पाकिस्तानमा बस दुर्घटना चालिस जनाको मृत्यु, डुङ्गा डुब्दा दश विद्यार्थीको ज्यान गयो

पाकिस्तानमा बस दुर्घटना चालिस जनाको मृत्यु, डुङ्गा डुब्दा दश विद्यार्थीको ज्यान गयो


पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका एक वरिष्ठ अधिकारी हम्जा अन्जुमले आइतबार जानकारी दिएअनुसार मृतकहरूको पहिचान हुन सकेको छैन ।

पुलको एउटा पिलरमा ठोक्किएर दुर्घटना भएको उक्त बसमा ४८ जना यात्रु सवार रहेका र तीन जनालाई जीवितै उद्धार गरिएको जनाइएको छ ।

बसका चालक निदाएकाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।

राजमार्गमा लापरवाह ड्राइभिङले पाकिस्तानमा डरलाग्दो सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ । बसको क्षमताभन्दा धेरै यात्रु सवार र सिटबेल्टहरू सामान्यतया नलगाइने जस्ता कारणले गर्दा एकल सवारी दुर्घटनाबाट मृत्यु हुनेहरूको सङ्ख्या सामान्य हुन पुगेको छ ।

सन् २०१८ मा पाकिस्तानको सडक दुर्घटनामा परी २७ सय भन्दा बढी मानिसहरू मारिएका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

यसैबीच, पाकिस्तानकै उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा डुङ्गा डुब्दा दश जना विद्यार्थीको ज्यान गएको छ । ७ देखि १४ वर्षका स्कूले केटाकेटीको मृत्यु भएको हो । डुङ्गा डुब्दा हराएका नौ जनाको खोजी भइरहेको छ भने एघार जनालाई उद्धार गरिएको छ ।