आफ्नो पार्टीका अध्यक्षलाई केपी शर्मा ओलीको इच्छाबमोजिम प्रचण्डले पुनः गृहमन्त्री नबनाइदिएपछि सरकार छोडेर बाहिरिएको स्वतन्त्र पार्टी यतिबेला निकै छटपटिएको सङ्केतहरू देखिएका छन् ।
केपी सर्वेसर्वा रहुन्जेल उनकै ओत लागेर आफ्नो अभीष्ट पूरा गर्न लागिपरेका रास्वपा टोली अचानक समीकरण बदलिने स्थिति आएपछि रनभुल्लमा प¥यो । चितवनको उपनिर्वाचनमा रास्वपा अध्यक्षलाई पुनः उम्मेदवार बनाउने र एमालेले समेत उनैलाई सघाउने समझदारी उच्च तहमा बनेको थियो । तर अब नयाँ समीकरणले रास्वपालाई महत्व दिने सम्भावना ज्यादै न्यून छ ।
दोहोरो राहदानी लिएर कानूनविपरीतको अपराध गरेकोमा मुद्दा चल्नबाट केपीले रोक्न सबै प्रयास गरेका थिए, अब रास्वपा आफ्नै अध्यक्षको संरक्षण कसरी गर्ने भन्ने सवाललाई लिएर चिन्ता गर्नुपर्ने ठाउँमा आइपुगेको छ । त्यसैले उक्त पार्टी प्रचण्ड र देउवासँग कुरा मिलाएर आफ्नो भविष्य सूरक्षित तुल्याउने प्रयासमा लागेको छ ।
फागुन १३ गते नयाँ गठबन्धनले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएलगत्तै रास्वपा अध्यक्षले माओवादी र काङ्ग्रेसका नेताहरूलाई टेलिफोन सम्पर्क गरी ‘आफूहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको’ जानकारी गराउँदै ‘के गर्नुपर्छ भन्नुहोस् हामी गर्नेछौँ’ भनी नमागिएको प्रतिबद्धता जाहेर गरेका थिए । तर काङ्ग्रेस र माओवादीभित्रको एउटा ठूलो हिस्सा रास्वपालाई कुनैपनि प्रकारले स्पेस दिन नहुने पक्षमा रहेको पाइएको छ ।
समीकरण बदलिएछि सबैभन्दा ठूलो क्षति ब्यहोर्नेमा रास्वपा परेको छ भने त्यसपछि क्षति ब्यहोर्नेमा राप्रपा रहेको छ । एमाले एउटा सङ्गठित र सशक्त पार्टी भएकोले उसलाई खासै असर नगर्ने देखिएको छ ।
प्रतिक्रिया