अष्ट्रेलियामा महापुरुष : सन्तानलाई कर्तव्यबोध गराउने चलचित्र

अष्ट्रेलियामा महापुरुष : सन्तानलाई कर्तव्यबोध गराउने चलचित्र


  • राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

चलचित्र महापुरुष हेरेपछि जो कोहीले पनि निर्धक्क भन्न सक्छ कि यो चलचित्र पछिल्लो समय रिलिज भएका नेपाली चलचित्रहरूको भिडमा चलचित्रको महापुरूष नै हो । यसलाई महापुरूष चलचित्रको दर्जा दिन सकिने थुप्रै कारण छन् ।

शुक्रबारदेखि नेपालका साथै अष्ट्रेलियाका विभिन्न शहरमा यो चलचित्रले प्रदर्शनको शुरूवात गरेको छ । सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमा हलमा यो चलचित्र हेरेपछि प्रबासमा रहनुभएका नेपाली चलचित्रप्रेमी दर्शकहरूको प्रतिक्रिया सकारात्मक पाइयो ।

‘वल्ड इज गोल्ड त्यसै भनिएको होइन रहेछ, हरिवंश, मदनकृष्ण, गौरी मल्ल, शिरू बिष्ट र राजाराम पौडेलको नामजस्तै उच्च काम हेर्न पाउँदा मन नै प्रफुल्ल भएर आयो’, चलचित्र हेरेर फर्किएका सुरेश भण्डारीको भनाइ थियो । उनी नेपालबाट घुम्न अष्ट्रेलिया आएका आफ्ना बुबाआमालाई लिएर चलचित्र हेर्न आएका थिए । ‘यो चलचित्र त प्रबासमा रहने सन्तानले छुटाउनै नहुने कोटीको रहेछ’, अर्का दर्शक सन्नी आचार्य भन्दै थिए- ‘नेपालमा रहेका बाआमा र विदेशिएका सन्तानबीचको मन छुने कथाले घरी घरी रूवायो।’

कथा देशविदेश र घरआँगनकै हो, तर त्यो कथालाई विशिष्ट शैलीमा बाचन गरेर निर्देशक प्रदीप भट्टराईले जुन रूपमा चलचित्रमार्फत् पस्किएका छन्, त्यसमा उनले बाजी नै मारेका छन् । सिनेमाको आकर्षण र मुटु भनेको कन्टेन र प्रस्तुति हो भन्ने कुरा निर्देशकले जात्रा, जात्रै जात्रा र शत्रुगते पछि यसमा पनि छर्लङ्ग पारेका छन् ।

यस सिनेमामा देखिएका कलाकारहरू पहिला अरू सिनेमामा पनि नदेखिएका होइनन्, तर ती पात्रहरूको चयन निर्देशकले यसरी गरेका छन् कि यी बाहेक अरूले यो भूमिका निभाउनै सक्दैन भन्ने छाप दर्शकहरूमा पर्छ । यस हिसाबले भन्नुपर्दा पात्र चयन र प्रस्तुति चलचित्र महापुरूषको अर्को सबल पक्ष हो ।

नायक नायिकाको रूपमा उभिएका दुई कलाकार अरुण क्षेत्री र अन्जना बराइली पनि यस्तो भाग्यमानी ठहरिए कि आफ्नो चलचित्र करिअरको शुरूवाती यात्रामा नै यी दुईले महापुरूष जस्तो विशिष्ट सिनेमामा काम गर्ने अवसर पाए ।

यसअघि पनि तीन चलचित्र सफल दिएर चलचित्र निर्देशकको रूपमा ह्याट्रीक गरेका निर्देशक प्रदीप भट्टराईको क्षमतामा विश्वास भएर नै आफ्नो समूहले महापुरुषको अष्ट्रेलिया वितरण गरेको कुरा रोशन भट्टराईले बताए ।’विशिष्ट कलाकार अनि सफल निर्देशकको चलचित्रसँग जोडीन पाउँदा हामी पनि खुशी छौँ’- उनले भने, ‘चलचित्रप्रति अष्ट्रेलामा रहनुभएका नेपाली चलचित्रप्रेमी दर्शकहरूको चासो देख्दा यो चलचित्रले पूरा अष्ट्रेलिया उल्लेखनीय प्रशंसा कमाउने विश्वास हामीले लिएका छौँ ।’

सन्तानका लागि समर्पित बाबु अनि त्यो सन्तानले बाबुप्रति निभाउनुपर्ने कर्तब्यको वरिपरि घुमेको यो चलचित्रको कथाले साँच्चै सबैको मन छुन्छ । त्यसमाथि परदेश जाने सपना र लक्ष्य बोकेको सन्तान र देशमा रहेको पिताबीचको ह्दयविदारक दृश्य तथा पाटोले त परदेश रहेको सन्तानलाई नेपालमा रहेका अभिभावकका लागि केही सोच्न बाध्य नै पार्छ । यस्तो मार्मिक र मन छुने विषयमा चलचित्र बनाएर यो टिमले के देश, के परदेश, सबैको मन, विश्वास जितेर वाहवाही कमाएको छ भन्दा फरक नपर्ला ।