मतदाता शिक्षा प्रभावकारी नहुँदा डडेल्धुरामा हजारौँ मत बदर

मतदाता शिक्षा प्रभावकारी नहुँदा डडेल्धुरामा हजारौँ मत बदर


  • डम्बर निदाल, डडेल्धुरा

मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डडेल्धुरामा हजारौँ मत बदर भएका छन् । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा डडेल्धुरामा हजारौँ मत बदर भएका हुन् ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार जिल्लामा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ ३ हजार १ सय ८७ र प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ २ हजार ७ सय ११ मत बदर भएका छन् । यसैगरी समानुपातिक प्रतिनिधि सभातर्फ ३ हजार ५ सय ५ र समानुपातिक प्रदेशसभा तर्फ ३ हजार ५ सय ४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ ५१ हजार २०३ मत खसेको थियो भने प्रदेश सभा सदस्य निर्वाचनमा प्रदेश क मा २५ हजार ३६१ र ख मा २५ हजार ९०३ मत खसेको थियो ।

एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको डडेल्धुरामा प्रतिनिधि तथा प्रदेश सभा तर्फ प्रत्यक्ष र समानुपातिक गरी कुल जम्मा १२ हजार ९ सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा बदर मतको संख्या बढेको जन गुनासो छ । एउटा मतदाताले चार पटक गर्ने मतदानमा प्रतिनिधि सभा र प्रदेशसभा दुबै निर्वाचन क्षेत्रमा ठुलो संख्यामा मत बदर हुनुमा निर्वाचन मतदाता शिक्षा प्रभावकारी नहुनु र राजनीतिक दल तथा उम्मेदवारहरूले पनि मत माग्ने र मतदान गर्ने तरिकामा खासै ध्यान नदिदा उल्लेख्य संख्यामा मत बदर भएको प्रति सम्बन्धित निकाय सचेत हुनै पर्ने देखिएको छ ।

डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवा विजयी भएका छन् । यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा बाम लोकतान्त्रिक गठबन्धन वाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी भएका छन् भने प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ वाट स्वतन्त्रका तारा प्रसाद जोशी विजयी भएका छन् ।