पोखरामा खेलकुद विश्वविद्यालय स्थापनाका लागि बेल्जियममा छलफल

पोखरामा खेलकुद विश्वविद्यालय स्थापनाका लागि बेल्जियममा छलफल


  • सनत आचार्य, बेल्जियम

पोखराको सराङ्कोटमा नोहाज आर्क खेलकुद विज्ञान विश्वविद्यालय स्थापनाका लागि आर्थिक श्रोत जुटाउन बेल्जियमको लुभेनमा छलफल कार्यक्रम आयोजना भएको छ ।

ग्लोबल इन्भेष्टमेन्ट समिट २०२२ नाम दिइएको उक्त कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले यो परियोजनाले नेपालमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्ने सम्भावना भएको र यो आर्थिक एवम् शारीरिक विकासका लागि एउटा महत्वपूर्ण विषय बन्न सक्ने आंैल्याउनुभयो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले यो परियोजनालाई राजनीति र धर्मसँग मिसावट गर्न नहुने सुझाव दिँदै इमान्दारितापूर्वक काम गरे यसले पोखरा क्षेत्रको विकासका लागि ठुलो मद्दत पुग्ने सम्भावना रहेको बताउनुभयो ।

नेपाली व्यवसायी संघ बेल्जियमका उपाध्यक्ष चिरनकुमार खवासले आर्थिक रुपमा यो परियोजनामा लगानी ठूलो भएपनि परियोजनाले नेपालमा पर्यटक भित्र्याउन र पर्यटनलगायतका विकास क्षेत्रमा ठुलो योगदान दिने तर्क गर्नुभयो । उपाध्यक्ष खवासले यस परियोजनामा नेपालका वित्तिय संस्थाहरूको लगानीसमेत भएमा आर्थिक भार कम हुन जाने बताउनुभयो ।

नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष होम गुरुङले यो परियोजनाले नेपालको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्नुभयो भने कास्की समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले परियोजनामा लगानी गर्ने विश्वासिलो वातावरण बनाउन सके प्रवासी नेपालीहरुबाट लगानी हुन सक्ने सम्भावना रहेको बताउदै यसका लागि विश्वासिलो आधारहरू प्रस्तुत हुनुपर्ने सुझाव दिनुभयो ।

सामाजिक अभियन्ता रुविना शर्माले विगतमा ठुलो गौरवका योजनाहरू लगानी र राजनीतिक रुपले असफल भएको उदाहरण प्रस्तुत गर्दै यस्ता परियोजना विशुद्ध रुपमा सामाजिक भावले ओतप्रोत हुनुपर्ने सुझाव दिनुभयो ।

नोहाज आर्क खेलकुद विज्ञान कलेजका संयोजक एवम् पूर्व ताइकान्दो खेलाडी डाक्टर निङमारजंग गुरुङले परियोजना प्रस्तुत गर्दै यो परियोजनाले नेपालमा खेलकुद पर्यटनको विकास, खेलकुद शिक्षा, आध्यात्मिकताको अभिवृद्धि र नेपालमै रोजगारी प्रदान गर्ने बताउनुभयो ।

डाक्टर गुरुङले आफू पनि खेलाडी भएको नाताले यो परियोजनाले नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरुलाई जोड्ने पुलको काम गर्ने दाबी गर्नुभयो । उहाँले यो राष्ट्रिय गौरवको योजनासमेत भएकोले नेपाल सरकारले पनि यस परियोजनामा लगानी गर्ने प्रतिबद्धता दिएको जानकारी दिनुभयो ।

संयोजक गुरुङले नोहा आर्क संसारकै सबैभन्दा पुरानो र ठुलो विमान भएको शराङ्कोटको २२ रोपनी जग्गामा नोहा आर्क जहाजको ‘डमी मोडल’ बनाइने र यसबाट मार्दी, माछापुच्छ«े र धौलागिरी हिमाल र पोखरा क्षेत्र प्रष्ट रुपले देखिने उल्लेख गर्नुभयो ।

त्यस्तै, उक्त जहाजभित्र अत्याधुनिक सुविधासम्पन्न स्टेडियम, फिटनेस सेन्टर, अन्तर्राष्ट्रिय स्तरको हस्टल, म्युजियम, जैविक तरकारी पसल, ब्राण्डेड कपडाहरुको पसल, पुस्तकालय, सुविधासम्पन्न बैठककक्ष, स्विमिङ पुल, बालबालिका खेल्नका लागि सानो मैदानसमेत रहने जानकारी दिनुभयो । यसको वृद्धि तथा विकासका लागि कोरियाको योङगिङ विश्वविद्यालयसँग सहकार्य गर्ने बताउँदै उहाँले यस परियोजनामा लगानी गर्न सबैलाई आग्रह गर्नुभयो ।

संयोजक गुरुङले देश चिनाउन खेलकुदको पूर्वाधार विकास आवश्यक रहेको औंल्याउँदै नेपालमा यो क्षेत्रमा कसैले पनि लगानी नगरेको देख्दा आफुहरू चकित परेको बताउनुभयो । उहाँले विकसित मुलुकहरूले खेलकुद क्षेत्रमा ठुलो लगानी गर्ने गरेको उल्लेख गर्दै नेपाल भौगोलिक र वातावरणीय दृष्टिकोणले पनि उत्तम रहेको हुँदा यसको स्थापना र विकास आवश्यक रहेको बताउनुभयो ।

गुरुङले यो परियोजनामा कुल लगानी १ अर्ब ४० करोड लाग्ने र लगानीका लागि प्रवासमा रहेका नेपालीहरुबाट अपेक्षा गरिएको हुँदा लगानीको हात बढाउन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बेल्जियमका विभिन्न संघसंस्था तथा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।