म विद्वान् कि डुकुलन्ठु ?

म विद्वान् कि डुकुलन्ठु ?


म र मेरा सन्तानहरूले कपाल काट्ने, कपडा सिलाउने, साइकल, बाइक आदि बनाउने पेशा गर्न हुँदैन र, देशमा लेवर काम त गर्नैहुँदैन । मधेशका नेपालीहरूमा पनि देखासिकीबाट यो रोग सल्किसकेको छ । भारतीय वा पाकिस्तानी तथा बंगलादेशीहरूलाई आफ्नो खाली जग्गा तरकारी फलफूल लगाएर आम्दानी गर्न ठेक्कामा दिनुपर्छ । अधिकांश नेपालीको यो प्रवृत्तिले गर्दा आज मनाङसम्म पनि मिठाइ पसल, फर्निचर पसल आदिमा समेत विदेशीहरूको राज हुँदैछ ।
  • दामोदर पौडेल

रवि लामिछानेले चितवनमा घर किनेछन् । बेइमानी गरेर नै कमाएका होलान् भनी एउटाले लेख्यो । अर्कोले डेरा हो भन्यो । मलाई लाग्यो कुनै सरकारी पदमा रहेको छैन, काम गरेको छ । विदेशमा बसेर पनि कमाएको हो क्यारे । उसले कमाइ गर्न हुने कि नहुने ? उसले कमाएको जति सबै रक्सीजाँड खाएर वा मोजमस्ती गरेर सक्नैपर्ने हो ? सञ्चारकर्मीले कमाउनै नहुने र नसक्ने हो कि ? ठुला सञ्चारगृहका मालिकहरू अर्बपति पनि छन् । तर संचारकर्मी भएकोले रवि लामिछानेसँग सम्पत्ति हुन नहुने हो ? कि नेपाली जाति भएकोले उसको काम गफ लगाउने र अरुलाई यो-त्यो भनेर ठगेर खानुपर्ने मात्र हो । उद्योग ब्यवसाय गरेर कमाउनै नहुने हो ? संचारकर्मी भएकोले उसले कमाउन वा उसलाई राजनीतिमा कसैले सहयोग गर्न हुने हो कि होइन होला ?

करिव २० वर्षपहिला एक उद्योगमा म मुद्धाको सिलसिलामा पुगेको थिएँ । त्यहाँ एक जना ठुला विद्वान् संसार बदल्ने कुरा गर्दै थिए । उनलाई कम्युनिष्ट पार्टीको घोषणापत्र, पुँजी भन्ने पुस्तक, गान्धीका संकलित विचारहरू, गीता, कुरान, बाइबल, कसरी धनी बन्ने आदि किताव पढेकोले मैले सबैजसो सवालको जवाफ पाउन सक्ने जसरी उनले करिव २ घण्टा प्रवचन दिए । मलाइ हतार भयो, उनको कुरा सुन्न मन लागेर पनि म साहुसँग विदा हुन चाहेँ । तर साहुजीले ती विद्वान्सँग विदा मागेर मसँग कुरा गर्न चाहे । विद्वान्ले ३२ वटा दन्त देखाएर १ हजार रुपैयाँ मागे । साहुले ५ सय दिन भने । उनी गए । साहुले मसँग भने- ‘यो धेरै कुरा गर्छ, मेरो दिमाग चाट्छ, बाध्य भइ सुनेजस्तो गरेको हुँ, तपाईं आउनुभयो, सजिलो भयो ।’ उनले अझै थपे- बरु यसले मेरो उद्योगमा सुपरभाइजर भए त केही पैसा कमाउने थियो, हुन त यहाँ काम गरेमा मजदुरहरूलाई पनि बिगार्ने र चाहिने भन्दा बढी बाठो बनाएर गफ लगाउने र काम नगरी खाने तालिम दिने सम्भावना पनि छ !

विश्वका जति नै किताव पढ, जति नै गफ दिन जान, मानिसलाई मुर्ख बनाएर लुट्न सिक, विभिन्न अन्टसन्ट गरेर मानिसलाई मार्न सिक वा अरुलाई पनि त्यसको लागि तयार गर, तर तिमीहरूले त्यसको लक्ष्य त्यही गलत कार्य गर्ने मात्र हो कि कुनै महान् कार्यको लागि भनेर विनायोजना आफै ब्रेन भएर दुनियाँलाई पनि दुःख दिँदै पनि छौँ । हामी नेपालीहरूले हरेक समय राम्रोको लागि भनेर आन्दोलन गरेका छौँ । मानिसलाई मर्न र मार्नसमेत तयार गरेका छौँ । संवैधानिक राजसंस्था भएमा नेपाललाई बेलायत, जापान आदि देशजस्तो बनाउँछौँ हामीले नै भन्यौँ । हामीले नै लोकतन्त्र भएमा नेपाल स्विटजरलैण्ड जस्तो बनाउने छौँ, गणतन्त्र आएमा सिंगापुर, अमेरिका आदि जस्तो बनाउनेछौँ पनि भनेका हौँ । तर हामीले ती ब्यवस्थालाई सदुपयोग गर्न जान्नेहरूको परिश्रमलाई ध्यान दिएनौँ, बरु ती ब्यवस्था आएमा संविधानले नैै खान, बस्न दिन्छ वा ती देशहरूले सहयोग गरेर बसी–बसी खान पाइन्छ भन्ने सोचेका थियौँ कि ?

भाषण गर्ने, काम नगर्ने, बच्चा नबनाउने र बनाए पनि एउटा र झुक्किएर दुई वटा भएमा पसिना आउने र बच्चालाई ‘मोबाइल मेन’ बनाउने हामीहरूको नियति नै बनेकोे छ । बच्चालाई मेरो कमाइले सबै पुग्छ, सम्पत्ति छ, यो डाक्टर, इन्जिनियर आदि बन्नुपर्छ, नसके अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया वा युरोपका अन्य देशमा जानुपर्छ । पढेलेखेका धेरै नेपालीको यस्तै-यस्तै धारणा छ । पैत्रिक सम्पत्तिले पुगेको छ । भाषण, गफ आदिबाट समय काट्न सकिएको छ । कहिले नागरिकता विवाद, कहिले महिलालाई विदेशी भए पनि विवाहपछि तुरुन्त नागरिकता दिनुपर्छ भनेर समय बिताएको छ । राम्रा अन्तरर्वार्ता दिएको छ । लेखेको लेख्यै छ, किताब निकालेको निकाल्यै छ । कसैले पढुन् नपढुन्, अगाडि त राम्रो भन्नैपर्छ । त्यो किताव, भाषणको कति अर्थ छ ? तर मलाई यो सत्य थाहा छ कि पढेलेखेका नेपालीले बच्चा कम पाउने हो वा नपाउने हो, काम नगर्ने हो । पैसा कमाउन नपर्ने भएपछि दिनभर मोवाइल हेर्ने कार्यबाहेक अरु भनेको त राजनीति, संस्कृतिको रक्षा, नागरिकताको काम हैन कुरा आदि गरेर टाइम पास गर्ने त होला नि !

तपाईं-हाम्रो टाउकोमा ऋण लगाएर लिएको पैसाले गरेको केही विकास भएकोमा कुनै पनि दलका नेताले ‘यो हामीले गरेको’ भन्नु जनतालाई अझै ठग्नु हो । बरु त्यही सहयोगमा उनीहरूले भ्रष्टाचार गरेका छन् । हामीहरूको टाउकोमा चढेको ऋणमा समेत उनीहरूले भ्रष्टाचार गरेर कमाएका छन् । चुनावमा यो पनि सोचौँ त, ती कसरी हाम्रा हितकारी भए ?

मलाई आश्चर्य लाग्छ । नेपालीहरूलाई सन्तान विदेश पठाउनुु छ । सके उतै सेटल गराउनु छ । आफूजस्तै गफास्टकहरू नै त सरकार र प्रतिपक्षमा पनि छन् । विदेशीले ऋण सहयोग गरेका छन् । केही काम गरेर त्यसैबाट भ्रष्टाचार गरेर बचाउनु पनि छ । म र मेरा सन्तानहरूले कपाल काट्ने, कपडा सिलाउने, साइकल, बाइक आदि बनाउने पेशा गर्न हुँदैन र, देशमा लेवर काम त गर्नैहुँदैन । मधेशका नेपालीहरूमा पनि देखासिकीबाट यो रोग सल्किसकेको छ । भारतीय वा पाकिस्तानी तथा बंगलादेशीहरूलाई आफ्नो खाली जग्गा तरकारी फलफूल लगाएर आम्दानी गर्न ठेक्कामा दिनुपर्छ । अधिकांश नेपालीको यो प्रवृत्तिले गर्दा आज मनाङसम्म पनि मिठाइ पसल, फर्निचर पसल आदिमा समेत विदेशीहरूको राज हुँदैछ । उनीहरूले कमाइरहेका छन् । मेरो मुख मिठो बनाइरहेका छन् । उनीहरू नभइ हाम्रो दिनचर्या नै नचल्ने भएको छ । उनीहरूलाई नेपालको नागरिकता दिएर के फरक पर्ला ! बरु नागरिकता दिएमा उनीहरूले नेपालमा नै घर बनाएर बस्ने छन्, जग्गा आवाद गर्ने छन् । श्रम गरेर हामीलाई खुवाएर नेपालको नागरिक भएमा नेपालमा नै पैसा रहने थियो !

बस्ती मात्र हैन सरकार नै विदेशीको सहारामा चलाउन थालिएको छ । भारतलाई कम्फर्टेवल, चीनलाई खुसी बनाउने, अमेरिकाले सहयोग गर्ने किसिमको सरकार चाहियो भन्ने सबैले सुनेकै छौँ । चिया पसलदेखि सरकारसम्म पनि विदेशीले चलाउने भएपछि नागरिकतामा के राखेको छ ? मेरो दिदी, बहिनी, छोरीहरू पनि उनीहरूको आम्दानीको कारणले उनीहरूसँग नै विवाह गर्न पनि रुचाउन थालेका त छैनन् ? उनीहरू हामीहरूकै भएका छन् र हामीलाई बसेर मिठो खान र गफ गरेर दिन बिताउन सहयोग गर्नेहरूलाई नागरिकता किन नदिने ? सायद दिए हुन्छ भन्ने त तपाईंहरूलाई लागेको होला । तर यो गफ गर्ने माध्यम भएकोले मात्र विरोध गरेको हो कि ?

गफ गर्ने होइन, बरु श्रम गर्ने र मिलेर काम गर्ने बानी बसालेमा हामी आत्मनिर्भर हुने थियौँ । भित्र र बाहिर विदेशीको भर पर्नुपर्ने थिएन । अब त माओवादीले बिहान पकाएको खाना खाइदिने, बेलुका घरमा आएर लुटपाट गर्ने, बच्चालाई लालसेनामा भर्ना गर भन्ने, नगए वा पैसा चन्दा नदिए, खान, बस्न, सुत्न नदिए मारिदिने र ज्यान जोगाउन शहर वा विदेश नै जानुपर्ने अवस्था त छैन नि ! हामीलाई विदेशमा लेवरमा जाने बानी नै भइसकेको हो ? हामीहरूको लागि माओवादी कम भएपछि सफा, सुन्दर, खेतीयोग्य गाउँ सुरक्षित भएन र ? तर यो हामीहरूको नियति नै होइन कि !

हामीहरूले गफ गर्नको लागि विदेशमा काम नपाइने हुँदा यहाँ पनि गफ गर्न र जनतालाई भाषणमा मात्र लठ्ठ पार्न छोड्ने कि ! अहिले त चुनावको पनि गर्मी बढेको छ । देशको राजश्वले कर्मचारीको तलब खुवाउन समेत पुग्दैन । गरिव जनताले दिएको पैसाबाट तलब खानेहरूले जनतालाई नै भ्रष्टाचार गरेर दुःख दिएका छन् । त्यही योग्यता भएका जागिर नपाउनेहरूले दुःख गरेर पनि पाँच हजार रुपैयाँ कमाउन सक्दैनन् तर जागिरे भएपछि ५० हजार रुपैयाँले पनि पुग्दैन र भ्रष्टाचार नगरी नहुने छ । यसमा अरु कमेन्ट नगरौँ होला ।

तर हाम्रा नेता र दलहरूले वृद्धभत्ता, समाजिक सुरक्षा भत्ता, धरहरा, पानीपोखरी, सडक, सञ्चार आदि बनाएको भनेर तपाईंलाई गफ लगाइरहेका छन्, भूकम्पमा पीडितलाई राम्रोसँग सहयोग गरेका छौँ भनेका छन् नि । त्यो केही होइन, उनीहरूको फट्याइँ मात्र हो । कर्मचारीको तलबसमेत देशको आम्दानीबाट पुग्न नसक्ने अवस्थामा विकासको काम र जनहितको काम गरेँ भन्नु जनतालाई महामुर्ख बनाउनु हो र जनता महामुर्ख बन्नु हो । कि त विदेशीले दया गरेर यो काम गर भनेर भिख दिएको पैसाले वा तपाईं-हाम्रो टाउकोमा ऋण लगाएर लिएको पैसाले गरेको केही विकास भएकोमा कुनै पनि दलका नेताले ‘यो हामीले गरेको’ भन्नु जनतालाई अझै ठग्नु हो । बरु त्यही सहयोगमा उनीहरूले भ्रष्टाचार गरेका छन् । हामीहरूको टाउकोमा चढेको ऋणमा समेत उनीहरूले भ्रष्टाचार गरेर कमाएका छन् । चुनावमा यो पनि सोचौँ त, ती कसरी हाम्रा हितकारी भए ?