अभिभावकको सम्मान नगर्ने बस्ती नर्कसमान हुन्छ !

अभिभावकको सम्मान नगर्ने बस्ती नर्कसमान हुन्छ !


हरि पौडेललाई संरक्षकबाट हटाइयो किन ?

  • डिल्ली अम्माई

तिहारको दुई दिनपछाडिको कुरा हो, निदरल्याण्ड बस्दै आउनुभएका एक सरल व्यक्तित्व हरि पौडेल दाजु हाम्रो घर आउनुभयो । उहाँलाई एनआरएनए निदरल्याण्डले प्रमुख संरक्षकबाट बर्खास्त गरेको रहेछ भन्ने उहाँसँगको भेटपछि मात्र थाहा लाग्यो । त्यो कुरा उहाँको मुखबाट सुन्दा अत्यन्त दु:ख लाग्यो र, जिज्ञासा राखेँ- ‘के त्यस्तो अपराध गर्नुभयो र तपाईंलाई त्यो सर्वोच्च संवैधानिक पदबाट बर्खास्त गरियो ?’

उहाँमा एकप्रकारको ठुलै पीडाबोध रहेछ, केही गमेझैँ गर्दै भन्नुभयो- ‘भाइ.. मलाई त्यो पदमा जान मन नै थिएन । साथीहरूले मरो मन्जुरी नलिइ उक्त पदमा राख्नुभएछ । मैले आफ्ना केही रिजर्भेशनहरू भएकोले त्यसमा समझदारी नभइ म त्यो पदमा बस्दिनँ भनेको मात्र नभइ १३ मईमा इमेलमार्फत जानकारीसमेत गराएको हुँ । उनीहरूले ती शर्तहरू स्वीकार गरेको जानकारी गराएकोले ‘साथीहरूले आग्रह गर्छन् भने ठिकै छ’ भन्ने लागेको थियो । तर एक्कासी २४ सेप्टेम्बर २०२२ मा मलाई प्रमुख संरक्षकबाट बर्खास्त गरेको कुरा सामाजिक संजालमार्फत थाहा पाएँ । यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा भयो ।’ उहाँको कुरा र कारण सुनेर पङ्क्तिकार अचम्मित भयो ।

हो, मानिसको आफ्नो व्यक्तिगत स्वाभिमान र सामाजिक करिअर हुन्छ । साथीहरूले पनि सामाजिक वा कानुनी रूपमा कसैको पनि आत्मस्वाभिमानलाई ध्वस्त बनाउने नियतले यस्तो हर्कत गर्न हुँदैनथ्यो । सबै संगठनभित्र अनुशासनका आ-आफ्ना वैधानिक नियमहरू होलान्, कसैलाई निकाल्नु वा थप्नुपरे त्यसको संवैधानिक बाटो होला । कसैले गल्ती नै गरे पनि त्यसलाई बिनास्पष्टिकरण, बिनानिलम्बन एकैपटक बर्खास्तगी गरिने, त्यो विधि त एनआरएनए जस्तो प्रजातान्त्रिक पद्दतिलाई आत्मसात गर्ने संगठनमा नहुनुपर्ने हो । दुश्मनलाई पनि स्पष्टिकरणको मौका दिने हाम्रो परम्परा र संस्कार हो ।

अर्को कुरा, जसले उहाँलाई बर्खास्त गर्ने प्रस्ताव लग्नुभयो, उहाँका आफ्नै अविभावक पनि होलान् । नभए अलिक परका त पक्कै होलान् । ति अभिभावकहरूको मर्यादा र स्वाभिमानमा यसैगरी बन्चरो चलाउँदा कतै त्यो नजिरले भविष्यमा उहाँलाई पनि नाङ्गेझार पार्ने त हैन ? त्यो सम्भव छ, किनकि हरि पौडेल निदरल्याण्डका एक वयोवृद्ध अविभावकसरह हुनुहुन्छ ।

उहाँको प्रक्रिया नमिलेको बर्खास्तगीबाट कसैले किन र कसरी आनन्द लिए होलान्- अचम्म लाग्छ ! ठिकै छ, स्पष्टिकरण सोधेर, निलम्बन गरिसकेपछि उहाँले आफै पो राजीनामा दिनुहुन्थ्यो कि ! विकल्प थिए नि अरु पनि, तर छापामार शैलीमा एक बयोवृद्ध व्यक्तिवलाई पदच्युत गर्नुअघि एक पटक त सोच्नुपर्ने थियो नि मित्रहरूले । अब चौबाटोमा भेट हुँदा वा कुनै कारणवश उहाँको सहयोग माग्दा ती बयोवृद्धका सात्विक आँखासँग आँखा जुधाएर कसरी कुरा गर्ने ? सोध्न मन लाग्छ नारायणजी अनि त्यहाँका स्थानीय अन्य मित्रहरूलाई ! के हरि दाइमाथि त्यो प्रकारको निर्ममता न्यायसंगत हो त ? उहाँको असन्तुष्टि त खाली उल्लिखित साथीहरूले खेलेका खेल, लुछाचुँडीसँग थियो । त्यो उहाँको मात्र असन्तुष्टि थिएन । उहाँले सबै भुइँ-एनआरएनहरूको प्रतिनिधित्व गरेर असन्तुष्टिको प्रतिनिधित्व गर्नुभएको थियो ।

हरि पौडेलले मई १३, २०२२ मा निदरल्याण्डको कार्यसमितिले प्रदान गरेको संरक्षकको पद सशर्त स्वीकार गरेको मेल मैले पनि हेरेँ । त्यो मेलमा उहाँले आफ्नै भाषामा केन्द्रमा तीन वटा अध्यक्ष भएको एनआरएनएको जम्बो टीमलाई आफ्नो समर्थन नरहने कुरा स्पष्ट रुपमा उल्लेख गर्नुभएको रहेछ । उहाँले उक्त मेल परिषदको कार्यसमितिका महासचिवको [email protected] इमेलमा पठाएको कुरा उहाँकै इमेल रेकर्डमा भेटियो । उहाँका शर्तहरूलाई कार्यसमितिको बैठकले अनुमोदन गरेको कुरा पनि उहाँसँगको भेटपश्चात अवगत भयो । हो नि ! स्वाभिमानी मान्छेले आफ्नो रिजर्भ मत मित्रहरूसँग राख्नु अपराध हो र ? यदि हो भने उहाँलाई पदमा राख्नै हुन्नथ्यो । पदमा हुनुभन्दा अगाडिदेखि नै उहाँको फरक मत रहेछ । नियुक्तिको बेला उहाँले समितिलाई पठाएको इमेलले त्यसको पुष्टि गर्छ ।

स्थानीय रूपमा संस्थागत एकता कायम गर्दै उदाहरणीय कार्य गर्न सबैसँग हातेमालो गर्नुको सट्टा एनआरएनएभित्र गुटबन्दी हुँदै आएको कुरा हरि दाइले मात्रै हैन, नेदरल्याण्डवासी गैरआवासीय नेपाली सहित सबैतिरबाट आइरहेको छ । यिनै कारणले अघिल्लो पटक एनआरएनए नै एक हिसाबले विभाजन भएकै हो र, यस्तै तरिकाले यो अवस्था अझै रोकिनेवाला पनि देखिँदैन । यसरी एकपछि अर्को विवादास्पद निर्णयहरू नियोजित ढंगले गर्दै जाँदा डायस्पोराको नेपाली समाज अझै विवादमा रुमलिने निश्चित छ ।

मलाई लाग्छ, एक सात्विक अविभावक हरि दाइमाथिको यो आक्रमणले एनआरएनए-नेदरल्याण्डको गरिमा पनि निश्चित रुपमा पूर्ववत रहने छैन । कार्यसमितिले आदरणीय अग्रजसमक्ष बेलैमा क्षमायाचना गर्दै यस्ता विवादहरूलाई विवेकशीलताका साथ नसच्याएको खण्डमा एनआरएनए-नेदरल्याण्डको गरिमालाई अझ क्षति पुर्‍याउने छ र त्यहाँको समाज टुक्रा-टुक्रा भएर गलत नजिरको लागि संधैभरी उदाहरण बनिरहने छ । चेतना भया !