भूकम्पका बेला भाग्न खोज्दा एकको मृत्यु, पालिकाद्वारा राहत

भूकम्पका बेला भाग्न खोज्दा एकको मृत्यु, पालिकाद्वारा राहत


गए राति गएको भूकम्पका कारण बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ सेल्तडाका ६६ वर्षीय हरि लुहार रहेका छन् ।

हरिको गए राति गएको भूकम्पका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए । भूकम्प जाने बेला घरभित्रै रहेका वृद्ध बाहिर भाग्ने क्रममा मृत्यु भएको हो ।

मृतकका परिवारलाई गाउँपालिकाले किरिया खर्च स्वरूप रु २० हजार र बन्दोबस्तका सामग्री पनि हस्तान्तरण गरेको जोशीले बताए । ‘आर्थिक अवस्था निकै नाजुक रहेको छ, तत्काल रु २० हजार किरिया खर्च र खाद्यान्नलगायत बन्दोबस्तको सामग्री पीडितको घरमै पुगेर हस्तान्तरण गरेका हौँ’, उनको भनाइ छ ।

गए राति ८ बजेर १२ मिनेटमा बझाङको पटादेवल केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको थियोे ।