सुदिनले सिड्नीबाट शुरू गरे ‘स्कोर बोर्ड’

सुदिनले सिड्नीबाट शुरू गरे ‘स्कोर बोर्ड’


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपालको खेलकुद विधा तथा टेलिभिजन खेलपत्रकारिताप्रति थोरै मात्र चासो राख्नेहरूका लागि पनि सुदिन पोखरेल नयाँ नाम होइन । उनले टेलिभिजनमा सञ्चालन गरेको खेल पत्रकारिताको रौनकबारे आज पनि चर्चा चल्ने गर्छ । जतिबेला नेपालमा खेलकुदको पनि समाचार बन्छ र ? भनी प्रश्नहरू तेर्सिरहने अवस्थामा सुदिनले खेल समाचार पढेर दर्शकहरूको ध्यान खिच्न जून आँट र साहस देखाएका थिए, त्यसको आज पनि मुग्धकण्ठले प्रशंसा गर्ने गरिएको छ ।

टेलिभिजन खेलकुद पत्रकारिताको यात्रामा उनले कान्तिपुर टेलिभिजनमा सञ्चालन गरेको ‘स्कोर बोर्ड ‘ नामक कार्यक्रम सुदिनले ४८५ भाग सञ्चालन गरे । ७ वर्षको टेलिभिजन पत्रकारितालाई बिट मार्दै परदेश लागेका सुदिन यतिबेला परिवारका साथ अष्ट्रेलियाको सिड्नीमा छन् ।

भनिन्छ नि, बर्मा गए पनि कर्मसँगै, हो यस्तै भएको छ उनको जीवनमा पनि । करिब ११ वर्षदेखि सिड्नीमा रहेका सुदिनको मन र सोचमा आफ्नो त्यो टेलिभिजन कर्मको प्यासलाई चटक्क माया मार्न सक्ने अवस्था थिएन । प्रवासमा रहेता पनि नेपाली खेलकुद पत्रकारितालाई निरन्तरता दिने उनको सोच, उद्देश्य र योजनाले अब भने सिड्नीबाटै मुर्तरूप पाएको छ । सुदिनको यो उद्देश्यमा साथ दिएका छन् एस पिपुल ऐजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले ।

सुदिनले नेपालदेखि विदेशलम्मका खेलकुदलाई समेटेर कान्तिपुर टेलिभिजनमा ७ वर्ष यो कार्यक्रम सञ्चालन गरे । खेलकुद पत्रकारिता विधाका सेलिब्रिटी नै थिए उनि । अष्ट्रेलिया प्रवेश गरेपछि यदाकदा खेलकुदका बारेमा सामाजिक सन्जालमा आफ्ना भनाइ राख्दै यो विधाको मोहलाई मर्न नदिएका उनि अब भने सिड्नीबाटै महिनाको दुई पटक स्कोर बोर्डको सञ्चालन गर्न लागिपरेका छन् ।

‘जहाँ जसरी रहे पनि आफ्नो पहिचान बनेको विधालाई माया मार्न नसकिँदो रहेछ । केही समय पारिवारिक माहौलतिर रूमल्लियो, अब भने प्रवासबाटै स्कोर बोर्डलाई निरन्तरता दिने योजनामा छु’- सिड्नीमा भेटिएका सुदिनले बताए ।

सुदिनले कार्यक्रममा पछिल्लो समय अष्ट्रेलियामा बढ्दै गरेको खेलकूद गतिविधिलाई समेट्ने छन् । त्यसबाहेक नेपाल र विदेशका खेल गतिविधि पनि उनका प्रस्तुतिहरू हुने छन् । खेलकुद कार्यक्रम होस्टका रूपमा चुस्तदुरुस्त छबि बनाएका पोखरेलको यस्तो उचाइ समातेको कार्यक्रमको हिस्सा हुन पाएकोमा एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले खुशी ब्यक्त गरे । ‘युवा पुस्तामा क्रेज भएका र खेलकुद बुझेका पत्रकार हुन् सुदिन । यस्ता अनुभवी कमै छन् । यस्ता दिग्गजसँग जोडिएर सहकार्य गर्न पाउनुलाई हामीले अवसरको रूपमा लिएका छौँ’, उनले भने ।

सुदिनको यो कार्यक्रम अहिले सिड्नीबाट हरेक महिना दुई वटा सुदिन पोखरेल नामक यूटुब च्यानल र सुदिनकै अफिसियल फेसबुक पेजबाट एकसाथ आउने छ । आगामी दिनमा यसलाई झनै बिस्तार गरिने योजनामा छन् उनी । यसको लागि आफूहरुले अष्ट्रेलिया र नेपालमा टिम बनाएको उल्लेख गर्दै यो कार्यक्रम खेल र खेलाडीको आवाज बन्ने दाबी उनले गरे । कार्यक्रमलाई स्वतन्त्र रूपमा अगाडि बढाइने र कार्यक्रममा समस्या मात्र नभइ समस्याको समाधानको बाटो पनि देखाइने उनले जानकारी दिए ।