बैंकको चर्को ब्याजविरुद्ध व्यवसायी आन्दोलित, बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म

बैंकको चर्को ब्याजविरुद्ध व्यवसायी आन्दोलित, बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराका व्यवसायी बैंकको चर्को ब्याजविरुद्ध आन्दोलनमा उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका उद्योगी, व्यापारीहरूलाई डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्व रहेको छ ।

उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै मंगलबारदेखि चरणबद्ध आन्दोलन शुरु गरेकोे हो । डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले १६ गतेदेखि देखि १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने बताए ।

उनका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय गरिएको छ । साथै लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको बताइएको छ ।

मंगलबार डडेल्धुरा जिल्ला सदरमुकामको बागबजारबाट निकालिएको ¥याली बसपार्क हुँदै तुफानडाँडा बजार परिक्रमा गरी पुनः बागबजार पुगेर भीमदत्त चोकमा कोणसभा गरिएको थियो । कोणसभालाई डडेल्धुराका विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गरेका थिए । ¥यालीमा सहभागी भएका व्यवसायीहरूले बैंक हामीलाई प्यारो हो, चर्को ब्याजदर गारो भो, चर्को ब्याजदर खारेज गर, बैकिङ आतंक बन्द गर जस्ता लेखिएका प्लेकार्ड देखाइ शान्तिपुर्ण रुपमा प्रदर्शन गरेका थिए ।

चरणबद्ध आन्दोलनबाट पनि समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रमसहित अगाडि आउने बताइएको छ । यस्तै डडेल्धुराको शिवशिखर सहकारीले संकलन गरेको निक्षेप नियमअनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि माग गरिएको छ ।