अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक

अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियामक निकाय मूकदर्शक


  • मुकेश कुमार यादव, सिरहा

सिरहामा नियामक निकायको मिलोमतोमा मापदण्डविपरीत अनुमतिविनाका अस्पताल तथा पोलिक्लिनिकहरु छ्यापछ्पाप्ती खुल्न थालेका छन् । निमयनकारी निकायको मौनता कारण लहान, धनगढीमाई, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतमा सयौंको संख्यामा अनुमतिविना नै अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएका हुन् ।

स्थानीय निकाय, प्रहरी प्रशासनकै सेटिङमा अनुमतिविनाका, मापदण्डविपरीत अवैध अस्पताल तथा क्लिनिकहरु सञ्चालन भएको छ । लहान नगरपालिकामा मात्र सयौँको संख्यामा क्लिनिक तथा अस्पतालहरु संचालनमा रहे पनि जम्मा ४ वटा अस्पताल र ६ वटा क्लिनिकले मात्र अनुमति लिएको स्वास्थ्य शाखा प्रमुख जगदिश मण्डलले जानकारी दिए ।

स्वास्थ्य शाखा प्रमुख मण्डल आफैंले लहान ८ मा सञ्चालन गरेको मण्डल क्लिनिकसमेत दर्ता नभएको एक स्वस्थ्यकर्मीले बताए । उनले भने, ‘नियमनकारी निकायले नै दर्ता प्रक्रियाको लागि फाइल पेस गर्ने क्लिनिक तथा अस्पतालहरुसँग अवैध रकम लिएर संचालन गर्ने छुट दिएको छ।’

गोलबजार नगरपालिमा पनि विनादर्ताको अस्पताल तथा क्लिनिकहरु छ्यापछ्पाप्ती खुलेपनि नियमनकारी निकाय मौन रहेको देखिन्छ। गोबजारको मूख्य बजारक्षेत्र ४ र ६ नम्वर वडा तथा ७ र ८ नम्बर चोहर्वामा अनुमितिविनै तीन दर्जनभन्दा बढी अस्पताल तथा क्लिनिकहरु नियम कानुनविपरीत सञ्चाल भए पनि जनप्रतिनिधि तथा स्वास्थ्य शाखाका कर्मचारीहरु भने मौन सर्मथन गरेझैँ गुमनाम बसेका छन् ।

सम्बन्धित् निकायबाट अनुमति नलिएको, विशेषज्ञ डाक्टरको नाममा योग्यता नपुगेका स्वास्थ्यकर्मीले उपचार गर्दै आएको, उपचारको नाममा बिरामीसँग बढी रकम असुली गर्ने गरेको लगायतका जनगुनासो आए पनि नियमनकारी निकाय मौन भएर बसेका छन् ।

गोलबजारमा मात्रै करिब ३ दर्जनभन्दा बढी मापदण्ड नपुगेका अस्पताल, पोलिक्लिनिक र ल्यावहरु सञ्ञ्चालनमा रहेको नगर स्वस्थ्यशाखाले जनाएको छ ।

स्वास्थ्य शाखा प्रमुख कर्णले क्लिनिकहरु धेरै खुलेका भए पनि केहीले अनुमतिको लागि कागजात पेस गरेका र चुनाव तथा जनप्रतिनिधिको व्यस्तताका कारण अनुगमन गर्न नसकिएको बताए । उनले भने, ‘हामी योजना बनाउँदै छौँ, अब तत्कालै सबै स्वास्थ्य संस्थाहरुको अनुगमन गरी प्रकृयापुगेकाहरुलाई अनुमति दिने र कारबाही गर्ने प्रक्रियामा जान्छौँ ।’

जनस्वास्थ्य सेवा नियामावलीअनुसार वार्षिक रुपमा नवीकरण फेल भएको ३ महिनाभित्र नवीकरण गर्नुपर्ने प्रावधान छ । तर, गोलबजारमा दुई आर्थिक वर्षदेखि यसको कुनै काम भएको छैन।

जिल्लाबाहिर दर्ता भए पनि नवीकरणसमेत नभएको उतिमलाल मेमोरियल अस्पताल प्रा.लि.समेत गोलबजारमा सञ्चालनमा आएको छ ।

गोलबजार नगर स्वास्थ्यशाखामा नवीकरण्का लागि फाइल पेस गरिएका गोलबजार हेल्थ केयर सेन्टर, अजय डेन्टल ,सगरमाथा मोडेल अस्पताल र एस पोलिक्लिनिक, भुमिजा हस्पिटलको करिब २ वर्षदेखि नविकरण नै नगरिएको स्वास्थ्य शाखा प्रमुख कर्णले स्वीकारेका छन् । उनले भन्ने, ‘नगरभित्र संचालनमा रहेको १२ वटा स्वास्थ्य संस्थाले फाइल पेस गरेको भए पनि अनुगमन हुन सकेको छैन ।’

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ (१) मा कसैले पनि इजाजतपत्र नलिइ गैरसरकारी, सरकारी वा गैरनाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नहुने उल्लेख भए पनि सिरहामा भने कानुनलाई लत्याउँदै सयौँको संख्यामा मापदण्डविपरीत अवैध रुपमा पोलिक्लिनिक, औषधि पसल, अस्पताल, र ल्याबहरु सञ्चालमा रहेका छन् ।