मेडिकल व्यवसायी दुर्गा प्रसाईंंले घोषणा गरेको आन्दोलन काठमाडौंमा सम्पन्न भएको छ । तर, राजतन्त्र पुनःस्थापनाको समेत माग गर्दै देशब्यापी प्रदर्शन गरिरहेका प्रसाईंले राजा ज्ञानेन्द्र शाह बानेश्वरमा उपस्थित नभएपछि ‘राजतन्त्र जिन्दावाद’को नारा नलगाउन आग्रह गरे ।
उनका समर्थकहरुले ‘राजा आऊ, देश बचाउ’ भन्दै गरिरहेको नाराबाजी रोक्दै बानेश्वरमा आयोजित प्रदर्शनबाट प्रसाईंले सो नारा लगाउन रोक लगाएका हुन् ।
राजतन्त्रको पुनःस्थापना चाहने हो पूर्वराजा शाह र उनका परिवारका सदस्यहरू पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्दै उनले नाराबाजीमा रोक लगाएका हुन् ।
‘राजतन्त्र चाहिनका लागि त उहाँहरू पनि आन्दोलनमा आउनु पर्यो नि, हामीसँगै आउनुपर्यो, भिड्नुपर्यो, हामीलाई साथ दिनुपर्यो । राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं । म राजा देखाएर सांसद बनेर जान्न’, आक्रोशित भावमा प्रसाईंले भने ।
हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर प्रसाईंले आन्दोलन सुरु गरेका हुन् ।
राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आइपुगेको हो
माओवादी छाडेर एमाले प्रवेश गरेका प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी आफ्नै अलग अभियानमा सक्रिय छन् ।
प्रतिक्रिया