सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या, अमेरिकाद्वारा आतङ्कवादी हमलाको निन्दा

सशस्त्र समूहद्वारा २७ सर्वसाधारणको हत्या, अमेरिकाद्वारा आतङ्कवादी हमलाको निन्दा


सशस्त्र समूहले कङ्गोमा यस हप्ता मात्र कम्तीमा पनि २७ जना सर्वसाधारणको हत्या गरेको छ । कङ्गोको इतुरी प्रान्तमा उनीहरुको हत्या गरेको हो । सो समूहले यस हप्तामात्र २७ जनाको ज्यान लिएको र अरु केही सर्वसाधारण नागरिक घाइते बनाएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार यस हप्ता यहाँको इतुरी प्रान्त र अर्को डिजुगु प्रान्तमा हिंसा फैलिएको छ । यहाँको विद्रोही समूह सोडेकोले पछिल्ला केही दिनयता हत्या हिंसाको शृङ्खला बढाएको कङ्गोमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले जानकारी दिएको छ ।

कङ्गोमा संयुक्त राष्ट्रसङ्घका शान्ति सेना रहेका छन् । शान्ति मिसनमा रहेका शान्ति सेनामाथि पनि यहाँको सोडेको समूहका हतियारधारीहरुले हमला गर्ने गरेका छन् । सो हमलामा परेर यहाँ कार्यरत शान्ति सैनिक पनि मारिने गरेका छन् ।

पछिल्लो समयमा शान्ति सेनाले यहाँका कतिपय हिंसाग्रस्त क्षेत्रमा तैनाथ पनि बढाएको छ । यसक्रममा उनीहरुले यहाँका सर्वसाधारणलाई सुरक्षा दिने र उनीहरु विस्थापित हुनुपर्ने अवस्था आएमा त्यस्तो हुनबाट रोक्ने काम गरिरहेका बताइएको छ ।

अमेरिकाद्वारा काबुल आतङ्कवादी हमलाको निन्दा

संयुक्त राज्य अमेरिकाले बिहीबार अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । सो हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट खोरासान प्रान्तले जिम्मा लिएको छ ।

‘हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं । सो हमलाको आइएसद्वारा जिम्मा लिएको पाइएको छ । यो आक्रमण क्रूर समूहको पछिल्लो भयानक उदाहरण हो । अफगानिस्तानका जनतामाथि संवेदनाहीन हिंसा हो’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा बताएका छन् ।

‘हामी यस मूर्खतापूर्ण आक्रमणमा मारिएका प्रियजनहरू र परिवारका सदस्यहरूलाई हाम्रो गहिरो समवेदना पठाउँछौं । हामी आतङ्कको निन्दा गर्दछौं’, उनले भनेका छन् ।

बुधबार भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । घटनाको अन्तरराष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ ।

साथै अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै अफगानिस्तानमा दिगो शान्ति ल्याउन हिंसा कुनै पनि समाधानको हिस्सा नभएको बताएको छ । सो घटनामा ४० जनाभन्दा बढी भएको र घाइतेहरूलाई काबुलको आपतकालीन एनजीओ मानवीय संस्थाद्वारा सञ्चालित सर्जिकल सेन्टरमा ल्याइएको छ ।
अफगानिस्तानमा आपतकालीन निर्देशकले मृत्यु हुनेको संख्या बढ्दै जान सक्ने बताएका छन् ।

‘मृतकको सङ्ख्या अझै बढिरहेको छ’, उनले भने- ‘यो सन् २०२३ मा पहिलो सामूहिक हताहती हो ।’