अष्ट्रेलियामा महापुरुष किन हेर्ने… ?

अष्ट्रेलियामा महापुरुष किन हेर्ने… ?


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया )

पछिल्लो समय हास्यविधालाई प्रमुखता दिइएका चलचित्रहरूले दर्शकहरूको मन जितिरहेको पाइएको छ । मनोरन्जनको उच्चतम् माध्यम मानिने चलचित्र विधामा नेपाली चलचित्र वृत्तले क्रमशः फड्को मारिरहेको छ भने के देश के परदेश, सबैतिर आशलाग्दो वातावरण सृजना गरिरहेको छ ।

नेपालपछि नेपाली चलचित्र बढी चल्ने, बिक्ने र नेपाली चलचित्रलाई मनैबाट माया गर्ने प्रवासी नेपाली दर्शकहरूको संख्या बढ्दै जान थालेको छ अष्ट्रेलियामा । कबड्डी-४ र प्रेम गीत-३ ले विश्व बजारसँगै अष्ट्रेलियामा पनि राम्रै उपस्थिति जनायो । अष्ट्रेलियामा नेपाली सिनेमाको क्रेजलाई बढाउँदै र यसको उपस्थितिलाई झनै उचाइमा पुऱ्याउन अष्ट्रेलियामा रहेका नेपाली चलचित्र प्रदर्शकहरूको लगाव अनि योगदानलाई अवमूल्यन गर्न मिल्दैन । अष्ट्रेलियाका नेपाली चलचित्र प्रदर्शकहरूले नेपाली चलचित्रलाई अष्ट्रेलिया भित्र्याएर बजार बिस्तार गर्न जुन भूमिका खेलेका छन्, त्यो साँच्चै स्वागतयोग्य रहँदै आएको छ ।

यसै क्रममा छायाङ्कनको समयदेखि नै चर्चामा आएको चलचित्र महापुरूषले अब अष्ट्रेलियाका विभिन्न शहरमा एकसाथ प्रदर्शनको शुरूवात गर्ने भएको छ । चलचित्रका निर्देशक प्रदीप भट्टराई यस्ता निर्देशक हुन् जसले यसअघि निर्देशन गरेको तीनवटै चलचित्रले अष्ट्रेलियावासी नेपालीहरूको मन जितेको थियो । भट्टराईले सफल चलचित्र निर्देशकको रूपमा ह्याट्रिक गरेको तीन चलचित्र शत्रु गते, जात्रा र जात्रै जात्राले अष्ट्रेलियामा नाम र दाम दुवै राम्रै हात पारेको थियो । यिनै सफल निर्देशकको चौथो चलचित्र पनि राम्रो हुने विश्वास र भरोसा बोकेर यतिबेला अष्ट्रेलियाका विभिन्न शहरमा रहेका नेपालीहरू चलचित्र महापुरुष हेर्न प्रतीक्षारत देखिएका छन् । हुन त अष्ट्रेलियामा अहिले पनि केही चलचित्र नचलेका होइनन्, तर महापुरूष जस्तो क्रेज र यो सिनेमा हेर्न यहाँ रहेका प्रवासी नेपालीहरूले गरेको प्रतीक्षा गजबकै देखिएको छ ।

त्यसो त, चलचित्र महापुरुष कस्तो बन्यो वा यसले दर्शकहरूको मन कत्तिको जित्ला भन्ने त चलचित्र हेरेपछि नै थाहा होला, तर पनि निर्देशक भट्टराईले विगतमा दिएका हिट चलचित्रलाई आधार मान्ने हो भने चौथो चलचित्र महापुरुषमा पनि उनले आफ्नो उपस्थिति दह्रै बनाएका होलान् भन्न हिच्किचाइरहनुपर्ने अवस्था छैन । पछिल्लो समय कबड्डी-४ लाई अष्ट्रेलिया भित्र्याएर यहाँ चलचित्र प्रदर्शनको राम्रो वातावरण बनाउँदै नेपाली सिनेमाको बजार बिस्तार गर्न सफल अष्ट्रेलियाका चलचित्र वितरक रोशन भट्टराईले महापुरुषमार्फत पनि त्यो बजारलाई झनै फराकिलो बनाउंन लागेको देखिन्छ । ‘राम्रो निर्देशक अनि राम्रो कलाकारहरूको जमघट नै यो चलचित्रको शान र एउक विशेषता हो । विगतमा राम्रो चलचित्र दिएर आफूलाई सफल निर्देशकको रूपमा प्रमाणित गरिसकेका निर्देशको यो चलचित्रले पनि सफलताको झण्डा गाड्ने कुरामा हामी ढुक्क छौँ’– रोशन भट्टराईले भने ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल जस्ता अभिनयका महापुरूषहरूको उपस्थितिले पनि यो चलचित्रको गरिमा र लोकप्रियतालाई उचाइमा पुऱ्याएको देखिन्छ । नेपालसँगै यो चलचित्र अष्ट्रेलियाको ६ वटा शहरमा एकसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र महापुरुष सिड्नी र मेलबर्नमा अक्टोबर २८, २९, ३० र ३१ तारेखका दिन प्रदर्शन हुँदैछ भने ब्रिसबेन र एडिलेटमा अक्टोबर २८, २९, ३० र नोभेम्बर १ मा प्रदर्शन हुँदै छ । यसैगरी यो चलचित्रलाई क्यानभेरामा अक्टोबर २८ र २९ का साथै तासमनियामा अक्टोबर २८ का दिन हेर्न पाइने भएको छ । पहिलो लटमा यो चलचित्रले एकसाथ अष्ट्रेलियाका ६ वटा राज्यमा १९ वटा स्क्रीन पाएको छ । यी शोहरूको समाप्तिसँगै अन्य शो पनि थप्ने योजनामा अष्ट्रेलियाका चलचित्र प्रदर्शकहरू रहेका छन् ।