अनेसास बेल्जियमले मनायो लक्ष्मीजयन्ती

अनेसास बेल्जियमले मनायो लक्ष्मीजयन्ती


शताब्दीपुरुष सत्यमोहन जोशी र ओम गुरुङलाई पनि श्रद्धान्जली अर्पण गरियो

११४औँ लक्ष्मीजयन्तीको अवसर पारेर शनिबार (२२ अक्टोबर) बेल्जियममा नेपालका सामाजिक तथा सांस्कृतिक क्षेत्रका दिग्गज पुरुषहरु सत्यमोहन जोशी र ओम गुरुङलाई श्रद्धान्जली अर्पण गरियो । अन्तर्राष्ट्रिय साहित्य समाज बेल्जियमले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आ(आफ्ना सृजना मार्फत सम्झने क्रममा शताब्दीपुरुष जोशी र समाजशास्त्री गुरुङलाई समेत श्रद्धान्जली अर्पण गरेको हो ।

अनेसासका महासचिव लोकराज शर्माद्वारा संचालित कार्यक्रममा साहित्यानुरागीहरु गोपाल दाहाल, मुना ताम्राकार, चन्द्र शर्मा, कौशल खनाल, नन्द गुरुङ (पर्वत समाज बेल्जियमकी अध्यक्ष दुर्गा दिदी), साइमन आले, ओम शर्मा, प्रकाशराज गिरि (जन सम्पर्क समिति बेल्जियमका महामन्त्री), श्रीराम प्रसाईं (कोषाध्यक्ष, अनेसास बेल्जियम) लगायतले मन्तब्यसहित आ-आफ्नो रचनामार्फत आदीकविको सम्झना गरे भने नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले देश र साहित्य क्षेत्रमा अमुल्य योगदान दिने ब्याक्तिहरुलाई सम्मान गर्ने अवसर दिएकोमा अनेसास बेल्जियमलाई धन्यवाद दिए ।

त्यस्तै, प्रवाशी नेपाली मंचका अध्यक्ष चन्द्रकुमारी गुरुङ (ईशा दिदी)ले प्रवासमा पनि युग पुरुषहरुको सम्झना गर्न पाउनु गौरवको विषय भएको बताइन् ।

कार्यक्रममा ग्लोबल एनआरएन बेल्जियमका अध्यक्ष पदम गुरुङले समेत तीनैजना दिवंगत महापुरुषहरुलाई श्रद्धान्जली दिंदै कार्यक्रमको लागि आयोजकलाई धन्यवाद दिए ।

सो अवसरमा तमु धीकी अध्यक्ष प्रविणा गुरुङले दिवंगत समाजसास्त्री ओम गुरुङलाई जनजाति आन्दोलनका धरोहरको संज्ञा दिँदै भाषा तथा साहित्यमा योगदान दिने लक्ष्मीप्रसाद देवकोटा र सत्यमोहन जोशीको योगदानलाई सम्झिन पाएकोमा खुशी ब्याक्त गरिन् ।

त्यस्तै, एनआरएनए बेल्जियमका उपाध्यक्ष तीर्थराज धमलाले आफ्नो भनाइ राख्दै बेल्जियम समाजको एकताको लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए । उनले मानिसहरुको ब्यस्तता बढ्दै गएकोले सभा-सम्मेलनमा जमघट हुने परम्परा कमजोर हुँदै गएको भन्दै आफ्नो कार्यक्रममा आइदिए हुन्थ्यो भन्ने जोसुकैले अरुको कार्यक्रममा उपस्थिति जनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रमको अन्त्यमा आफ्नो रचनाको प्रस्तुतिसहित अनेसास बेल्जियमका अध्यक्ष डिल्ली अम्माईले तिहारको शुभकामना र अतिथिहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे ।