बलात्कार ‘मुद्दा’ र बालिगहरूको सामाजिक दायित्व

बलात्कार ‘मुद्दा’ र बालिगहरूको सामाजिक दायित्व


आफ्ना बालबालिकालाई स्वेच्छाचारी हुने छुट दिनु र दुर्घटना घटिसकेपछि घटनालाई दबाएर वा दोष अरू माथि थुपारेर आफ्ना ‘नाबालिग’लाई चोख्याउन खोज्नु ढोङ हो । लामिछानेद्वारा पीडित भनिएकी नाबालिग साँच्चिकै पीडित प्रमाणित भए त्यसको दोषी लामिछानेलाई मात्र हैन, तिनको अभिभावकलाई पनि मान्नु पर्दछ ।
  • नवीन देवकोटा

गत भाद्र २५ गते मैले एक रेष्टुराँमा देखेको दृष्य र, हालै हाम्रो समाजमा घटेका पल शाह र सन्दिप लामिछाने संलग्न घटनाहरूले गर्दा आफ्ना केही कुरा पाठकसामू राख्ने जमर्को गरेको छु ।

पहिले विदेशतिरका केही अनुभव :

नेदरल्याण्डस्मा सहपाठीहरूको जमघटमा यौन सम्बन्धको विषयमा छलफल हुँदा धेरैले समलिङ्गी यौन सम्बन्धलाई अप्राकृतिक हो भन्ने मानीरहँदा यसका समर्थकले ‘त्यसो त गाडी चलाएर हुइँकिनु पनि अप्राकृतिक हो, समाजलाई त्योचाहिँ किन स्वीकार्य छ ?’ भनेर सोधेको प्रश्नको उत्तर हामी कसैले दिन सकेनौँ । अहिले पनि यसको ठोस उत्तर मसँग छैन । यो विषयमा विवाद नगरेर म विपरितलिङ्गी सम्बन्धमा यी पङ्क्तिहरू लेख्दैछु ।

राष्ट्र संघले यौनको मामलामा शुन्य सहनशीलता अपनाएको छ । यस संस्थाका एक उच्च अधिकारीले लाइबेरीया (अफ्रिका)मा एक स्थानीय महिलामार्फत नावालिगहरूलाई समावेश गरेर यौनजन्य भिडियो बनाउने गरेको रहस्यको पर्दाफास तिनै महिलाबाट भएपछि ती पदाधिकारीले सन् २००९ ताका आत्महत्या गरे । यसै अवधिसम्म यस संस्थाअन्तर्गत कार्यरत स्वयंसेवकहरूलाई ‘योग्यताको आधारमा’ सो संस्थाको साधारण सेवातर्फ लैजान सक्ने अधिकार स्थानीय अधिकारीहरूलाई थियो । यसरी ‘पदोन्नति’ हुने स्वयंसेवकहरूको तथ्यांक अध्ययन गर्दा महिला र पुरूषको अनुपात करीब ८० र २० प्रतिशत देखिएछ । अतः यस प्रावधानमा शक्तिको दुरूपयोग भइरहेको हुनसक्ने (सोझै ‘यौनको माध्यमबाट दुवै पक्षलाई फाइदा पुगिरहेको हुनसक्ने’ भनेर प्रतिवेदनमा लेख्ने कुरा भएन) देखिएकोले सो प्रावधान खारेज गरी साधारण सेवातर्फ नियुक्ति गर्ने अधिकार केन्द्रमा निहित गरियो ।

यी दुई घटना घटिसकेपछिको परिणाम भयो । घटना घट्नुअगावैको एउटा स्थिति :

नेदरल्याण्डस्मा विद्यार्थीहरूको आवास व्यवस्था प्रायः तीन थरीको हुन्छः व्यक्तिगत ट्वाइलेट र भान्सासहितको एकल कोठा; अन्तर्राष्ट्रिय विद्यार्थीको लागि सामूहिक ट्वाइलेट र भान्सासहितका एकल कोठाहरू र स्थानीय विद्यार्थीको लागि पनि त्यस्तै व्यवस्था । आक्कलझुक्कल अन्तर्राष्ट्रिय विद्यार्थी पनि स्थानीय विद्यार्थीहरूको भीडमा एक्लै बस्नुपर्ने हुन्छ । फरक-फरक सांस्कृतिक परिवेशबाट आएका हुँदा अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्नो कोठाबाट ट्वाइलेट जाँदाआउँदा शरीरलाई राम्रोसँग ढाकेर मात्र हिँड्ने गर्छन् भने एउटै संस्कृतिका भएका हुँदा स्थानीय विद्यार्थीहरू अलि लापर्वाह पनि हुन्छन्, जस्तै- नुहाएर ट्वाइलेटबाट निस्केर कोठासम्मको दश कदम तय गर्दा केटीहरूले एउटा रूमालमा मात्र बेरिनुलाई केटाहरूले सामान्य रूपमा लिन्छन् । स्थानीय केटीहरूको औसत उचाई बढी हुने हुँदा रूमालको चौडाइ अलि कम भएको म आफैंले अनुभव गरेको थिएँ । एकपटक स्थानीयहरूको समूहमा परेका एक अफ्रिकी विद्यार्थीले त्यहाँ बस्न नचाहेर आवास कम्पनी, डीन, रेक्टर सबैलाई गुहारे, तर बाहिर निस्कन सफल भएनन् (दिएको कोठा साट्न गाह्रो छ) । त्यसपछि ती विद्यार्थीले डीनलाई ‘तपाईंहरूको संस्कृति र म हुर्केको संस्कृति फरक छ; यहाँका केटीहरूको पहिरनले मलाई कुनै अप्रिय कार्य गर्न उक्सायो भने त्यसको जिम्मेवारी तपाईंले लिनुहुन्छ (?)’ भनेर इमेल लेखेपछि उनलाई तत्काल अन्तै कोठा दिइएको थियो (रे) । हाम्रो विश्वविद्यालयले ती अफ्रिकीको समस्यालाई स्वीका¥यो । त्यस्तै, महेन्द्र मोरङ कलेज, विराटनगरमा केटीहरूले जथाभावी लुगा लगाएको विरोधमा प्राध्यापकहरू उठेपछि त्यहाँ पनि ड्रेस लगाउन अनिवार्य गरेको कुरा हामी स्कूल पढ्दा सुनेका हौँ । तर संयुक्त राष्ट्र संघमा जागिर खान चाहने पुरूषले यो भन्न पाउँदैन । अभिमुखी कार्यक्रममै दिइएको जानकारी अनुसार यस संघमा पहिरनमा कुनै बन्देज हुँदैन; महिलाहरूको पहिरनले गर्दा कुनै पुरूषले असहज महसूस गर्छ भने त्यो त्यस पुरूषको समस्या मानिन्छ ।

यौनजन्य दुर्व्यवहारको मुद्दामा समाजले महिलाहरूलाई विषेशाधिकार दिएको देखिन्छ । जस्तै- राष्ट्रसंघमा सहकर्मीबीच मुद्दा चले, नेदरल्याण्डस्मा सँगै बस्ने जोडीबीच झगडा भए पहिले पुरुषले आफ्नो कार्यकोठा वा आवास छाडेर जानुपर्छ र पछि फैसला उसको पक्षमा भए महिलाले त्यो ठाउँ फिर्ता दिनुपर्छ । लामिछानेलाई मुद्दा चल्नुअगावै अभियुक्तको रूपमा कानून र समाजले सार्वजनिक गर्नु र आरोपीको गोपनियतालाई सुरक्षित राख्नु पनि यही सिद्धान्तअनुसार रहेको छ । उनका शुभचिन्तकहरूले नचाहे पनि यसलाई स्वीकार्नै पर्छ ।

विश्वभरि नै सम्बन्ध नबिग्रिएसम्म न पुरातन समाजमा ‘मर्दको दशवटा स्वास्नी’विरुद्ध मुद्दा चल्यो न आधुनिक समाजमा ‘सुगर–रिलेशन’ (मिठो तर गैरकानूनी सम्बन्ध) विरुद्ध मुद्दा चल्छ । विश्वविख्यात फ्रान्सेली कथाकार गाय दे मउपासाँको ‘द्याट पिग अफ ए मोरिन !’ (त्यो सुङ्गुरजस्तो मोरिन !) कथाले समाजको यो पाटोलाई चित्रण गर्दछ; कथा एक उन्डाइस वर्षे केटीको हो जसमा उसले आफूलाई मनपराएर छुन (मात्र) खोज्ने मोरिन नाम गरेको भद्दा पुरूषको विरुद्ध उजुरी गर्छिन्, त्यसै मुद्दाको तन्नेरी अनुसन्धान अधिकृतलाई आफ्नो कुमारित्व सुम्पिन्छिन् र पछि आफ्नो श्रीमान्समक्ष समेत ती अधिकृतको समस्या सुल्झाउने शैलीको बखान गर्छिन् ।

भदौ ५ गतेको लामिछाने र अघोषित केटीको मुद्दा अनुसंधानकै क्रममा रहेको अवस्थामा सामाजिक संजालमा यसको पक्ष-विपक्षमा प्रतिक्रिया जारी छ । समाचारहरूको अध्ययनबाट (उदाहरण : http:://sindhulisaugat.com/2022/09/08/119435) मैले देखेका केही मुद्दा (issues) हरू :

१. ‘त्यही कोठा (४०८)’ चाहिनु र होटलमा नाम दर्ता नहुनुले केटा र उसका सहयोगीहरूको नियतमा खोट देखिन्छ,
२. सँगै घुमुन्जेल केटाको नियतमाथि शंका नगरे पनि र होटलमा दुईवटा कोठा लिन अनुरोध गर्ने केटीले एयर कण्डिसन नभएको ४०८ मा नसुतेर केटोसँगै कोठा नं. ३०५ मा छिर्नुको औचित्य छ कि छैन ?
३. होटलमा कोठा लिँदा केटाले एउटै कोठा लिन बल गरेको भए होटलको कर्मचारीको वा कुनै आफन्तको वा १०० मा फोन गरेर प्रहरीको सहयोग लिन नखोज्नुको औचित्य छ कि छैन ?
४. अझै, आफू काठमाडौं फर्किन ढिलो हुने प्रष्ट भइसकेपछि होष्टलमा फोन गरी अबेरै फर्कने अनुमति नमाग्नुको औचित्य छ कि छैन ?

यस मुद्दामा सामाजिक संजालमा नाबालिगको पक्षमा मुख्य रूपमा दुई वटा प्रतिक्रिया देखिन्छः पहिलो- ‘महिलाले हुन्न भन्नुको अर्थ हुन्न नै हो’ र दोस्रो- बलात्कार हुँदाको अवस्थामा महिलाको दिमाग जमेर काम गर्न छाड्छ, जसरी गाडीको हेडलाइटले गर्दा दिमाग जम्न गई बाटोमा अडिएको मृग त्यो गाडिमा ठोकिएर मर्छ; त्यसैले, पीडितको दिमाग सम्हालिएर घटनाको उजुरी गर्न जति पनि समय लाग्न सक्छ । यो घटनामाथि अनुसन्धान चलिरहेकै छ, समयमा सबै खुल्छ नै । यो लेख यस्ता घटनाको पृष्ठभूमिमा सीमित छः

विपरितलिङ्गी सम्बन्धलाई प्राविधिक रूपमा दुई पक्षबाट हेरिन्छ- कानूनी मान्यता र जैविक विकास । सामान्यतः जैविक विकास अणुवंश, आहारको उपलब्धता, हावापानी आदिमा भर पर्दछ । प्रत्येक समाजले जैविक विकासलाई नै आधार मानेर कानूनी मान्यता निर्धारण गरेको हुन्छ भने व्यक्तिको यौन इच्छा तर्फको मनोविज्ञानलाई जैविक विकास र कानूनी मान्यता दुवैैले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर गरिरहेको हुन्छ । त्यसैले, जैविक विकासको आधारमा कुनै व्यक्तिलाई बालिग वा नाबालिग भनेर पहिचान गर्दागर्दै पनि त्यही व्यक्ति कानूनी रूपमा कुनै समाजमा बालिग र कुनै समाजमा नाबालिग हुनसक्छ (मैनाली, २०७९, जततउस्स्ररपबतजmबलमगउचभकक।अयmरमभतबष्रिछढद्दद्धछ) ।

आफ्नै समाजको कुरा गर्दा :

एकाबिहानै हिँड्ने (मर्निङ्ग वाक) गरेकाहरू जो-कोहीले एघार, बाह्र कक्षाका विपरितलिङ्गी केही विद्यार्थीहरू सभ्य (हात मात्र समाएर) वा असभ्य (‘) तरिकाले विद्यालयतर्फ गइरहेको देखेकै हुनुपर्छ । कानूनी रूपमा जसरी व्याख्या गरेपनि युवाहरूको यस्तो चर्तिकलालाई वयस्कहरूले अनदेखा गरेर हिँड्ने गरेकै छन् । घटना यतिमै सीमित छैन । गत भाद्र २५ गते गहनापोखरी मार्ग, टंगालस्थित एक विदेशी परिकार खुवाउने रेष्टुराँमा सपरिवार छिर्दा भर्खर पानी रोकिएको ताजा हावाको आनन्द लिने हिसाबले बाहिर खुल्ला छाप्रोमै बस्ने निधो गऱ्यौँ । छेवैमा सामान्य देखिने दुई केटा र एउटी केटी बसिरहेका हुँदा कुनै अप्ठेरो नहुने देखेर सँगैको खाली टेबल ओगट्यौँ । करीब पैंतालिस मिनटको अवधिमा एउटा केटा टेबलको एकातर्फ थियो भने अर्कोतर्फ केटा र केटी एकअर्काको शरीरका संवेदनशील भागहरूमा शुरुमा नजानिँदो किसिमले स्पर्श गर्न र, पछि थुतुनो जोडेर मडारिन थाले । पैसा खर्च गर्ने ग्राहकलाई होटलका कर्मचारीले रोक्ने, टोक्ने कुरै भएन ! असजिलो लागेर हतारहतार खाना खाएर निस्कियौँ ।

त्यस्तै, आजभन्दा तीस वर्ष अगाडि पुल्चोकस्थित इन्जिनीयरिङ क्याम्पसको मूलढोका पश्चिम ‘अंग्रेजी नाम गरेको’ एउटा रेष्टुराँमा हाम्रो अगाडि प्रमाणपत्र तहका केटाकेटीहरू कलेजकै ड्रेसमा खाजाका साथ ‘स्प्राइट’ र चुरोट खाइरहेका थिए । साथै, पालैपालो एक–एक जोडी त्यो रेष्टुराँको पछाडि निस्कँदै, भित्रिँदै गरिरहेका थिए (हल र शौचालयको बीचमा झ्यालढोका नभएको, भेन्टिलेशन मात्र भएको, बीस फिट जति लामो बाटो थियो) । अवैध रूपमा यस्ता कृडास्थल उपलब्ध गराउने व्यवसायीहरूको कमी नेपालमा छैन ।

प्रस्तुत दुई घटना प्रस्तुत गर्नुको मेरो उद्देश्य दुई कुरामा प्रकाश पार्नु रहेको छः (क) आजभन्दा तीस वर्षअघिका यस्ता पात्रहरू कानूनी रूपमा बालिग थिए (१६ वर्ष नाघेका), तर आजका यी पात्रहरू नाबालिग मानिन्छन् (१८ वर्ष नपुगेका) भलै जैविक विकासको आधारमा यिनिहरू एउटै अवस्थाका हुन्; र, (ख) यी दुई घटनाहरूको म र मजस्तै प्रत्यक्षदर्शी र यी पात्रहरूका अविभावको दायित्व के हो ? कानूनको पालना गर्नु नै नागरिकको कर्तव्य मानिंदा पहिलो कुरामा तर्क गरिरहनु आवस्यक छैन र, यो बाध्यता जैविक विकाशशास्त्रीहरूको हकमा पनि लागू हुन्छ; कानूनले १६ वर्ष पुगेपछि प्रजनन गर्ने अधिकार दिन्छ भने जैविक शास्त्रीहरूले ‘हैन, १८ वर्ष ननाघी यसो गर्नु हुन्न’ भन्नुले कुनै अर्थ राख्दैन (या त कानून नै संशोधन गराउन सक्नुपर्छ) । त्यस्तै, नाबालिगहरू ‘लिभिङ्ग टुगेदर’ मा जान चाहे रोक्ने दायित्व अभिभावकको पनि हो कि हैन (तुलाराम पाण्डे, २०७९, जततउस्स्ररभपबलतष्उगच।अयmरलभधकरद्दण्द्दद्दरण्ढरज्ञछर) ?

दोस्रो कुरामा ः

म साइकल, मोटरसाइकल, गाडी सबै चलाउँछु, परे पैदल पनि हिँड्छु । नियम मिचेर मलाई अप्ठ्यारोमा पार्ने धेरैसँग म जुझिरहेको हुन्छु । उल्टै, ‘के झगडा गरिराखेको’ भनेर साथिभाइ र श्रीमतीको गाली पनि खाइरहेको हुन्छु । तर, रेष्टुराँ वा मेरै घरअगाडिको बाटोमा (सटरहरू नभएको, साँघुरो बाटो हुनुको पीडा !) जोल्ठिएर बस्ने, हिँड्ने यौनाभिलाशीहरूसँग निहुँ खोज्नु मेरो (वा म जस्तै अरू कसैको) कुनै व्यक्तिगत चासोको विषय हैन तर, सामाजिक दायित्वलाई बिर्सिन पनि नमिल्ने हुनाले यति लेख्दैछु । र, मैले यति लेख्दै गर्दा मेरो मोवाइलमा सरकारकै तर्फबाट एउटा जानकारी पनि आयो ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ ।

चलनचल्तीमा बालबालिका, युवा, तन्नेरी, वयस्क जेजस्ता शब्द प्रयोग हुने भएपनि हाम्रो समाजले उर्दू भाषाबाट अँगालेगा कानूनी शब्दहरू हुन् ‘नाबालिग’ र ‘बालिग’ । उर्दूमा नाबालिग भन्नु र नेपालीमा बालक वा बालिका भन्नु एउटै हो । सरोकारवालाहरूले ‘बालबालिका’ र ‘नाबालिग’लाई हेर्ने दृष्टिकोणमा फरक हुनु विडम्बना होः एकातिर कानूनले अठार वर्ष नपुगेकालाई नाबालिग मान्नु, अर्कोतिर तिनै नाबालिगका अभिभावकहरूले तिनलाई बालिग सरह जीवन यापनको अनुमति दिनु र तिनको घरबाहिरको चर्तिकलाको अनुगमन नगर्नु गैरजिम्मेवारी हो; अझै, आफ्ना बालबालिकालाई स्वेच्छाचारी हुने छुट दिनु र दुर्घटना घटिसकेपछि घटनालाई दबाएर वा दोष अरू माथि थुपारेर आफ्ना ‘नाबालिग’लाई चोख्याउन खोज्नु ढोङ हो । लामिछानेद्वारा पीडित भनिएकी नाबालिग साँच्चिकै पीडित प्रमाणित भए त्यसको दोषी लामिछानेलाई मात्र हैन, तिनको अभिभावकलाई पनि मान्नु पर्दछ ।

कुनै पनि समाजमा अरूको शोषण गरेर वा कानूनका छिद्रहरूबाट फाइदा खोज्नेहरू बग्रेल्ती हुन्छन् । शहरहरूमा ‘होस्टल’को नाममा डेराको व्यापार गर्नेहरू एक ‘भद्र’ उदाहरण मात्र हुन्; लामिछानेद्वारा पीडित भनिएकी नाबालिग पनि यस्तै होस्टलकी ग्राहक हुन् । नाबालिगहरूलाई लक्षित गरेर खोलिएका होस्टलका मालिकले तिनको अभिभावकको भूमिका निर्वाह गर्नैपर्छ; होस्टल छिर्ने समयसीमा तोकेर मात्र जिम्मेवारीबाट पन्छिन मिल्दैन (कुनै कुनै होष्टलले ‘१८ वर्ष नपुगेकाहरूलाई राखिने छैन’ भनेर आफ्नो साइनबोर्डमै लेखेको पनि देखिन्छ) । यस्ता होस्टलहरू, यौनतृष्णा व्यक्त गर्दा आपत्ति नहुने रेष्टुराँहरू, लामिछानेलाई झैँ फोनको भरमा कोठा दिएर आगन्तुकको विवरण दर्ता गर्नु नपर्ने लज/होटलहरू आदिलाई अनुगमन गरी नियन्त्रण गर्ने जिम्मेवारी सरकारको हो; एकल नागरिकहरूले गर्न नसक्ने यस्तै कार्यहरू गर्नको लागि सामाजिक अभिभावकको रूपमा सरकारको गठन गरिन्छ । यदि यस्ता असामाजिक कार्यहरू समाजमा व्याप्त भइरहन्छन् भने त्यसको दोष पीडक वा नाबालिगको अभिभावकले मात्र हैन, सरकारले नै स्वीकार्नुपर्छ ।

‘निर्मला पन्त’ जस्तो निर्मम बलात्कार र हत्याजन्य जटिल मुद्दा टुंगो लगाउन नसक्दा नसक्दै पनि ‘शाह’ र ‘लामिछाने’ जस्ता मुद्दाहरूको टुङ्गो लगाउन सकेकोमा सफलताको डिङ हाँक्न पछि नपर्ने सरकारले आफूले जारी गरेको नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’लाई आफ्ना नीति निर्माताहरू र कार्यान्वयनकर्ताहरू माझ आत्मसात गराउन सके मात्रै समाजमा अरूको शोषण गरेर वा कानूनका छिद्रहरूबाट फाइदा उठाउन खोज्नेहरूलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।