भाजपा र आरएसएसलाई सन्देश

भाजपा र आरएसएसलाई सन्देश


दुई देशलाई राजनैतिक र जनस्तरमा जोड्ने सम्बन्धका आधारहरू भत्काउन भारतले नै प्रयास गरेपछि नेपाल पश्चिमाको पोल्टामा गयो भनेर शोक गर्नुको कुनै तुक छैन ।

✍ प्रभात अधिकारी

विश्वमा वैदिक सभ्यता र संस्कृतिको देश केवल नेपाल र भारत मात्र बाँकी छन् । विभिन्न आततायी अब्राहमिक आक्रमणका कारण सिङ्गो भारतवर्षको वैदिक सभ्यता खुम्चिँदै गयो । आजपर्यन्त विश्वभरबाट वैदिक हिन्दु सभ्यतामाथि निरन्तर प्रहार भइरहेको छ । त्यसैले यस सभ्यता र संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धनका लागि नेपाल र भारत कम्तिमा धार्मिक सांस्कृतिक विषयमा एक ठाउँमा उभिनुपर्छ ।

नेपालको धार्मिक तथा सामाजिक क्षेत्रमा विकृतिको रूपमा सल्किएको डढेलोले भारतलाई जलाउँछ भने भारतमा लागेको डढेलोले नेपाललाई पनि बाँकी राख्दैन । यसको लागि फुटेर होइन जुटेर अघि बढेको खण्डमा दुवै देशको भलो हुनेमा दुईमत छैन । तर साझा धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेका देशहरू भएर पनि राजनीतिक रूपमा स्वस्थकर सम्बन्ध नहुने दुनियाँको एउटै उदाहरण नेपाल र भारत भएको छ ।

दुई राष्ट्रको सम्बन्धको कुरा गर्दा अत्यन्त प्राचिन समयसम्म फर्किएर व्याख्या/विवेचना गर्ने गरिन्छ । एकै परिवारको सदस्य झैँ सम्बन्धको साइनो जोडेर समेत व्याख्या गरिन्छ । तर, वास्तविकता फरक छ । भारतले एकतर्फी भन्ने ‘बडेभाइ’ र ‘छोटेभाइ’को रटान नेपालले रुचाएको पाइँदैन । साथै यही तथाकथित साइनोभित्र नेपाल-भारतको असल मित्रताको ढोँग र भारतको हेपाहा प्रवृत्ति दुवै देख्न सकिन्छ । साथै स्वघोषित बडेभाइको ‘बडेपन’ले विकसित भारतविरोधि मानसिकता नै नेपालमा राष्ट्रवादको परिचय बनिरहेको छ । नेपाल-भारत सम्बन्धमा कटुता पैदा गर्न यस्तै बडेभाइ प्रवृत्तिले भूमिका खेलिरहेको छ । यसमा गम्भीर भएर सोच्न जरुरी छ ।

विगतमा काङ्ग्रेस आईको जे-जस्तो हर्कतद्वारा नेपालीलाई चिढ्याउने काम भएको थियो, भाजपाले त्यसैलाई अनुमोदन गर्ने हो भने भविष्यमा दुई देशको सम्बन्ध अझ कमजोर हुने देखिन्छ । भारतको अनुचित नेतृत्वदायी भूमिकामा द्वन्द्वरत माओवादी र सात दललाई एक ठाउँमा राखेर १२बुँदे नगराइदिएको भए, नेपालमा राजनैतिक परिवर्तनको स्वरुप अर्कै हुन्थ्यो । तत्कालिन समयको राजनीतिक तीन शक्ति दरबार, सात दल र माओवादीमध्ये दरबारलाई पाखा लगाइयो । भारतले श्याम शरण र सीताराम यचुरीको नेतृत्व र पश्चिमा मुलुकसँगको सहकार्यमा जसरी नेपालको राष्ट्रिय पहिचान मेट्ने काम गऱ्यो यसमा वर्तमान भारतले ‘कोर्ष करेक्सन’ गर्नैपर्छ । अन्यथा आरएसएसलाई नेपालमा बसेर धार्मिक र राजनीतिक क्षेत्रमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन ।

सांस्कृतिक राष्ट्रियतासहित स्वस्थ प्रजातान्त्रिक अभ्यासका अनुयायी देशभक्त नेपालीहरूले आरएसएस र विधर्मी कम्युनिष्ट एकै हुन् भनेर बुझ्नेछन्, बुझ्नुपर्छ । भाजपा र आरएसएसलाई प्रश्न छ- नेपाल मामलामा पश्चिमा शक्ति, सोनिया, श्याम शरण र यचुरीहरूको जस्तै धारणा हो ? यदि ०६३ पछिको नेपालको परिवर्तनलाई भाजपाले अनुमोदन गर्ने हो भने नेपालका लागि भाजपा र काङ्ग्रेस आईमा के फरक रहन्छ ? नेपाली सेनालाई गणतान्त्रिक बनाउन जंगीअड्डामै गएर सम्झाएको र चीनलाई समेत सहमत गराउन बेईजिङ्ग गएर लविङ गरेको श्याम शरणले स्वीकारेका छन् । आफ्नो देशको सांस्कृतिक राष्ट्रियता र गौरवशाली शाहबंशीय इतिहास मेट्न विगतमा भारतले गरेको यो हर्कतलाई सच्चा देशभक्त नेपालीहरूले माफी गर्ने छैनन् । भाजपालाई हेक्का होस्, नेपाल र भारतबीचको सम्बन्ध बलियो बनाउने आधार भनेकै जनस्तरको सम्बन्ध र धार्मिक/सांस्कृतिक पक्षहरू हुन् । बडेभाइ र छोटेभाइको सम्बन्धलाई पुष्टि गर्ने आधार पनि यही हो । यसप्रकारको विशेष सम्बन्धलाई अझ मजबुत बनाउने कि कमजोर बनाउने हो दक्षिणले सोच्ने बेला आएको छ ।

नेपालमा गणतान्त्रिक धर्मनिरपेक्ष संविधान जारी गरेलगत्तै भारतले गरेको नाकाबन्दीले भाजपाको यसप्रति असन्तुष्टि रहेको बुझ्न सकिन्छ । साथै आरएसएसमार्फत नेपालमा गणतान्त्रिक हिन्दु राष्ट्रको एजेण्डा प्रचार नभएको होइन । तर संस्कृतिक राष्ट्रियताको पक्षधर नेपालीहरूको चाहना गणतान्त्रिक हिन्दु राष्ट्र होइन बरु राजसंस्थासहितको हिन्दु राष्ट्र अर्थात् हिन्दुअधिराज्य हो । विस्थापित महाराजले देश र जनताको आवश्यकतामा नेतृत्व लिन तयार रहेको बताइरहेका छन्, साथै यसमा जनमत बलियो हुँदै गएको छ । पछिल्लो समय राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकताको रक्षाको लागि राजसंस्था नै चाहिने रहेछ भनेर कम्युनिष्टहरू समेत मुखारित भइरहेका छन् । नेपाली काङ्ग्रेसमा ०६३ मा तत्कालिन पार्टी नेतृत्वले गरेका गल्तीहरूमा समीक्षा गर्नुपर्ने धारणा आइरहेको छ । पश्चिमा शक्तिको प्रभाव र दबाबलाई बेवास्ता गरी निकट भविष्यमा काङ्ग्रेस र कम्युनिष्ट दुवै राजसंस्थाको पक्षमा बलियोसँग उभिएको खण्डमा भाजपा र आरएसएसको मत के हुनेछ ? यसको मतलव नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेपको आशा गरिएको होइन, बरु नेपाल र नेपालीको वास्तविक इच्छा/चाहनाविपरीत भारतले गतिविधि नगरोस् भन्ने मात्र हो । विगतमा काङ्ग्रेस आईले जुन गल्ती गरेर नेपालको पहिचान मेट्यो, भाजपाले त्यसमा पुनर्विचार गरी नेपालीको मागको सम्मान मात्र गर्दै त्यसविपरीतका क्रियाकलाप नगर्नु स्वस्थकर हुनेछ भन्न खोजिएको हो । यसका लागि कोर्ष करेक्सनको बाटो खुल्ला छ ।

व्यवहारगत रूपमा हेर्दा भारतमा काङ्ग्रेस आई सत्तामा हुँदाको अवस्था र हाल भाजपा हुँदाको अवस्थामा खासै फरक महसूस गरिएको छैन । गोविन्द गौतम र जयसिंह धामीहरूको हत्या, सीमा अतिक्रमण र राजनैतिक/प्रशासनिक क्षेत्रको सामान्य व्यवस्थापन समेतमा नाजायज हस्तक्षेप हुनुले दुई देशको सम्बन्ध जनस्तरसम्म कमजोर बनेको छ । भारतका बौद्धिक, दिग्गज भनिने नेता तथा डिप्लोम्याटहरूको नेपालसम्बन्धी तुच्छ वा तल्लो स्तरको बुझाइ र व्यवहारले पनि नेपालीहरू रुष्ट छन् । राजदुतहरूले देखाउने रवैया र आन्तरिक राजनीतिमा दिइने दबाबमुलक सल्लाह आदि खुल्ला रूपमा देख्न सकिन्छ । भारतले विगत ७० वर्षदेखि गर्दै आएको गतिविधिकै कारण नेपाल-भारत सम्बन्ध राम्रो हुन सकेन, यसको प्रमुख दोष काङ्ग्रेस आईलाई नै जान्छ ।

विगतका व्यवस्था परिवर्तनहरूमा उसको भूमिका र निरन्तरको हेपाहा प्रवृत्तिका कारण नेपाल नजानिँदो किसिमले पश्चिमाको पकडमा पुगिसकेको बारेमा नेपाली र भारतीय दुवैले चाल पाएनन् । राजनीति मात्रै होइन शिक्षा, सञ्चार तथा सामाजिक क्षेत्रमा समेत पश्चिमी प्रभाव देख्न सकिन्छ । यी कुराहरू नेपाल विखण्डनसम्मको हतियार बन्न सक्छन् । दक्षिणी हेपाहा प्रवृत्तिभन्दा पश्चिमी अब्राहमिक शक्तिको हस्तक्षेप अझ घातक सिद्ध हुनेछ । पश्चिमाको प्रभावमा नेपाल जाँदा नेपाल स्वयम् बर्बाद हुन्छ नै साथै भारत विरुद्ध समेत नेपालीभूमि प्रयोग नहुनेमा विश्वस्त रहन सकिन्न । अहिले चीनसमेतले भारतबराबरको हैसियत खोज्न थालेपछि नेपाल तीन ध्रुवीय दबाबको रणक्षेत्रमा परिणत भएको छ ।

दुई देशलाई राजनैतिक र जनस्तरमा जोड्ने सम्बन्धका आधारहरू भत्काउन भारतले नै प्रयास गरेपछि नेपाल पश्चिमाको पोल्टामा गयो भनेर शोक गर्नुको कुनै तुक छैन । नेपालको राजसंस्था भारतसहित विश्वभरिका डेढ अर्ब हिन्दुहरूको पनि आस्थाको प्रतीक हो । साथै विश्वको एकमात्र हिन्दु अधिराज्य नेपालप्रति भारतीय जनतासहित विश्वभरिका हिन्दूहरूले गर्व गर्दथे । ०६२/६३ मा यही पहिचान मेट्नको लागि भारतको के-कस्ता हर्कतहरू भए सबैका अगाडि छताछुल्ल छ । हिन्दुराज्यको स्थानमा धर्मनिरपेक्ष लेखिएपछि गाउँ-गाउँ चर्चको बिस्तार भयो भने नेपालको अभिभावकीय भूमिकामा रहेको राजसंस्थाको स्थानमा पश्चिमा मिसनरी दूतहरू भए, जो नेपालको लागि त हानिकारक छँदैछ साथै दुई देशको आर्थिक, सामाजिक र राजनैतिक सम्बन्धको लागि पनि प्रत्युत्पादक छ ।

नेपाल-भारत सम्बन्ध बलियो बनाउनुको विकल्प छैन । यी दुई देश एक अर्कामा जति टाढिन्छन्, त्यति नै यस क्षेत्रमा पश्चिमा शक्ति हाबी हुनेछन् जुन धार्मिक-सांस्कृतिक पहिचानको स्खलनसहित क्षेत्रिय द्वन्द्व र विध्वंशको बाटो बन्न सक्छ । त्यसैले विगतमा भए/गरेका १२ बुँदेसहितका गल्तीहरू, सच्याउँदै एकअर्काको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दै स्वस्थ राजनीतिक सम्बन्ध निर्माण गर्नुपर्छ । नेपालको राजनीति भारतविरुद्ध प्रेरित हुने र भारतको राजनीति नेपालप्रति हेपाहा कोटीको हुनुहुँदैन ।