नयाँ समीकरणको आधार बन्ने बित्तिकै सरकारमा सामेल हुने नयाँ पात्रहरूबारे चर्चा सुरु भएको छ । मन्त्रिमण्डलमा काङ्ग्रेसले अर्थ, परराष्ट्र, रक्षा र कानून जस्ता मन्त्रालयलाई प्राथमिकतामा राखेको बताइन्छ । यद्यपि उसले गृहमा पनि आँखा लगाएको छ । काङ्ग्रेसलाई बढीमा आठदेखि नौ वटासम्म मन्त्रालय मिल्नसक्ने बुझिएको छ ।
काङ्ग्रेसबाट मन्त्री बन्ने सम्भावित नेताहरूमा प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, डा. आरजु राणा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतको नाम चर्चामा आएको छ । डा. शेखर कोइराला र डा. शशाङ्क कोइराला आफै मन्त्री बन्न नचाहेको अवस्थामा तिनका कोटाबाट अन्य कसैलाई मन्त्री बनाइने बुझिन्छ । जसपाबाट राजकिशोर यादव र अशोक राईको नाम अगाडि आएको छ भने समाजवादीका राजेन्द्र पाण्डे, कृष्ण श्रेष्ठ र प्रेम आलेको नाम चर्चामा त आएको छ, तर यसपालि नयाँ अनुहारलाई मौका दिनुपर्ने दबाब माधव नेपालमाथि परेको छ ।
लोसपाबाट शरत सिंह भण्डारीको नाम चर्चामा अगाडि छ । त्यस्तै, नागरिक उन्मूक्ती पार्टीका अरुणकुमार चौधरी र रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको नाम चर्चामा छ । नयाँ परराष्ट्रमन्त्रीमा आरजु राणा र अर्थमन्त्रीमा डा. प्रकाशशरण महतको नाम विशेष रूपमा लिन थालिएको छ । पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीको हैसियतमा गृह या रक्षा मन्त्री बन्ने अवस्थाका निम्ति तयार रहेको बताइन्छ, तर अर्थ काङ्ग्रेसले लिएपछि गृहमा नारायणकाजी श्रेष्ठको चयन हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया