कांग्रेस सभापतिलाई राजीनामा-पत्र !

कांग्रेस सभापतिलाई राजीनामा-पत्र !


आज कांग्रेसका कार्यकर्ता कांग्रेस पार्टीको टिकट माग्न प्रचण्डको घरदैलो चाहार्नुपर्ने दिन आएको छ । टिकट बाँड्न मात्र होइन एउटा सामान्य राजनीतिक नियुक्ति लिन होस वा पदबाट नियमित बढुवा हुन तिनै प्रचण्डको दैलोमा जानुपर्ने दिन कुन आँखाले हेर्नुपऱ्यो ?
  • राजेन्द्रप्रसाद पाठक

प्रिय शेरबहादुर दाइ !
आज म यो आँसुले भिजेको रगतले कोरिएको राजीनामा-पत्र लेखेर तपाईंसमक्ष बुझाउन विवश छु । हुन त आजभन्दा ६ महिनाअगावै मैले सञ्चारमाध्यमद्वारा राजीनामा घोषणा गरिसकेको छु, तर मजस्तै करोडौँ मतदाता र लाखौँ कार्यकर्ताले राजीनामा-पत्र लेख्न र बोल्न सकेका छैनन् होला । मन-मनले यसै पत्रलाई आत्मसात गर्नेछन् भन्ने मेरो विश्वास छ ।

हाम्रो तेश्रो पुस्तासम्म बीपी बाबू, सुवर्ण बाबु, गणेशमानजी, किसुनजीलगायतको सम्बन्धका कारण मेरा हजुरबुबाले खाइपाइ आएको राणाकालीन न्यायलयसम्बन्धी उच्च पदबाट यसैगरी स्वेच्छाले राजीनामा गर्नुभएको थियो रे ! उहाँहरूकै प्रेरणाले मेरा पिताजीले पनि वकिल जस्तो गरिमामय ब्यवसायलाई निरन्तरता नदिएर नेताहरूकै साथी/सहयोगी बन्नुभयो । उतिबेलाको आलिशान बंगला, करोडौँको सम्पत्ति, ऐशआरामको जिन्दगी र हालीमुहालीको किन्चित परवाह गर्नुभएन । बरु दुःखको प्रवाशी जीवन र शानसौकतसमेत गुमाउन तम्तयार हुनुभयो ।

उतिबेला दलभन्दा माथि विचार थियो र त्यसभन्दा पनि माथि देश र जनता थिए र त त्यसो हुन सम्भव भएको थियो । तर आज शानसौकत, सम्पत्ति र पदभन्दा माथि तपाईंलाई अरु केही हुनै सकेन । अझै त्योभन्दा माथि तपाईंकी ‘परमप्रिया’ उनै जहाँनिया राणापुत्री आरजु राणा मात्रै हुन् भनियो भने रिसानी माफ गर्नुहोला ! आज उनैले आफ्ना पुर्वजको शासनसत्तामाथि धावा बोल्ने एकमात्र साहसी संगठन र त्यसका निष्ठावान् कार्यकर्तामाथि बदलाको राजनीति गर्दै हुनुहुन्छ । उनकै कोपभाजनमा परेर लाखौँले आफ्नो उर्वर समय बिताएको आस्थाको पार्टी संगठनबाट विमुख हुनु परेको छ ।

त्यस्तै, यो पंङ्क्तिकार पनि कुनैबेला तपाईंकै वकालत गर्ने पार्टी–वकिल थिएँ । स्वर्गीय सुशील कोइरालासमक्ष आफ्नो विमति राखेको विषय र तपाईंप्रति भएको अन्याएको बारेमा आगे खडा भएर बोल्ने केही गिनेचुनेका नेपाल विद्यार्थी संघको प्रतिनिधिभित्र मेरो पनि नाम आउँछ नै होला ? हुन त विपीको तस्बिर देखाएर ‘यो बुढो पनि कांग्रेस नै थियो ?’ भनेर प्रश्न गर्ने जमातको नेतृत्व गरिरहेको तपाईंलाई यी सबै बेमतलवका बिषय बाहेक अरु केही नलाग्न पनि सक्ला !

तपाईं त्यो गरिमामय छविले निर्माण गरेको आजको अवस्थाको लिलामी केही थान घरजग्गा जोड्न र विदेशी बैंकमा रकम थुप्र्याउन बाहेक अरु केही काम नलाग्ने देखिइसकेको छ । बरु तपाईंको दलको लाखौँ लाख निष्ठावान् कार्यकर्ताले केही रकम चन्दा दिएरै भएपनि यति त हुन्थ्यो होला ! करोडौँले रगत-पसिना बगाएको पार्टीमा बसेर तिनै ज्यामी माहुरी जस्ता कार्यकर्तामाथि बोझ हुनेगरी भैरहेको पत्नीको दमनलाई स्वीकृति दिन हिजो तपाईंलाई अधिवेशनमा जिताइएको थियो ? के तपाईंप्रति विमति राख्दैमा अरु दलमा शुभचिन्तकले पाँडेपजनीमा पर्नुपर्ने थियो त ? आज दलमा कुनै किसिमको लगानी नभएका, दलिय मुल्यमान्यता समेत नबुझेका साथै बुझ्न समेत् नचाहने, आफ्नो पुस्तैनी ब्यापार गरेर बसेका, दलाली गरेर सम्पत्ति आर्जन गरेका, देशको सार्वजनिक श्रोत साधनमाथि बलपूर्वक धावा बोलेर धन आर्जन गरेकाहरूलाई दलको टिकट र पदसमेत जिम्मा दिन तपाईंलाई के कुराले आकर्षित गर्याे ? त्यस्तालाई साथमा लिएर विजनेश पर्टनरमा समावेश हुने तपाईं कि परमप्रिया जीवनसंगिनी कांग्रेस पार्टीकी सभापति हुन् कि तपाईं स्वयं हो आज कार्यकर्ताले छुट्याउन सकिरहेका छैनन् ।

अझै माथि उल्लेखित् विषयबस्तु भन्दा पनि धेरै तल उत्रिएर हिजो कांग्रेसी कार्यकर्तामाथि धावा बोल्ने, कांग्रेसलाई वर्गशत्रु ठान्ने, कथित जनयुद्ध कालमा कांग्रेस छानि-छानी मार्ने, कांग्रेस जतिको बास उठाउने, कांग्रेसकै घरखेतमा झण्डा गाड्ने, सामान्य स्टिल र चरेसको थालमा बिहान बेलुकाको सामान्य जोहो गर्न सक्ने वर्गलाई सामन्ती भनेर कालो दर्जा दिँदै उन्मुलन गर्न लाग्ने अनि आज उनिहरू भन्दा लाखौँ गुणा माथि उक्लिएर आफुलाई माओत्सेतुङका हिमायती ठान्ने महासामन्तको पथमा कांग्रेसजस्तो पवित्र उद्देश्य लिएर जन्मिएको संगठनलाई होम्ने तपाईंको कुलुषित कर्मले तपाईंलाई केही थान प्रधानमन्त्रीको पद त दिलाउला तर इतिहासमा तपाईंको नाम कालाकर्तुतप्रेमी भनेर उल्लेख हुनेछ । आज आजीवन कांग्रेस भनेर रुख चिन्ह बाहेक अन्यत्र भोट हाल्नुपऱ्यो भने आफ्नो हात काटेर फाल्छौँ भनेर कसम खाएका कार्यकर्तालाई हँसिया हथौडामा, कलम चिन्हमा र अन्य तपाईंका पदीय भारदारी सम्हाल्न र देश लुटेर खान आएका नाम मात्रका कम्युनिस्ट झुन्ड जो आफुलाई अन्तर्राष्ट्रियवादका हिमायती हौँ भनेर खुलेआम स्विकार गर्छन्, जस्को राष्ट्रियता नै छैन, जसले देश र जनताभन्दा माथि आफ्नो वाद र विचारलाई राखेको छ, जसको विचारले देशको सिमाना देख्दैन, देशको मूल्य मान्यता, संस्कार संस्कृतिलाई किञ्चित् ठान्दैन, भाषा, भेषभुषाप्रति घृणा गर्छ, स्वदेशी भन्दा विदेशी स्विकार गर्छ, देशलाई गृहयुद्धमा जाक्न विदेशीको बुइ चढेर हिँड्ने एउटा नकचरो झुण्डवीरको काँधमा चढेर कति दिन आत्मरतिमा रमाउन सक्नुहुन्छ ?

आज कांग्रेसका कार्यकर्ता कांग्रेस पार्टीको टिकट माग्न प्रचण्डको घरदैलो चाहार्नुपर्ने दिन आएको छ । टिकट बाँड्न मात्र होइन एउटा सामान्य राजनीतिक नियुक्ति लिन होस वा पदबाट नियमित बढुवा हुन तिनै प्रचण्डको दैलोमा जानुपर्ने दिन कुन आँखाले हेर्नुपऱ्यो ? कुन कानले सुन्नुपऱ्यो ? तपाईंको सहयात्राले तपाईंलाई भन्दा प्रचण्डलाई र उनका साथमा रहेका देशद्रोहीलाई फाइदा पुऱ्याएको छ । तपाईं आफ्नि श्रीमती र छोरालाई बिरासत् बुझाउने दुःस्वप्न नदेख्नुहोस् । त्यो त खालि गिरिजाबाबुको पुत्रीमोहभन्दा माथि जाने छैन । तपाईंको अवशानपश्चात् तपाईंको परिवारमा त्यस्तो सर्वस्विकार्य सदस्य जन्मिएकै छैन । तपाईंको मात्रै होइन अरु कुनै नेता र पार्टी विशेषमा पनि त्यस्तो पारिवारिक विरासत संहाल्न सक्ने सदस्य छन् जस्तो लाग्दैन । यदि महाभारतको धृतराष्ट्र जस्तो मोहित हुनुभयो भने उही भारतीय कांग्रेस हाल र नेपाली कांग्रेसको हालतमा समानता हुनेछ । बरु बेलैमा उचित नेतृत्व गर्नसक्ने पात्रलाई चयन गर्नुमा नै तपाईंको बुद्धिमानी ठहर हुनेछ ।

आज बीपी कोइराला, गणेशमान जस्ताले निष्ठावान देशप्रेमी कार्यकर्ताहरू समेटेर बनाएको देशको सबैभन्दा पुरानो पार्टी करोडौँ शुभचिन्तकहरूका माझमा प्रचण्डको बैसाकी टेकेर खडा हुनुपर्ने अवस्था कसरी आइपुग्यो ? जनता र आम मतदाता यो चुनावको मुखसम्म आइपुग्दा अनुत्तरित हुनु नपरोस् । यस्तै बिलखबन्धनमा परेका मतदाताको बिसौनी चौतारी बन्नाकै खातिर पनि हामीजस्ता देश, जनता र प्रजातन्त्रप्रेमीहरू दल त्याग गर्न र स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा होमिन बाध्य भएका छौँ ।

अन्तमा हाम्रो तीनपुस्ते कांग्रेसको राजनीतिक लगानी र म स्वयंको पैंतीस वर्षको उर्वर युवा समयको उपयोगी अभ्यासलाई तपाईंको लेण्डुपदोर्जे पथको अनुयायी बन्न नसक्दा पथान्तर गर्दै पुनः जनसेवा र देशसेवामै रहने प्रण गर्दै बाँकी रहेको सदस्यता र कृयाशील सदस्यता तपाईंलाई आजका मितिदेखि आम प्रजातन्त्रवादीहरूलाई साक्षी राखेर जिम्मा लगाउन चाहन्छु । जय नेपाल ।

नेपाली कांग्रेस दलको निष्ठावान पूर्वकार्यकर्ता अधिवक्ता राजेन्द्रप्रसाद पाठक