माओवादी नेताद्वारा आफ्नै साथीलाई सुकुम्बासी तुल्याउने प्रपञ्च, रेडियो पर्यावरणमाथि धम्की

माओवादी नेताद्वारा आफ्नै साथीलाई सुकुम्बासी तुल्याउने प्रपञ्च, रेडियो पर्यावरणमाथि धम्की


गृहमन्त्री र गृहसचिवको मान्छे भन्दै आएका अराजक युवाका एक समुहले रेडियो पर्यावरणमा पुगी उक्त रेडियोका सञ्चालक डा. अष्टमान किसी महर्जन एवम् उनका सहकर्मीहरुलाई धम्क्याएका छन् । प्रेम सुनुवारसहितका उद्दण्ड व्यक्तिहरुले रेडियो नै बन्द गराइदिन्छौँ भन्दै प्रहरीसमेतको आडमा बेला बेलामा धम्की दिँदै आएको भन्दै डा. महर्जनले ध्यानाकर्षण गराएका छन् ।

राजनीतिक ठगहरुलाई प्रहरी प्रशासन र अख्तियारले समेत कारवाही गर्न नसकेको उल्लेख गरी एक सार्वजनिक वक्तव्य जारी गर्दै महर्जनले भनेका छन्- ‘डा. बाबुराम भट्टराई र पम्फा भुसालसमेतको शेयर लागानीमा स्थापना गरी सञ्चालन गरिएको कृष्ण अफसेट प्रेस सञ्चालन गर्न अतिरिक्त धितोको रुपमा म र मेरो आमाको नाममा संयुक्त दर्ता भएको साविक बाँडेगाऊँ वडा नं. ९ को कि.नं. २० को क्षेत्रफल ५–८–३ जग्गा र सो जग्गामा बनेको एकतल्ले घर २०५१ सालमा नेपाल औद्योगिक विकास निगममा अतिरिक्त धितोको रुपमा लिखत गरेको थिएँ । उक्त प्रेस सञ्चालन गर्न बाबुराम भट्टराई र पम्फा भुसालले शेयरको रुपमा लगानी गरेको रकमबाट काठमाडौं १६ स्थित म्हेपीमा प्रेसको नाममा रहेको ७ आना जग्गामा २५२५ वर्ग स्क्वायर फिटको तीनतले घर बनेको थियो । साथै, प्रेसका अध्यक्ष नेता सीताराम तामाङको नाममा रहेको ६ आना जग्गामा बनेको साढे दुई तले घरसमेत धितोमा रहेको थियो । प्रेस सञ्चालकहरु सीताराम तामाङ, शिवराज पोखरेल, डा. जगदिशचन्द्र भण्डारी, अष्टबहादुर शाक्य, श्याम श्रेष्ठ समेतले समयमा निगमलाई रकम बुझाउन नसकेपछि प्रेसका अध्यक्ष सीताराम तामाङले निगमका कर्मचारीसँग मिलोमतमा करोडौँ करोड पर्ने घर र जग्गा १७, १८ लाख मूल्याङ्कन गरी नपुग ५१२५००/- मेरो जग्गाबाट असुल उपर गर्ने गरी मूल्य निर्धारण गरी मलाई जानकारी नै नगरी मेरो घर र जग्गा निजको नजिकको नातेदार राजेन्द्र कुमार तामाङको नाममा दाखिला गरी ज.ध.द.प्र.प्र. बनाइ मलाई गुण्डा लगाएर घरबाट निकाला गर्न अनेकौँ योजना गर्दे आएका छन् । निजले मलाई बहाल भराइ घरबाट निकाला गरी घरजग्गा खाली गरी चलन चलाइ पाऊँ भनि जिल्ला अदालत पाटनमा दिएको मुद्धा निज तामाङले सबुद प्रमाण पेश गर्न नसकेको कारण २०६९/०८/२० गते डिसमिस फैसला गरेको छ ।’

‘त्यस्तै गरी निज तामाङले अदालतको अवहेलना गरियो भनि पुनरावेदन अदालत पाटनमा दिएको निवेदन पनि २०६९÷०३÷६ गते खारेजी फैसला गरेको छ । उक्त जग्गाको विषयमा जिल्ला प्रशासन कार्यालयबाट २०६५/०७/२८ गते ललितपुरका सात राजनैतिक पार्टीका नेताहरुले यो विवाद नितान्त राजनैतिक विवाद भएको हुँदा राजनैतिक रुपमा छलफल गरी समस्या समाधान गर्न पर्ने देखिएकोले हक हस्तान्तरण गर्न आएमा छलफलको लागि जिल्ला प्रशासन कार्यालयमा पठाउनु भनि मालपोत कार्यालय ललितपुरलाई लेखेको पत्रलाई आधार बनाएर निज तामाङले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, ठैव गाविसको कार्यालय र म समेतलाई विपक्षी बनाइ सम्मानित सर्वोच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश जारी गरी पाऊँ भनि दिएको मुद्दा पनि सम्मानित सर्वोच्च अदालतमा विपक्षी तामाङले सवुद प्रमाण पेश गर्न नसकेको, साथै तारिखमा नै नबसेको कारण मिसिल तामेलीमा राख्ने गरी जिल्ला प्रशासन कार्यालयले गरेको आदेश सदर हुने गरी २०७०/०३/२५ गते सम्मानित सर्वोच्च अदालतबाट आदेश भएको छ ।’

‘त्यस्तैगरी निज तामाङ्गले जिल्ला प्रसारण कार्यालय, जिल्ला प्रहरी कार्यालय र म समेतलाई विपक्षी बनाई पुनरावेदन अदालत पाटनमा निषेधाज्ञायुक्त परमादेश जारी गरी पाउँ भनि दिएको रिट निवेदन पनि सबुद प्रमाण पेश गर्न नसकेको भनि २०७१/०८/१७ गते पुनरावेदन अदालत पाटनबाट रि जारी नभै खारेज फैसला गरेको छ । अझ निज तामाङ्गले दिएको अर्को मुद्धा सम्मानित सर्वोच्च अदालतमा पुर्पक्षको लागि कारवाही भैरहको अवस्थामा छ । निज तामाङ्गले भुमाफिया र गुण्डाहरु लागाएर मेरो परिवारलाई घरमा ताल्चा लगाइदिन्छु भनि धम्की दिने गर्दे आएका छन् । राजनैतिक गुण्डाहरुले पर्यावरण चक्र रेडियोमा कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सञ्चालकहरु समेतलाई मानसिक यातना दिने गर्दै आएका छन् ।’

‘हाल उक्त कित्ता जग्गामा तीनवटा पक्की घर र एउटा टहरा रहेका छन् । सर्वहारा वर्गको नेतृत्व गर्ने एकिकृत नेकपा माओवादीका नेताहरुले किन उक्त रकम नतिरेको हो र, आफुलाई सहयोग गर्ने साथीलाई सुकुम्बासी बनाउनेतर्फ लागेको हो ? यि नेताहरुले उक्त रकम तिर्न सक्दैनन् भने म तिर्छु तर मेरो घर जग्गा मलाई फिर्ता देऊ ।’

‘प्रमुख जिल्ला अधिकारीले फैसला सम्म पढ्न चाहेनन्, साथै गुण्डाहरुलाई उस्काउने समेत कार्य गरे । अदालतको फैसला कार्यान्वयन गर्ने पक्षमा तत्कालिन सिडीओ छैन । गुण्डाको पक्षमा लागिराखेका छन् । यि राजनैतिक ठग र गुण्डाहरुलाई कसले तह लगाउने हो ? सो प्रेसबाट मैले एक पैसा पनि चलाएको छैन । चलाउने ठग नेताहरुले उक्त रकम तिर्नु पर्दछ । मेरो जग्गा फिर्ता गर । ठैव गाविसबाट जिल्ला अदालत र सम्मानित सर्वोच्च अदालतको २०७१/०३/२५ गतेको आदेश कार्यान्वयन गर भनि मालपोत कार्यालय ललितपुरलाई २०७१/०७/११ गते पत्राचार गरेको छ । साथै हाल गोदावरी नगरपालिका वडा नं. १० बाट उक्त कित्ता जग्गा विवादित अवस्थामा भएको हुँदा चार किल्ला प्रमाणित गरिएको भएता पनि हक हस्तान्तरको लागि मालपोत कार्यालय ललितपुरमा आएमा गोदावरी नगरपालिकामा छलफलको लागि पठाइदिनु भनि रोक्का समेत राखेको अवस्थामा रहेको छ । तर पनि व्यापक गुण्डाहरु परिचालन गरि मेरो परिवारलाई मानसिक यातना दिने गर्दै आएका छन् ।’

‘हाल राजनैतिक संस्कार नभएका नेताहरुले भुमाफिया र गुण्डाहरु दैनिक ४–५ ग्रुप पठाइ म र मेरो परिवारलाई मानसिक यातना दिने गर्दै आएका छन् ।’

डा. अष्टमान किसि महर्जन, अध्यक्ष
रेडियो पर्यावरण युवा जागरण पर्यावरणीय मञ्च
वातावरणीय पुस्तकालय ललितपुर, गोदावरी क्षेत्र, बाँडेगाउँ