माओवादी र काङ्ग्रेसबीच विशेष सहमतिसहित नयाँ समीकरण बन्ने भएपछि केपी ओलीले आफ्नो अनुकुल परिस्थिति निर्माण गर्न अन्तिमसम्म निकै कोसिस गरेका हुन् । विकल्पहरू कम हुँदै गएपछि केपीले अन्त्यमा माधवकुमार नेपाललाई आफ्नो पक्षमा ल्याउने र प्रचण्डलाई अप्ठ्यारो पार्ने प्रयासस्वरूप नेपाललाई राष्ट्रपति बन्न आग्रह गर्दै पार्टी एकीकरणको प्रस्ताव अघिसारेका थिए । केपीको यस्तो प्रस्तावप्रति माधव नेपाल र उनको पार्टीका अधिकाङ्श नेताहरूले सकारात्मक धारणा राख्दै खुशी पनि प्रकट गरेका थिए ।
केपीको प्रस्तावबाट अल्हादित भएका माधव नेपाल आफूलाई राष्ट्रपति स्वीकार गर्ने प्रस्ताव लिएर प्रचण्डसमक्ष पुगेका थिए । प्रचण्डले एकपटक काङ्ग्रेससँग पनि कुरा गर्न सुझाव दिएपछि माधव नेपाल दलबलसहित देउवासँग कुराकानी गर्न पुगेका थिए । देउवाले पुरानो गठबन्धन ब्युँताउन आवश्यक रहेको बताउँदै माधवलाई केपीको जालमा नपर्न सुझाव दिएको र, राष्ट्रपति काङ्ग्रेसले लिनुपर्ने अवस्था रहेकोबारे स्पष्ट पारिदिएका थिए । केपीले प्रस्ताव गरिदिएपछि प्रचण्ड र देउवाले आफूलाई स्वतः साथ दिने भ्रम माधवले पालेका थिए । जबकि केपीसँग छुट्टिनुपर्ने भएपछि प्रचण्डलाई टिक्नकै निम्ति पनि काङ्ग्रेसको साथ आवश्यक थियो । त्यसैले काङ्ग्रेसलाई राष्ट्रपति दिएर सरकारमा सहभागी गराउने मानसिकता प्रचण्डले धेरै पहिले नै बनाइसकेको जानकारी माधव नेपालले पाउन सकेका थिएनन् ।
समाजवादीका केही नेता, प्रचण्ड र देउवा समेतको चर्को दबाबपछि पनि माधव नेपाल सहमत हुन नसकेपछि उनलाई यही पाँच वर्षभित्रको एक वर्ष प्रधानमन्त्री बनाउने गरी उधारो आश्वासन दिएर केपीको क्याम्पमा जानबाट रोकिएको छ । यसरी हातमा आइसकेको अवसर गुमाउनु परेकोमा माधव नेपालले भने निकै विस्मात मानेका छन् । प्रचण्डलाई विभिन्न शक्तिकेन्द्रबाट पाँच वर्षसम्म प्रधानमन्त्री कायम राखिने आश्वासनका साथ केपीबाट अलग गरिएको बताइन्छ । तर प्रचण्ड, देउवा र माधवबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनेको जानकारी सम्बद्ध सूत्रहरूबाट प्राप्त भएको छ । जे होस्, माधवलाई रोकेर तत्कालका निम्ति केपीको रणनीतिक योजना असफल तुल्याउन प्रचण्ड, देउवा र अन्तर्राष्ट्रिय हितैषीहरू सफल भएको मानिएको छ ।
प्रतिक्रिया