माओवादीको राजनीतिक वेश्यावृत्तिका प्रमुख र नियमित ग्राहक भएकाले काङ्ग्रेस र एमालेले आफ्नो विचार मात्र होइन चरित्र, संस्कृति, मान र इमान सबै गुमाइसकेका छन् र, अहिलेजस्तै पहिला पनि पटक-पटक निर्वस्त्र अवस्थामा प्रदर्शित भइसकेका हुन् ।
✍ डा. श्याम उपाध्याय
हालै माओवादी प्रधानमन्त्रीले आफ्नै मन्त्रिपरिषदका केही सदस्यहरूको विरोधका बाबजुद नेपालको इतिहासकै सर्वाधिक ठूलो नरसंहारको थालनी भएको दिनलाई सार्वजनिक बिदा घोषणा गरेर माओवादी आतङ्कका पीडितहरूको घाउमा नुन छर्ने काम मात्र गरेनन्, संविधानमा ‘जनयुद्ध’ शब्द नराख्ने पूर्व राजनीतिक सहमतिलाई चुनौती दिए र, अब उक्त सहमतिको पालना गर्न कुनै पनि पक्ष नैतिक रूपले जिम्मेवार छैन भन्ने सन्देश पनि दिए । यस घटनाले विस्तृत शान्ति सम्झौता र त्यसको आधारमा बनेको नयाँ संविधान र संवैधानिक व्यवस्थाप्रति माओवादी प्रतिवद्ध र इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको छ ।
फागुन १ मा सार्वजनिक बिदाको निर्णय कुन कुराको पनि सूचक हो भने माओवादीमा अझै पनि हिंसा र आतङ्कको धङ्धङी बाँकी नै छ र, राजनीतिक विचार र व्यवस्थाको फाँटमा उसैको भाषामा ‘संसदवादी दलहरूबाट’ भोगेको पराजयको लागि प्रतिशोधमा उत्रन उसले कुनै अवसर गुमाउने छैन । यस कदमले राजनीतिक अस्थिरताको नयाँ चक्र सुरु हुन सक्ने सम्भाव्यतालाई मात्र इङ्गित गरेको छैन बरू स्वयम् माओवादीले आफ्ना ‘उपलब्धि’ भनेर दाबी गरेका वर्तमान व्यवस्थाका कतिपय संरचनाहरूको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको छ । माओवादी निर्णयले हिंसा र आतङ्कलाई राजनीतिक लक्ष्यप्राप्तिको साधनको रूपमा मान्यता दिएको छ र संविधानले परिकल्पना गरेको कानुनी राज्यको धज्जी उडाएको छ ।
मेरो पुस्ताले माओवादी आतङ्कका सवै विध्वंशहरू प्रत्यक्ष रूपमा भोग्यो । अहिलेका पच्चीस वर्षमुनिका युवाहरूलाई त्रासदीका ती दिनहरूको थोरै मात्र सम्झना होला या नहोला । माओवादी आतङ्कका दश वर्षभरि नै मेरा दुवै छोराछोरी स्कूल जान्थे र ती सबै वर्षका हरेक दिन हामी बाबुआमाले भयानक त्रासमा रहेर बिताएका थियौँ । माओवादी भन्नासाथ बाबुआमाको हैसियतमा हाम्रो मानसपटलमा एक नृशंस प्राणीको स्वरूप आउँथ्यो जसले स्कूललाई आफ्नो लक्ष्यभेदनको प्रमुख निसाना बनाएको थियो ।
माओवादी दस्ताले बालकहरू चढेको स्कूल-बस जलाउँदथे, स्कूल बन्द गराउँदै हिड्थे, स्कूल प्रशासनले नमाने बालबालिकाको वास्तै नगरी स्कूल भवनलाई बम हानेर उडाइदिन्थे, शिक्षकहरूलाई आफ्नो तलब काटेर चन्दा दिन लगाउँथे र नमाने गोली हानेर मारिदिन्थे । पूर्वसूचना बिना यातायात बन्द गरिन्थ्यो र स्कूल गएका बालबालिका घर फर्कन नसक्ने र बाबुआमा उनीहरूलाई लिन जान घरबाट निस्कन नसक्ने अवस्था आइपर्दथ्यो । मानिसलाई हरेक कटु अवस्थाको सामना गर्नुपर्ने हुन्छ र बिस्तारै ऊ खतरासँग पनि अभ्यस्त हुन थाल्छ । त्यसबेला पनि बाबुआमाले गब्बरसिंहको कथामा जस्तै बालबालिकालाई ‘बाबु-नानी छिटो बत्ती निभाएर सुत, राति माओवादी हिँड्छ’ भनेर सम्झाउनु पर्थ्यो र बाबुआमा रातभर जाग्राम बसेर कतैबाट कुनै आवाज आउनासाथ सतर्क हुनुपर्थ्यो ।
मेरो कथा त्यस समयको अन्य कथाको तुलनामा अति सामान्य हो । किनभने माओवादी हत्याराहरूले नाबालिग छोराछोरी र तिनकी आमाको सामुन्ने पितालाई यातना दिइ-दिइ मार्थे, स्कुलका बालकहरूलाई प्राङ्गणमा उभ्याएर तिनको अगाडि नै शिक्षकको हत्या गर्दथे । आफ्ना पिता र गुरुको हत्याको दृश्य देखेका बालबालिकाको पीडा र यातनासँग म आफ्नो दुःखको तुलना गर्न सक्दिनँ । त्यसै पनि शहरको गल्लीमा भागेर भए पनि कुनै घरपछाडि लुक्न सकिन्थ्यो, तर गाउँ-पहाडमा माओवादीहरूले निहत्था सर्वसाधारणको खेदी-खेदी, बोरामा थुनेर, नदीमा बगाइदिएर, गोली हानेर, निर्घात कुटेर, औंलाका नङ झिकेर या यातनाका यावत उपाय गरेर मार्थे । किरियामा बसेका किरियापुत्रीहरू, सार्वजनिक बसमा यात्रा गरेका निरपराध गाउँलेहरू, बैंक तथा सरकारी कर्मचारी र स्थानीय निकायका जनप्रतिनिधिहरू लगायत समाजको कुनै यस्तो तब्का थिएन जसले माओवादी आतङ्कको शिकार हुनु परेन । म आफूलाई उनीहरूसँग पनि तुलना गर्न सक्दिनँ । तर त्यसो भन्दैमा म पीडित होइन भन्ने पनि मान्दिनँ । पीडाको गहिराइको भिन्नता हो ।
तथ्याङ्क विज्ञानको अध्येताको हैसियतले म के भन्न सक्छु भने माओवादी आतङ्कबाट भएका सबै मानवीय र भौतिक क्षतिलाई तथ्याङ्कमा उतार्न सकिन्छ र उतारिएको पनि छ, तर त्यस आतङ्कको त्रासदी भोगेर आएकाहरूको मानसिक पीडालाई कुनै पनि अङ्कद्वारा मापन गर्न सकिँदैन । माओवादीलाई तिनको आतङ्ककारी विगतको स्मरण गराउनासाथ उनीहरू राज्यबाट भएको दमनको प्रतिरक्षाको कुरा झिक्छन् । तर दाङस्थित संस्कृत विश्वविद्यालयमा रहेका कैयन दुर्लभ ग्रन्थहरूको दहन, भक्तहरूद्वारा वाचनशिरोमणिको नामले पुकारिएका पुराणवाचक नारायणप्रसाद पोखरेल र स्कूलमा संस्कृत पढाएवापत लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या, गाई काट्ने अभियान जस्ता घटना माओवादीलाई कुनै राजनीतिक या सुरक्षा चुनौती दिएका कारण घटाइएको थिएन । ती घटना फगत कुन कारणले घटाइएको थियो भने माओवादीहरू मन, वचन र कर्मले आतङ्कवादी थिए र, त्यो कुरा जनतालाई देखाएर र त्रस्त पारेर नै उनीहरू आफ्नो अभीष्ट पूरा गर्न चाहन्थे ।
तर यो लेखको प्रसङ्ग र उद्देश्य माओवादी हिंसाका अपराधहरूको फेहरिस्त खडा गर्नु होइन । त्यो धेरै लामो र अत्यन्त दर्दनाक हुन्छ । यो लेखले उठाउन चाहेको विषय के हो भने ती अपराधका प्रत्यक्ष पीडकहरूलाई आवश्यक कानुनी राहत र भौतिक क्षतिपूर्ति दिँदै समग्र नेपाली समाज हिंसाका घाउ बिस्तारै पुरेर नयाँ शान्तिपूर्ण वातावरणको निर्माण गर्न अग्रसर भएको बेला किन उनीहरू आफै ती घाउ उप्काउन चाहन्छन् ? किन उनीहरू यतिका वर्षपछि आफ्ना अपराधहरूको साबिति बयान दिन र तिनको औचित्य पुष्टि गर्न आवश्यक ठान्छन् ? नेपाली समाज हिजोका हत्याराहरूसँगको वैमनश्यता दूर गर्न र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न तयार भएको बेला किन उनीहरू घुमीफिरी आफ्नो आतङ्ककारी चरित्रलाई नै उजागर गर्न चाहन्छन् ?
यसको पहिलो कारण माओवादीको लगातार गिर्दो लोकप्रियता हो । पहिलो संविधान सभाको निर्वाचनदेखि हालैको संसदीय निर्वाचनसम्म उसले पाएको मत निरन्तर ओरालो लागिरहेको छ । पटक-पटक सत्तारोहण गरेर पनि उसले कुनै उपलब्धि हासिल गरेर हिजोका आश्वासनहरू पूरा गर्न सक्ने क्षमता देखाउन सकेन । विस २०५२ मा पेश गरेका ४० बुँदे मागमध्ये कति पूरा गरिस् भनेर जनताले माओवादीलाई प्रश्न गर्न थाले । ती माग त उसले बिर्सि नै सक्यो अथवा ‘कम्फरटेबल’ हुने क्रममा रद्दीको टोकरीमा फालिसक्यो, त्यसबाहेक नयाँ परिस्थितिको लागि पनि उससँग कुनै कार्यक्रम छैन । पछिल्लो समयमा झण्डै दुई वर्ष अर्थ मन्त्रालयको जिम्मा पाउँदा उसले देशलाई टाट पल्टाउने अवस्थामा धकेल्यो ।
एक शान्तिपूर्ण, लोकतान्त्रिक र प्रगतिशील समाजलाई अतिवादी र उग्रवादी विचारधारा पाच्य हुँदैन । तर उससँग रचनात्मक विकासको कार्यक्रम नै छैन । त्यसैले माओवादी विचार बस्तुगत रूपमा नै पराजित र विस्थापित हुँदै गएको छ र, ऊ आफ्नो अस्तित्वको लडाइँमा छ । आफ्ना उपलब्धि भनेर प्रचार गरेका सङ्घीयता, धर्मनिरपेक्षता र राजतन्त्रमध्ये कुनै एक विषय पनि जनमत सङ्ग्रहमा लैजान माओवादी तयार छैन । यदि उसमा ती उपलब्धिहरूप्रति जनसमर्थन रहेको विश्वास भएको भए कहिले ‘प्रतिगमन’ त कहिले ‘संविधानमाथि खतरा’ भनेर अमुक दुश्मनको कृत्रिम हौवा खडा गरिरहनु आवश्यक हुँदैनथ्यो । अहिलेको द्वन्द्वरहित अवस्थामा निर्भिकताका साथ वर्तमान व्यवस्थाको आफैं मुल्याङ्कन गरेर जनता उचित निर्णयमा पुग्छ कि या त्यस्तो निर्णयको लागि अहिलेका भन्दा योग्य पात्र उत्पादन गर्छ कि भन्ने त्रासले माओवादीलाई ऐंठन गरिरहेको छ । उसको ब्राण्डको एउटै बस्तु भनेको कथित ‘जनयुद्ध’ हो जसको अवधिभर जनतालाई तर्साएर भए पनि नियन्त्रणमा राख्न सकिएको थियो । अरु केही नबिकेपछि ऊ पुनः सोही ‘जनयुद्ध’को डम्फु बजाइरहन विवश छ ।
अर्को समस्या माओवादीको वैचारिक आधारमा छ जुन अन्य वामपन्थी दलभन्दा भिन्न छ । सामान्यतः मार्क्सवादीहरू वर्ग र वर्ग सङ्घर्षको आधारमा मित्र छुट्याउँछन् । तर माओवादीको वैचारिक आधार उपयोगितावाद हो । यसको मूल मन्त्र के हो भने कुनै पनि कार्यको वैधता त्यसले दिने परिणामले निर्धारण गर्दछ । कसैले पनि माओवादी नेता, बुध्दिजीवी या कार्यकर्तासँग कुरा गरेर तिमीहरूले सत्र हजार नेपालीको हत्या किन ग¥यौ भनेर सोध्नोस्, उनीहरू ‘गणतन्त्र आयो नि’ भन्छन् । यदि परिणाम आफ्नो अनुकूल हुन्छ भने माओवादी जस्तोसुकै अपराध गर्न या जोसुकैसँग गठबन्धन गर्न तयार हुन्छ । ‘जनयुद्ध’कालमा देखाउनकै लागि र कागजमा मात्र सीमित भएको भए पनि ऊ वर्ग सङ्घर्षको कुरा गर्थ्यो । वि.सं. २०६० मा पारित गरेको एक दस्तावेजमा नेकपा (माओवादी)ले ‘वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृङ्खलाका रूपमा ‘प्रचण्डपथ’को आविस्कार भएको’ भनेको थियो । तर अहिले प्रचण्डपथको नूतन सुत्र ‘आलोपालो’ बनेको छ । विगत दुई महिनामा उसले दुई पटक गठबन्धन फेरिसक्यो र अहिले पुनः फेर्ने तयारीमा छ । यस्तै प्रवृत्तिलाई लक्ष्य गरेर लेनिनले बोल्शेभिक क्रान्तिपछि केही वृत्तमा देखिएको अवसरवादी ढर्रालाई ‘राजनीतिक वेश्यावृत्ति’को संज्ञा दिएका थिए ।
माओवादीले आफ्नो आतङ्कको ध्वजा उठाउँदा हिजो उसको प्रहारमा परेका ‘संसदवादी’ दल भनिएका नेपाली काङ्ग्रेस र एमाले किंकर्तव्यविमूढ भएर मौनधारण गरेका छन् । उनीहरूको मौनताले नै सबै कुरा बोलेको छ । परीक्षामा अनुतीर्ण भएर घर फर्किरहेको स्कूले विद्यार्थीको मार्कशीट अनुहारमा नै कोरिएको हुने हुनाले बाबुआमा उसलाई कुनै प्रश्न गर्दैनन् । माओवादीको राजनीतिक वेश्यावृत्तिका प्रमुख र नियमित ग्राहक भएकाले काङ्ग्रेस र एमालेले आफ्नो विचार मात्र होइन चरित्र, संस्कृति, मान र इमान सबै गुमाइसकेका छन् र, अहिलेजस्तै पहिला पनि पटक-पटक निर्वस्त्र अवस्थामा प्रदर्शित भइसकेका हुन् । तर निर्वाचनमा सर्वाधिक ठूला देखिएका दुवै दलले मौनता साँध्दा देशको समग्र राजनीतिमा नै एक गतिरोध उत्पन्न भएको छ ।
कम्प्युटर विज्ञानको भाषामा ‘गतिरोध’ त्यस्तो अवस्थालाई भनिन्छ जब सञ्चालन प्रणालीका हरेक इकाई अर्को इकाई कहिले चल्ला भनेर पर्खिरहन्छन् र परिणाम स्वरूप कुनै पनि इकाई चल्न सक्दैनन् । त्यसबेला कुनै एक इकाईलाई ‘ढालेर’ गतिरोध टुङ्ग्याइन्छ र प्रक्रिया सुचारु राखिन्छ । माओवादीले आतङ्कको हाँक दिएर आफ्नो दिशा प्रस्ट पारेको छ र, यसको सकारात्मक पक्ष के हो भने हाम्रो प्रणालीको वर्तमान गतिरोध अब धेरै कायम रहिरहन सक्दैन । अहिलेका तीन प्रमुख पात्रमध्ये एक ढल्नैपर्ने हुन्छ । देशको भावी राजनीतिक दिशा ढल्ने को हुनेछ भन्दा पनि माओवादीसँग सहवास कसले रोज्नेछ छ भन्नेमा निर्भर रहनेछ । जसले त्यो सहबास स्वीकार्नेछ त्यसलाई प्रणालीमा पुनः फर्कन निकै गाह्रो हुनेछ ।
प्रतिक्रिया