अदालत र प्रहरी प्रशासनलाई प्रश्न, ‘शालिग्राम पुडासैनीले न्याय नपाउने ?’

अदालत र प्रहरी प्रशासनलाई प्रश्न, ‘शालिग्राम पुडासैनीले न्याय नपाउने ?’


कसैको छोरा मरेको छ यसलाई गम्भीरतापुर्वक लिन जरुरी छ । उनको बाबुआमाले मनको व्यथा खोल्ने ठाउँ पाएका छैनन् । गरिब भनेर थिचोमिचो गर्ने काम प्रहरी प्रशासन र न्यायालयबाट नहोस् ।
  • अनुसा थापा

मान्छे मर्नुअघि उसले जहिले पनि सत्य बोल्छ । मरेर जानु छ भने उसलाई न धनसम्पत्तिको लोभलालच हुन्छ न कसैको डर । अन्तिम घडीमा बोलेका कुरा र लेखेका पत्रलाई अदालतले आधार मान्दछ । त्यसलाई नै प्रमाण मानेर प्रहरी र अदालतले मिसिल तयार पार्दछ । मान्छे मारेको मुद्दामा संलग्नता मात्रै देखियो भने अर्को पनि कानूनी सजायको भागिदार बन्छ । प्रहरीले बयान लिँदा सहयोग गर्ने व्यक्तिको नाम लियो भने उसले पनि अरु सराबरी कैद सजाय पाउँछ ।

तीन वर्षअघि पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या घटनाले पुरै मुलुक नै हल्लाएको थियो । उनले मर्नुअघि एउटा भिडियो बनाएका थिए । जसमा उनले आफूलाई मर्न बाध्य बनाउने व्यक्तिको नाम स्पष्ट रुपमा खुलाएका थिए । त्यो भिडियो सक्कली भएपनि आरोपितले सफाइ पाए । भिडियोमा आरोपितको नाम स्पष्ट रुपमा खुलाउँदा पनि आरोपितले सफाइ पाउनुले धेरै प्रश्न खडा गर्छ । कि प्रहरीले कमजोर मिसिल तयार पारेको हुनुपर्छ कि पँहुचको आडमा आरोपित छुटे ।

डिल्लीबजारको जेलबाट निस्किदा माओवादीका नेता कृष्णबहादुर महराले भनेका थिए, ‘जेलमा कैदी बनेर बसेका ७० प्रतिशत निर्दोष छन् । उनीहरूलाई बिना कसूर फसाइएको छ, म अब यिनीहरूलाई छुट्याउने प्रयास गर्छु ।’ गल्ती नगरेको तर आरोपको आधारमा जेलमा जीवन बिताइरहेकोहरूले जेल भरिएको नेता महराले बताएका थिए । कोही धरौटी तिर्न नसकेर कोही पहुँच नभएर । तर, पुडासैनी त अशिक्षित थिएनन्, न अरुको दबाबमा आएर आफ्नो ज्यान फाल्ने व्यक्तिमा उनी पर्थे ।

राज्यको चौंथो अंग पुडासैनीले कानूनलाई सहज होस् भनेर मर्नुअघि भिडियो बनाए । उनी त्यति कच्चा थिए भने उनले सायदै भिडियो बनाउँथे होलान् । अपराधी कानूनबाट नउम्कियोस् र पीडितले न्याय पाओस् भन्ने उनको मनशाय देखिन्थ्यो । उनलाई नाम लिनु थियो भने अरुको पनि लिन्थे होला । तर, जसको पीडाले उनलाई जिउन गाह्रो भइरहेको छ उनले तिनीहरूको नाम मात्र खुलाएका थिए । एउटा पत्रकार अर्को पत्रकारको कारण मर्नुपर्यो । मर्ने बेलामा उनले चिच्याइचिच्याइ रवि लामिछानेको नाम लिए ।

नाम खुलाएर उनी त मरे तर आरोपितमाथि उचित अनुसन्धान र सजाय भएन । गरिब परिवारमा जन्मिएका उनले पैसा नभएकै कारण न्याय पाएनन् । उनको परिवार आज पनि यही पीडामा बाँचिरहेका छन् । न जनताले उनको पक्षमा बोलिदिए न सञ्चारकर्मीकै कलम चल्यो । आरोपित लामिछाने आज राजनीतिक पार्टी खोलेर हिँडेका छन् । देशले एउटा पत्रकार गुमायो तर अरु पत्रकारले समेत उनको लागि आवाज उठाएनन् । ऊ मर्यो, सकियो । उनको परिवारले छोरा गुमायो, बाबुआमाको बुढेसकालको आश निभ्यो ।

उनी मरेको यत्रो वर्ष बित्यो तर आजसम्म उनको परिवार कुन अवस्थामा छ ? कसरी बाँचिरहेका छन् ? कुनै पत्रकारले बाहिर ल्याएनन् । गरिब भएपछि त पत्रकारले पत्रकारलाई सहयोग नगर्दा रहेछन् भन्ने कुरा यहाँबाट स्पष्ट भएको छ । रवि लामिछानेले अहिले राजनीतिमा आएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोलेर लामिछाने नेता बन्न हिँडेका छन् । ठूल्ठूला कुरा गरेर राजनीतिमा छिरेका लामिछानेले विगतमा गरेका कामहरू एकचोटि पल्टाउन जरुरी देखिएको छ ।

उनको कार्यक्रममा सहभागी हुनुअघि पुडासैनीले बोलेको भिडियो एकपटक हेर्नैपर्छ । किनकि हिजो पुडासैनीको परिवारमा बज्रपात आयो, भोलि हाम्रो परिवारमा नआउला भन्न सकिन्न । पुडासैनीले मर्नुअघि लामिछानेमाथि एकदमै गम्भीर आरोप लगाएका हुन् । निष्पक्ष छानबिन नभएको र पैसाको आडमा आज उनी बाहिर हिँडेका छन् । पुडासैनी त मरेर गए तर उनको आत्माले लामिछानेलाई कति सरापेको होला ? उनको परिवार कति रोएको होला ? चितवन जिल्ला अदालतले लामिछानेलाई तारिखमा छाडेको थियो ।

यता, उच्च अदालत, पाटनले भने सफाइ दिएको हो । यसो हेर्दा त फैसला गर्ने न्यायाधीश नै प्रलोभनमा परेको जस्तो देखिन्छ । भनिन्छ नि, न्याय पनि पैसा र पँहुच हुनेको लागि मात्र हो । न्याय पनि किनबेच हुन्छ । जति नै ठूलो अपराध गरेपनि पैसा र पँहुच हुनेले उन्मुक्ति पाउँछन् । न्यायालयको आँखा अगाडि आरोपित जहिले पनि गरिब नै हुन्छ भनेर सबैले बुझ्नुपर्छ । झन् पुडासैनीको घटनाले यो कुरालाई प्रमाणित गरिदियो । पुडासैनीको परिवार गरिब थिए, पँहुच भएन ।

नेपालको न्यायालय सबै पैसामा बिकेका छन् भन्दा पनि त्यति फरक नपर्ला । पुडासैनीको पक्षमा कानून व्यवसायीहरू उभिएनन् । तर, पहुँच, प्रभाव र पैसा पनि भएका लामिछाने आफैं एक अत्यधिक चर्चामा रहेका पत्रकार । जति वरिष्ठ अधिवक्ता थिए, सबै लामिछानेको पक्षमा खडा भए । आत्महत्या गर्ने बाध्य बनाउनेलाई कारबाही गर्न होइन, उल्टो समर्थनमा उत्रिए जनता । पत्रकारहरूले पनि लामिछानेको गुनगान गाउन थाले ।

नेपाली आमजनताको चेतना र प्रवृत्ति कस्तो रहेछन भन्ने त थाहा भयो । आफूलाई नपर्दासम्म यहाँ कसैले कसैलाई सहयोग गर्दैन । गलत काम गर्नेले सजाय नपाउँदा कति दुख्छ भन्ने कुरा नबुझ्ने नेपालीसँग के अपेक्षा राख्ने ? त्यत्रो भिडियो हुँदाहुँदै पनि आरोपितले किन सजिलै सफाइ पाए ? प्रहरी प्रशासन र न्यायाधीशमाथि प्रश्न उठेको छ । गल्ती नै नगरेकालाई आफैं मुद्दा बनाएर जेल चलान गर्ने प्रहरी प्रशासनले पुडासैनीको आरोपीलाई किन कानूनको कठघरामा ल्याउन सकेन ?

पुडासैनीको साटो आफ्नो छोराछोरी राखेर हेरौँ । आफ्नो दाजुभाइलाई राखेर कल्पना गरौँ । उनको बाबुआमाको ठाउँमा आफूलाई राखौँ । अनि मात्र हामीलाई पीडा हुन्छ । पुडासैनीले न्याय पाउनुपर्छ भनेर नागरिक समाजले आवाज उठाएन । मानव अधिकारकर्मीहरू गुमसुम भइहाले । जनताहरू सडकमा आएर उनको न्याय मागेनन् । जसको कारण उनको बिचरा बाबुआमाले हार खानुपर्यो र न्याय मार्नुपर्यो । सक्कली भिडियोलाई मिलोमतोमा नक्कली बनाउने काम भएको छ भन्दा अत्युक्ति नहोला ।

प्रहरी प्रशासनले भिडियोलाई अदालतमा प्रमाणित गर्न सकेन । न्यायाधीशले भिडियोलाई साइडमा राखेर लामिछानेलाई सफाइ दियो । रवि लामिछानेको विरोधमा बोल्न सक्ने आँट कसैले राख्छ ? उनले गरेका गल्तीहरू बाहिर ल्याउने आँट कुनै पत्रकारसँग छ ? पत्रकारमा पनि धनी र गरिब भनेर छुट्टिँदो रहेछ । धनीको पक्षमा कोही नबोल्ने र गरिबलाई थिचोमिचो गर्ने । उनको त्यो भिडियो आज पनि कतिपयको दिमागमा झल्झली आउँछ । प्रमाण हुँदाहुँदै त आरोपीले सफाइ पाउँछ !

भनिन्छ नि, धनीलाई चैन, गरिबलाई ऐन । नेपाल त्यस्तो देश हो, जहाँ नियमकानून सबै गरिबका लागि मात्र बनेको छ । गरिबलाई शंकाको आधारमा जेल चलान गर्छ, धनीले जत्रो कसूर गरेपनि छुट पाउँछ । लामिछानेलाई भोट दिनुअघि हिजोको घटना स्मरण गरौँ । पुडासैनीले भनेअनुसार त लामिछाने एक अभियुक्त हुन् । उनको छविमाथि आत्महत्या दुरुत्साहनको आरोपसमेत लागिसकेको छ । पुडासैनीको रहस्यमय मृत्युमाथि एकचोटि पुनः छानबिन हुनुपर्छ । कसैको छोरा मरेको छ यसलाई गम्भीरतापुर्वक लिन जरुरी छ । उनको बाबुआमाले मनको व्यथा खोल्ने ठाउँ पाएका छैनन् । पुडासैनीले न्याय पाउनुपर्छ । गरिब भनेर थिचोमिचो गर्ने काम प्रहरी प्रशासन र न्यायालयबाट नहोस् ।

(लेखकको निजी धारणाप्रति हाम्रो कुनै आग्रह/पूर्वाग्रह नरहेको स्पष्ट पार्न चाहन्छौँ । सं.)