चार सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै

चार सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिँदै


सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका सदस्य सचिवसमेत रहेका कार्यालय प्रमुख केशवप्रसाद पौडेलले जानकारी दिएका छन् ।

समितिले स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ११, प्यासिफिक सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका आठ, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका दुई र कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तीन जनालाई बचत फिर्ता गरेको हो ।

स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभका बचतकर्ताको सबै बचत यसअघि नै फिर्ता गरिएको समितिले जनाएको छ । सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल कोअपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् ।

यसैगरी प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को-अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । यही व्यवस्थाअनुसार सबै सहकारीका बचतकर्ताको पैसा फिर्ता गरिने बताइएको छ ।