शिवशिखर सहकारीविरुद्व आन्दोलनमा उत्रियो नेवि संघ

शिवशिखर सहकारीविरुद्व आन्दोलनमा उत्रियो नेवि संघ


  • डम्बर निदाल, डडेल्धुरा

शिवशिखर सहकारीविरुद्व नेपाल विद्यार्थी संघ (नेविसंघ) डडेल्धुरा आन्दोलनमा उत्रिएको छ । बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर सहकारीविरुद्व संघ आन्दोलनमा उत्रिएको हो ।

डडेल्धुराका जनताबाट ४० करोड बढी रकम संकलन गरी २ करोड मात्रै बजारमा लगानी गरेको शिवशिखर बहुउद्देश्य सहकारी संस्थाले अहिले आएर रकम फिर्ता गर्नै छोडेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो ।

नेपाल विद्यार्थी संघ डडेल्धुराले जिल्ला सदरमुकामस्थित बागबजारमा बुधबार हातहातमा प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा विद्यार्थी नेता जगत ऐरले समाजमा व्याप्त विकृतिविरुद्व नेपाल विद्यार्थी संघ सधै सक्रिय भएर लाग्दै आएको बताए ।

‘शिवशिखर सहकारीलाई जनताको लगानी सुरक्षित भएको ग्यारेन्टी गर्न यसअघि हामीले १५ दिनको अल्टिमेटम दिएका थियौँ, तर कुनै पक्षबाट सुनुवाइ नभएपछि अहिले हामी बाध्य भएर आन्दोलित भएका छौँ’- उनले भने । जनताबाट करोडौँ रकम संकलन गरेर फिर्ता नगर्ने शिवशिखर सहकारीविरुद्व कानूनअनुसार कारबाही गर्न स्थानीय प्रशासनलाई पनि उनले आग्रह गरेका छन् ।

यसैगरी नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले १५ दिनभित्र विश्वस्त आधारसहित जनताको रकम सुरक्षित भएको ग्यारेन्टी गर्न आग्रह गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएको तर त्यसलाई बेवास्ता गरिएको बताए ।

मजदुरी गरेर जम्मा गरेको रकम शिवशिखर सहकारीका कारण डुब्ने खतरा छ, तत्काल जनताको रकम सुरक्षित भएको ग्यारेन्टी नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने उनले बताए । डडेल्धुराका किसान, व्यापारी र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गरिरहेका नागरिकले आफ्नो बालबालिकाको भविष्यलाई मध्यनजर गर्दै जम्मा गरेको बचत रकम डुब्ने खतरा बढेपछि नेविसंघ डडेल्धुराले यसअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।