लुम्बिनी प्रदेश महामन्त्री आचार्य कपिलवस्तु क्षेत्र-२ बाट निर्वाचित

लुम्बिनी प्रदेश महामन्त्री आचार्य कपिलवस्तु क्षेत्र-२ बाट निर्वाचित


नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तु क्षेत्र-२ बाट चुनाव जितेका छन् ।

२०५६ देखि यता हरेक संसदीय चुनाव जित्दै आएका बृजेशकुमार गुप्तालाई पराजित गर्दै आचार्यले चुनाव जितेका हुन् ।

सत्ता गठबन्धनको दह्रो साथ पाएका आचार्यलाई चुनाव जित्न अन्तिम मतपरिणामसम्म कुर्नु परेको थियो ।

आचार्यले गुप्तालाई ३ सय १७ को मतान्तरले पराजित गर्न सफल भएका हुन् ।

०५६ सालमा तत्कालिन नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायलाई हराएर संसदीय राजनीति थालेका गुप्ता ०६४, ०७० मा कांग्रेसका उम्मेदवार सुधाकर पाण्डेयलाई पराजित गरेका थिए ।

०७४ मा तत्कालिन बामगठबन्धनको साथ पाएर आचार्यलाई तीन हजार बढी मतले हराएका गुप्ता यो निर्वाचनमा पराजित हुन पुगेका छन् ।

आचार्य कांग्रेस कपिलवस्तुको दुई कार्यकाल सभापति सम्हालेका नेता हुन् । ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा विजयी भएका उनी ०५६ को चुनावमा बागी उम्मेदवार बनेर पराजित भएका थिए ।

०७४ मा गुप्तासँग चुनाव हारेका आचार्य पूर्व सिंचाई राज्यमन्त्री समेत हुन् । बुद्धभूमि नगरपालिका वडा नं. ३ का स्थानीय बासिन्दा रहेका आचार्यलाई सत्ता गठबन्धनका दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाको साथ थियो । यति मात्र नभइ आचार्यले जसपाको पनि साथ पाएका थिए ।

संसदीय चुनावमा झिनो मतान्तरले विजयी हुन सफल आचार्यले सिंचाईको सुविधा, शिक्षा, स्वास्थ्यमा सुधार लगायतका एजेण्डा दिएर जनताबाट अनुमोदित भएका हुन्