भारी मतले आफू विजयी बन्ने स्वतन्त्र उम्मेदवार शाहीको दाबी

भारी मतले आफू विजयी बन्ने स्वतन्त्र उम्मेदवार शाहीको दाबी


  • आरपी उपाध्याय, नवलपरासी

मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि चुनावी माहोल ह्वात्तै बढेको छ । निर्वाचनका क्रममा पश्चिम नवलपरासी संघीय क्षेत्र १ का प्रतिनिधिसभाका स्वतन्त्र पदका उम्मेदवार अजय शाहीले निर्वाचनपछि यस क्षेत्रका दुई ठुला दल भनिएका उम्मेदवारहरुले यस क्षेत्रबाट विदा लिने बताएका छन् ।

बर्दघाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारको मन्त्री समेत रहेका शाहीले अर्बपति विनोद चौधरीले सत्ता गठबन्धन नेपाली कांग्रेसको तर्फबाट पाहुना उम्मेदवारको रुपमा उम्मेद्वारी दिएको तर उनले जनताको जनजीविकाको लागि भन्दा पनि आफ्नो व्यवसाय विस्तारका लागि आएको र अहिले पैसाकै बलमा चुनाव जित्छु भन्ने दिवा सपना देखेको आरोप लगाए ।

उनले यस क्षेत्रका अर्का उम्मेदवार नेकपा एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी पनि यस क्षेत्रबाट बारम्बार प्रतिनिधि भइ मन्त्री बन्दा पनि यस क्षेत्रको समस्या समाधानका लागि कुनै पहल नगरेको र जनतालाई बारम्बार आश्वासन मात्रै दिँदै आएकोले यसपालि मतदाताले त्रिपाठीलाई पनि आराम गर्न अवसर प्रदान गर्ने तर्क गरे ।

स्वतन्त्रका नाममा पार्टी नै खोली अन्य नेतासमेत यस क्षेत्रमा चुनावी माहोलमा रहेको हुँदा वास्तविक स्वतन्त्र आफू मात्रै रहेकाले आगामी निर्वाचनमा यहाँका मतदाताले आफूलाई मत दिइ भारी मतले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा शाहीले उखु, केरा खेतीमा संलग्न रहेका किसानका समस्याहरुलाई न्याय दिने कार्यमा सधैं क्रियाशील रहने धारणा राखे । कोणसभामा विभिन्न दलका नेता कार्यकर्ता, तथा मतदाताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

निर्वाचन आउन ८ दिन मात्रै बाँकी रहँदा जिल्लामा विभिन्न दलका उम्मेदवारहरुले चुनावीसभा तथा मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।