकै कारण उठ्नै नसक्ने गरी थिल्थिलो हुँदा पनि राजनीतिजीवी र तिनका झोले प्रवृत्तिका कार्यकर्ताको घैंटोमा घाम लाग्न सकेको छैन । शासनाधिकारीहरू मुलुक र जनताको भन्दा कसरी सत्ता-शक्तिमा टिकिरहने भन्नेमा सोचग्रस्त भइ आफ्नै चिन्तामा डुबिरहेका छन् । कुनै जवाफदेहिताविनाको कुशासन चलाइरहेका छन् । यसरी राजनीति प्रदुषित हुँदा यसले मुलुकभित्रका यावत क्षेत्रमाथि दुष्प्रभाव पार्ने नै भयो । मूलतः राजनीतिभित्रको भ्रष्टिकरणले कुशासनलाई उत्कर्षमा पुऱ्याएको छ र, यसबाट अर्थतन्त्र सिकिस्त बन्न पुगेको छ । कहालीलाग्दो आर्थिक दूरावस्थाले दशैँ, तिहार, छठ, नेपाल सम्वत्, इदलगायतका चाडपर्वमाथि स्वतः नकारात्मक असर पार्ने नै भयो, अहिले त्यही भइरहेको छ ।

राज्यको चौतर्फी असफलता र नेतृत्व तहमा आसीनहरूको भ्रष्ट अनुहारप्रति आम जनता विकर्षित भएकाले वर्तमान नेताहरू र उनीहरूले आफ्नो स्वार्थका लागि बोकेको यो राजनीतिक व्यवस्था धराशयी हुनैपर्छ भन्ने सन्देश दिन-प्रतिदिन फैलिरहेको छ । यसरी आफ्नै स्वार्थको पेटारो चुहिएर रित्तिन लाग्दा पनि राज्यदोहनमा निर्लिप्त नेतृत्वकर्ताहरू भागबण्डा गरेर मुलुक दोहन गर्न हानथाप गरिरहेकै छन् । यो उदेकपूर्ण छ ।

सरकारले आगामी मङ्सिर ४ गतेका लागि मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेको छ । दलहरू उम्मेदवार छनोटको कसरतमा रहेका छन्, जसले नेतृत्वतहको निन्द्रा खल्बल्याइरहेको अनुभूति गरिन थालिएको छ । करिव दुई महिनादेखि पाँचदलीय गठबन्धनले सिट बाँडफाँडका लागि गर्दै आएको कसरत र भोगिरहेको भुक्तमानी त अत्यन्त रोचक प्रहसन जस्तै लाग्न थालेको छ । सत्ता कायम राख्नकै लागि गरिएको गठबन्धन जोगाउनुपर्ने बाध्यता र चुनावी सिटमा मिलाउनैपर्ने भागबण्डाबीच तादाम्यता नमिल्दा गठबन्धनको शीर्ष भनिएका नेताहरूलाई सकस परेको छर्लङ्गै छ । खासगरी पार्टी समाप्त भए पनि होस् तर आफ्नो वर्चश्व जोगिनुपर्छ भन्ने खालको मानसिकताका आधारमा भूमिका निर्वाह गर्दै आएका काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाप्रतिको असन्तुष्टि पार्टीभित्र चुलिँदै छ ।

यसैबेला काङ्ग्रेसले तय गरेको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएको छ, जसले पार्टीभित्रको असन्तुष्टि मात्र बढाएको नभइ ‘समानुपातिक’ प्रणालीकै धज्जी उडाएको छ । प्रधानमन्त्री/गृहमन्त्रीहरूका पत्नी, निकट सहयोगीलगायतलाई समानुपातिकको शीर्षसूचीमा राखेर सभापतिले पार्टीलाई आफ्नो कब्जामा पार्ने या पारिसकेको सन्देश प्रवाहित गरेका छन् । यसको असर उनको दलमाथि कसरी पर्ला, धेरै प्रतीक्षा गर्नुपर्ने छैन । यसरी क्षमता भएर पनि पछि परेका तथा वर्षौंदेखि पिछडिएकाहरूको क्षमता अभिवृद्धिको अवधारणाका साथ व्यवस्था गरिएको समानुपातिक प्रणालीलाई नेपाली काङ्ग्रेस जस्तो ‘प्रजातन्त्रको ठेकेदार’ दलले धज्जी उडाउनु लज्जास्पद सन्दर्भ हो । र, भागबण्डा या सिट बाँडफाँडको ‘लफडा’ काङ्ग्रेस या गठबन्धनमा मात्र नभइ सबै दलमा चलिरहेको छ । यो वर्तमान राजनीतिक प्रणाली नै निकम्मा बन्न पुगेको एउटा प्रमाण हो । दलहरूको यो दूरावस्थाले देशलाई नै रुग्ण जो तुल्याउँदै छ, यस्तोमा चौतर्फी अँध्यारो महसूस गरिनु अस्वाभाविक होइन ।

यस्तै-यस्तै उच्चाटलाग्दो राजनीतिक परिवेशबीच दशैँले नेपालीको घर-आँगन प्रवेश गरेको छ । सबै ब्यथा, विकृति र विडम्बना बिर्संदै दशैँले शुभता सिर्जना गरोस् भन्ने कामना गर्नुको विकल्प छैन । यसर्थ, यस वर्षको दशैँ राष्ट्रिय एकता, सद्भाव/सहृदयता, भाइचाराको कारण बनोस्, देशमा सर्वत्र शान्ति छाओस्, समाजमा सकारात्मक सोच, आशा-उमङ्गको अभिवृद्धि गर्न दशैँ फेरि पनि कोशेढुङ्गा बनोस्, हाम्रा पाठकवर्ग, विज्ञापनदाता, सहयोगी, शुभचिन्तकका साथै समस्त नेपालीजनमा बडादशैँको हार्दिक मङ्गलमय शुभकामना !