राजाको विकल्प राजा

राजाको विकल्प राजा


सामरिक महत्व बोकेको स्थानमा आफ्नो उपस्थिति बलियो बनाउन राजसंस्था बाधक भएकोले छिमेकीसहित आकाशका मित्रहरूको भूमिकामा राजसंस्था अन्त्य गरियो । जनताले बुझ्दै गएका छन्, देशलाई प्राथमिकतामा राखेर विदेशीसामु नझुक्ने राजाको न्यायका लागि एकजुट हुँदै छन् । राजाको विकल्प राजा नै हुन्छ भन्ने पनि बुझ्दै छन् ।

प्रभात अधिकारी

कुलमण्डन शाहका ७ भाइ छोरा थिए । लमजुङका जनताको मागअनुसार माहिला छोरा कालु शाहलाई लमजुङको राजा बन्न पठाए । तर लमजुङका शेखांत जातिले शिकार खेल्ने बाहानामा मारिदिए । पछि फेरि लमजुङका जनताले राजाका लागि कुलमण्डन शाहसँग अर्को छोराको माग गरे । लमजुङे जनताको अनुरोधमा पुनः कान्छा छोरा यशोब्रह्म शाहलाई राजा बन्न पठाइयो र उनि लमजुङका राजा भए । तिनै यशोब्रह्म शाहका जेठो छोरा नरहरी शाह लमजुङकै राजा भए भने कान्छा छोरा द्रब्य शाह गोरखाली जनताको अनुरोध र सहयोगमा गोरखाका राजा भए र, शाहवंशको शुरुवात भयो ।

तत्कालिन समयमा लमजुङ र गोरखा दुवै राज्यमा जनताको इच्छा, चाहना र रोजाइमा राजा बनाइए । सायद यही कारण हुनसक्छ, २०६५ मा राजा ज्ञानेन्द्रले नारायणहिटी राजदरबार छोड्दा ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएँ’ भन्ने वाक्य प्रयोग गर्नुभएको थियो । त्यसयता सामान्य नागरिकको जीवन बिताइरहनु भएका राजा ज्ञानेन्द्रले देश र जनताको इच्छामा आफू फेरि नेतृत्व लिन तयार भएको बताइरहनुभएको छ ।

विश्व इतिहास हेर्ने हो भने उपनिवेश र दासताको जालोमा फसेका मुलुकबाहेक प्रायः मुलुकहरूमा राजसंस्था कायमै रहेको छ । औपनिवेशिक कालमा आफ्नो देशको स्वतन्त्र अस्तित्व गुमाएका एसियाका भारत, पाकिस्तान श्रीलंकासहित अधिकांश मुलुकहरू र अफ्रिकाका मुलुकहरूले राजसंस्था गुमाउन पुगे । तर ती राष्ट्रहरू जसले कहिल्यै औपनिवेशिक शासनको अनुभव गरेनन् ती राष्ट्रहरूमा राजसंस्था आज पनि सम्मानित अवस्थामा छ । आफ्नो मुलुकको आर्थिक विकास, समृद्धि, शुसासन र शान्तिमा उल्लेख्य भूमिका निभाइरहेका छन् । विश्वका अति सम्पन्न, शान्त देशहरूमा आज पनि राजसंस्था नै छ । ब्रुनाई, कतार, कुवेत, जापान, स्पेन, नर्वे, बेलायत, स्विडेन, लक्जम्वर्ग र भुटानसहित ४० भन्दा देशमा राजसंस्थाले मुलुकको अभिभावकत्व निर्वाह गरिरहेको छ ।

इतिहासका घटनाक्रम, धार्मिक सांस्कृतिक महत्व तथा सामरिक महत्वले नेपालमा राजसंस्थाको अत्यन्त महत्व छ र, पछिल्लो समय यसको सार्थकता अझ बढेर गएको छ । राजा र राजसंस्थाको बारेमा कम्युनिष्टहरूले निर्माण गरेका गलत भाष्यलाई पन्छाएर कुरा गर्ने हो भने नेपालको लागि राजाको भूमिकाको जुन महत्व र गरिमा थियो त्यसलाई राष्ट्रपतिय प्रणाली (गणतन्त्रबाट) कहिल्यै पूर्ति हुन सक्दैन ।

राजा रणबहादुर शाह र गिर्वाणयुद्ध विक्रम शाहले बालक उमेरमै गद्दी सम्हाल्न पुगे । उनीहरूको शाशनकालमा नेपाल एकीकरण अभियान अगाडि बढिरहेको थियो । अढाइ वर्षीय राजालाई पाका उमेरका भाइभारदारहरूले बालक राजा भनेर आफ्नो कर्तव्यबाट विमुख भएनन् । बरु तिनै बालक राजालाई सलाम ठोकेर तरवार बोकी युद्धमैदानमा होमिए । राजा बालक नै भएपनि राजाको श्रीपेचप्रति गहिरो सम्मान थियो, त्यसैले नेपाल राज्यमा बालक राजा गद्दीमा हुँदा पनि राज्य एकीकरण जस्तो महत्वपुर्ण कामहरू रोकिएनन् । सुगौली सन्धि हुँदाको समयमा गिर्वाणयुद्ध वीरविक्रम शाह युवा उमेरका थिए, तर राजकाजसम्बन्धी निर्णय भाइभारदार, मन्त्री तथा कर्मचारीहरूले गर्दथे ।

२००७ साल कार्तिकमा राजा त्रिभुवनको सपरिवार दिल्ली प्रस्थान भयो । यता दरबारमा राजसिंहासन खाली भयो । राणाले चाहेका भए राजाविहीन राज्य (राष्ट्रपतीय प्रणाली वा अन्य केहि व्यवस्था) सञ्चालन गर्न सक्थे, तर मोहन शमशेरले मावली घरमा छुटेका राजा त्रिभुवनका नाती बालक ज्ञानेन्द्रलाई श्रीपेच लगाइदिए । शासन र शक्तिमा आफ्नो हालीमुहाली भए पनि विधि र परम्परा राणाहरूले भुलेनन् । राजाविहीन राज्य हुँदैन भन्ने चेत थियो राणाहरूमा रहेछ ।

‘राजा’ शब्दबाट नै ‘राज्य’ शब्द बन्ने हुँदा राजाको औचित्य पुष्टि हुनका लागि राजा अनिवार्य हुन्छ । राजकीय शब्द पनि राजाबाटै बनेको हो त्यसैले राजाको भ्रमण मात्रै राजकीय हुन्छ । तर अचेल राष्ट्रपतिको भ्रमणलाई पनि राजकीय भ्रमण भन्ने गरिएको छ, यो व्याकरणीय दृष्टिले पनि गलत छ । राष्ट्रपति शब्द स्वयम् गलत शब्द हो । यो पुर्णतया अव्यवहारिक र अव्याकरणीय छ । हामी देशलाई माता मान्दछौँ भने कुनै व्यक्तिलाई राष्ट्रको पति (राष्ट्रपति) कसरी मान्न सकिन्छ ? राष्ट्रपति शब्द स्वयमले महिलालाई सम्बोधन गर्न मिल्दैन ।

देशवासीका साझा भावनाको प्रतिनिधित्व गर्ने राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्थाले मात्रै त्यो भूमिका निभाउन सक्छ । कुनै अमुक राजनैतिक दलबाट निर्वाचित राष्ट्रप्रमुख त्यो दल वा सो विचारसँग सहमत दलको मात्र प्रतिनिधित्व गर्न सक्छन्, सिङ्गो देश र जनताको लागि गर्न सक्दैनन् । राजसंस्था राज्यको स्थायी शक्ति हुने हुँदा, राजाले मुलुक बेचेको, वा राज्यको अस्तित्व मेटिएको उदाहरण विश्व इतिहासमा छैन । बरु क्रान्तिको नाममा राजसंस्थाको अन्त्य गर्ने धेरै राज्यहरूको अस्तित्व मेटिएको छ ।

नेपालको राजसंस्था अन्त्य नगरेसम्म यहाँको धर्म-संस्कृति भत्काउन असहज हुने ठानेर नै नेपालको राजसंस्था अन्त्य गरिएको प्रष्ट भइरहेको छ । एउटा वंशको समुल अन्त्य (वीरेन्द्र) र अर्को वंशको चरम अपमान (ज्ञानेन्द्र) गरेर नेपालबाट सदाका निमित्त राजसंस्थाको ढोका बन्द गर्ने योजनासहित काम भएको रहेछ भन्ने कुरा यतिबेला छर्लङ्ग भएको छ ।

वैदिक सनातनी हिन्दू सभ्यताको सर्वोच्च संस्थाका रूपमा रहेको नेपालको राजसंस्था अन्त्य नगरेसम्म यहाँको धर्म-संस्कृति भत्काउन असहज हुने ठानेर नै नेपालको राजसंस्था अन्त्य गरिएको प्रष्ट भइरहेको छ । एउटा वंशको समुल अन्त्य (वीरेन्द्र) र अर्को वंशको चरम अपमान (ज्ञानेन्द्र) गरेर नेपालबाट सदाका निमित्त राजसंस्थाको ढोका बन्द गर्ने योजनासहित काम भएको रहेछ भन्ने कुरा यतिबेला छर्लङ्ग भएको छ । राजा वीरेन्द्रकै समयमा युवराज पारस र तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रको मिडियामा अनेक कुप्रचारहरू भएका थिए । यसको भित्री रहस्य दरबार हत्याकाण्डपछि केही समय राजसंस्थाले निरन्तरता पाउला तर त्यसपछि सदाको लागि अन्त्य गर्न सकियोस् भन्ने हेतुले भावी राजाको छवि जनतामा धमिल्याइएको रहेछ । साथै, सामरिक महत्व बोकेको स्थानमा आफ्नो उपस्थिति बलियो बनाउन राजसंस्था बाधक भएकोले छिमेकीसहित आकाशका मित्रहरूको भूमिकामा राजसंस्था अन्त्य गरियो ।

हिमवत्खण्डको रूपमा समेत परिचित नेपाल देशले विश्वलाई वेद, पुराण, उपनिषद्, र नीतिशास्त्र लगायत हजारौँ शास्त्र र दर्शनका ग्रन्थहरू दियो । तर संसारभरि छरिएर रहेका डेढ अर्ब हिन्दूहरूको अविभावक र आस्थाको प्रतीक खोसियो । यो हाम्रो लागि विडम्बनापुर्ण स्थिति हो । हिजो राजसंस्था हुँदाको समय विश्वले नेपालाई हेर्ने दृष्टिकोण सम्मानित थियो भने आज विश्व समुदायमा नेपाल र नेपालीको अपमानजनक स्थिति छ । नेपालीहरू त अपमानित छन् नै साथै डेढ अर्ब हिन्दूहरू पनि अपमानित छन् ।

सामरिक दृष्टिकोणले अति संवेदनशील स्थानमा नेपाल अवस्थित छ । विश्वका शक्तिराष्ट्रहरू छिमेकी चीन भारतसहित अमेरिका र युरोपहरूका आ-आफ्नै स्वार्थहरू नेपाली भूमिमा छ । नेपालको हरेक राजनैतिक परिवर्तनहरूमा समेत छिमेक तथा शक्तिराष्ट्रको भरपुर हस्तक्षेप र सहयोग हुँदै आएको छ । राजसंस्थाको अन्त्यसँगै शक्तिराष्ट्रहरूको नेपालमा नाङ्गो नाच नै प्रदर्शन भइरहेको सबैले अनुभव गरेकै छौँ । ५/५ वर्षको लागि निर्वाचित हुने कुनै दलको व्यक्ति राष्ट्रप्रमुख हुने व्यवस्था भन्दा वंशजको आधारमा अविछिन्न शासन गर्ने राजसंस्थाले बढी मुलुकको हित सोच्न सक्छ । मुलुकको स्वाधीनता, अखण्डता र सार्वभौमिकतासँग आफ्नो शासनको अस्तित्व गाँसिने हुँदा वैदेशिक हस्तक्षेप थेग्न सक्ने सामर्थ्य पनि राजाहरूमै बढी हुन्छ । राजाले देशको चिरस्थायी भविष्यका बारेमा सोच्न सक्छन् भने दलिय राष्ट्रपतिको स्वार्थ केवल उसको व्यक्तिगत स्वार्थभन्दा माथि जानै सक्दैन । सत्ता-स्वार्थको लागि दलहरूले गर्ने अनेक मुलुकविरुद्धका सन्धि-सम्झौताहरूले पनि यिनीहरू भन्दा राजा नै योग्य हुने कुरामा शङ्का छैन । प्रजातन्त्रको जननी मानिने देश बेलायतले बुझ्यो, त्यसैले आज उसलाई बेलायतसहित विश्वका अन्य १५ बढी देशको राष्ट्रप्रमुख हुने शौभाग्य प्राप्त छ । हामी प्रजातान्त्रिक अभ्यास र संसदीय प्रणाली बेलायतबाटै सिकेको भनेर दाबी गर्दै गर्दा बेलायतको राजसंस्थाको इतिहासबाट पाठ सिक्न खोजिरहेका छैनौँ । बरु असफल राष्ट्र बन्नेतर्फ अग्रसर भइरहेका छौँ ।

नेपालको राजसंस्था राष्ट्रनिर्माणको संस्था हो, राष्ट्रिय एकताको प्रतीक हो । देशमा सङ्कट आउँदा, भरपर्दो जिम्मेवारी बहन गर्न सक्ने संस्था हो । प्रजातन्त्रलाई बलियो बनाउने साधनको रूपमा समेत नेपाली राजसंस्था थियो । मुलुकमाथि हुने वैदेशिक हस्तक्षेप रोक्ने शक्ति पनि थियो । इतिहासमा हाम्रा राजाहरूले आफ्नो श्रीपेचभन्दा सदैव देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका थिए । प्रजातन्त्रको लागि दलको सदस्यता (प्रजा परिषद) समेत लिन पछि नहटने र विदेशमा गएर निर्वासित हुन समेत तयार हुने राजा त्रिभुवनदेखि राजा महेन्द्र र वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्मले देश र जनतालाई सधैं प्राथमिकतामा राखेर असल नियतका साथ काम गरे । दलहरूको अकर्मण्यता र विदेशी शक्तिको हस्तक्षेपका बाबजुद देश रोज्ने कि श्रीपेच भन्ने परिस्थितिमा राजाले देश रोजेका कारण २४० वर्षको गौरवमय विरासत विस्थापित हुन पुग्यो । जनताले बुझ्दै गएका छन्, देशलाई प्राथमिकतामा राखेर विदेशीसामु नझुक्ने राजाको न्यायका लागि एकजुट हुँदै छन् । राजाको विकल्प राजा नै हुन्छ भन्ने पनि बुझ्दै छन् ।