क्यानले रोक्यो गुण एयरलाइन्सको उडान, आर्थिकरूपमा सबल छौँ नभनेसम्म पुनः उडान नहुने !

क्यानले रोक्यो गुण एयरलाइन्सको उडान, आर्थिकरूपमा सबल छौँ नभनेसम्म पुनः उडान नहुने !


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको उनको भनाइ छ ।

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुनः उडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पारे । निर्णयअनुसार गुणका सातवटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

यसैबीच प्राधिकरणले थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ । प्रवक्ता निरौलाका अनुसार हवाई विभाग हुँदादेखि नै उक्त सेवा प्रदान गर्दै आएको थियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा गर्दै आएको छ ।

थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गर्थ्यो । कोभिड सुरुहुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो । अहिले थाई स्माइलले काठमाडौंमा उडान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।