पाहुना पर्खंदै बेनीका होटल

पाहुना पर्खंदै बेनीका होटल


photo: rss

  • सन्तोष गौतम, म्याग्दी

बेनीको बजार
जता माया उतै छ नजर
किरमिरे जाली रुमाल ।

टीकाबहादुर श्रेष्ठ र मन छन्त्यालले विसं २०३१ मै गाएको यो गीतजस्तै सुन्दर छ अहिले पनि बेनी बजार । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनी जति राम्रो छ, यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै छ । यो सुन्दर ठाउँमा रमाउन आउने बस्न केहीअघिसम्म त्यति राम्रो प्रबन्ध नभए पनि अहिले भने प्रसस्त मात्रामा होटल खुलेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा म्याग्दीका व्यवसायी प्रमोद श्रेष्ठले जिल्ला भ्रमणमा आउने आफ्ना साथीहरुलाई सुविधायुक्त होटलमा राख्न नपाएकामा सधैँ गुनासो सुन्नुपर्दथ्योे । विश्वका प्रमुख गन्तव्यमध्येको एक मुस्ताङ जानका लागि आउने हुन् या बेनीकै लागि आउने बस्न केही अघिसम्म होटलको राम्रो प्रबन्ध थिएन ।

बेनी बजारबाट करिब आठ किलोमिटरको पर छ सिंगा तातोपानी । यहाँ औषद्योपचारका लागि तातोपानी कुण्डमा डुब्न विभिन्न जिल्लाबाट आउने व्यवसायीले बस्ने ठाउँ नहुँदा आफूलाई गुनासो गर्ने गरेको उहाँ सुनाउनुहुन्छ । “उपचारका लागि आउनेले सुविधा सम्पन्न होटलमा बसोबासको व्यवस्था मिलाइदिन आग्रह गर्ने गर्दथे तर त्यसका लागि नजिकै गतिलो होटल थिएन । साथीहरुको अनुरोधलाई नकार्न पनि नसक्ने अनि व्यवस्थापन गर्न पनि गाह्रो हुने अवस्था भएपछि निकै अप्ठ्यारो महसुस हुन्थ्यो । पछि आफैँले तातोपानी नजिकै होटल खोलेँ”, श्रेष्ठले भन्नुभयो । अहिले तातोपानी कुण्ड नजिकै होटल श्रेष्ठ हटस्पिरिङ सञ्चालनमा आएको छ ।

रु १५ करोड लागतमा खुलेको यस होटलमा ३६ वटा स्टाण्डर, डिलक्स, सेमिसुइट र सुइट श्रेणीका कोठा उपलब्ध छन् । तातोपानी कुण्डमा उपचारका लागि अनुसन्धानका लागि पनि स्वदेश र विदेशबाट मानिस आउने गरेका र उनीहरुको सेवाका लागि आफूहरु रहेको सो होटलका प्रबन्ध निर्देशक प्रतिश श्रेष्ठ बताउनुहुन्छ ।

“म्याग्दी र यस कुण्डमा आउने र स्तरीय सुविधा चाहने पाहुनालाई लक्षित गरेर होटल खोलेको हो”, उहाँले भन्नुभयो, “अहिले पर्यटक आगमनको याम नभएर त्यति धेरै पर्यटक छैनन् तर वैशाखका लागि राम्रो बुकिङ भएको छ । कोरोनाका कारण तीन चार वर्षदेखि हिँडडुल गर्न नपाएका स्वदेशी र विदेशी पाहुनाको आगमन अब वैशाखदेखि बढ्ने अपेक्षा गरेका छौँ ।”

संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले पनि रु २० करोड लगानीमा अर्को होटल ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा ल्याउनुभएको छ । दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने स्वदेशी तथा भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी बेनी नगरपालिका-९ मा पर्ने गलेश्वरमा करिब रु पाँच करोड लगानीमा होटल मदरल्याण्ड इन सञ्चालन भएको छ । होटलका सञ्चालक होटल व्यवसायी टङ्कलाल श्रेष्ठले भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी ठूलो र सुविधायुक्त होटल सञ्चालन गरेको बताउनुभयो ।

बेनीको लामा होटलका सञ्चालक राजन लामाले क्षमता विस्तारका लागि नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका अनुसार जिल्लाभर पाँच सयभन्दा बढी होटल तथा रेष्टुराँमा रु दुई अर्ब बढीको लगानी छ ।

हिमाल आरोहण, पदयात्रा, तातोपानी कुण्ड स्नान, ग्रामीण संस्कृति, रहनसहन, धार्मिक, ऐतिहासिक, प्राकृतिकस्थल र पहाडी भूगोलको दृष्य अवलोकनका लागि म्याग्दीमा पर्यटक आउने गर्दछन् । म्याग्दी नदीको असला माछा, स्थानीय जातको सिमीको दाल, च्याउ र टुसा, आलुको परिकार, टिम्मुरको चटनी बेनीका होटल र रेष्टुराँमा स्वाद लिन सकिन्छ ।

धौलागिरि, अन्नपूर्ण, गुर्जालगायत हिमशृङ्खला आरोहण, ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण धौलागिरि पर्यावरणीय, धौलागिरि र अन्नपूर्ण चक्रीय पदयात्रामा आउने पर्यटक, मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीको लागि पनि बेनी प्रवेशद्वार हो ।

विसं २०६४ मा बेनी–जोमसोम सडकको मार्ग खुलेसँगै मुस्ताङ र मुक्तिनाथ जाने आउने पर्यटक तथा तीर्थयात्रीले बेनीमा बास नपाउने अवस्था थियो । केही वर्ष पहिले असोज, कात्तिक, चैत र वैशाखमा आउने पाहुनाले बास नपाउने समस्या थियो । होटलले क्षमता बढाएपछि र नयाँ होटल खुलेपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात कटाउनुपर्ने समस्या हटेको म्याग्दी होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष बाबुराम आचार्यले बताउनुभयो ।

“हामीकहाँ दुई ५० होटल तथा रेष्टुराँ व्यवसायी आबद्ध हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तातोपानी, बेनी र गलेश्वरका सुविधायुक्त होटलमा दैनिक एक हजार जना पाहुना राख्न सकिन्छ ।” वैदेशिक रोजगारीबाट फर्केपछि १५ वर्षदेखि बेनीमा होटल सञ्चालन गरिरहेका आचार्यले गलेश्वरमा स्थानान्तरणका लागि भवन निर्माण गरिरहनुभएको छ ।

प्रशासनिक, बैंकिङ र व्यापारिक कामले गाउँबाट सदरमुकाम पुग्ने देश सङ्घीयतामा प्रवेश गरेपछि र ठाउँ ठाउँमा सडक विस्तार भएपछि घटेका छन् । अहिले बेनीका होटल धानिने मुख्य आधार पछिल्लो समय देशका विभिन्न स्थानबाट म्याग्दी र मुस्ताङ घुम्न आउने पाहुना बन्न थालेका छन् ।

सङ्घसंस्था, सहकारी, धार्मिक समूह, विद्यालय, कलेजबाट समूह बनाएर घुम्न आउनेको सङ्ख्या बढ्दो छ । यसअघिका तीन वर्ष कोरोना भाइरसको महामारी र बन्दाबन्दीले थलिएको पर्यटन व्यवसाय लयमा फर्कन थालेको होटल व्यवसायी सङ्घ म्याग्दीका सचिव सरोज थापाले बताउनुभयो ।

उहाँका अनुसार कोरोनाका कारण पर्यटक आगमन नभएको यसअघिका वर्षलाई म्याग्दीका व्यवसायीले होटलको क्षमता विस्तार र व्यवस्थापनमा उपभोग गरेका छन् । पुराना होटलले सुविधा र क्षमता विस्तारका साथै केही नयाँ सुविधासम्पन्न होटल यही अवधिमा खुलेका छन् । पछिल्लो तीन वर्षमा म्याग्दीको होटलमा रु एक अरबको हाराहारीमा लगानी थपिएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण बेनी विश्वका प्रमुख गन्तव्यस्थलमध्यको एक मुस्ताङ जाने प्रवेशद्वार पनि हो । बेनी विसं १६३१ देखि १८४३ सम्म तत्कालीन बाइसे चौबिसे राज्यअन्तर्गत तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी थियो । दुई सय वर्षसम्म हिउँदको चार महिना बेनी र आठ महिना ढोलथान दरबारबाट राज्य सञ्चालन हुने गरेको इतिहास भेटिन्छ ।