फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा विजयी बन्न माओवादी नेतृत्वको गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल र एमालेका उम्मेदवार सुवास नेम्वाङबीच चर्को दौडधुप भयो ।
कुल मतभार ५२५४९ मध्ये विजयी बन्न २६२७५ मत आवश्यक पर्ने हुन्छ । विद्यमान सत्ता गठबन्धनको कुल मतभार करिव बत्तीस हजार देखिन्छ । काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको मात्र मतभार गणना गर्दा पनि २८२०३ हुन आउँछ । काङ्ग्रेसको १५९४८, माओवादीको ७७२८, एकीकृत समाजवादीको २२८६ र जसपाको २२४१ गरी चार दलको मात्रै २८२०३ मत हुने देखिन्छ ।
यस आधारमा हेर्दा रामचन्द्र पौडेल राष्ट्रपति पदमा विजयी बन्ने पहिले नै निश्चित भइसकेको हो । तथापि नेम्वाङले जित्ने आशा मारेनन् । उनले जनजाति र मधेशी समुदायका सबै मतदाताले पौडेललाई मतदान नगरेर आफूलाई मत दिने विश्वास गरेका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुल मतदाता ८८१ रहेका छन् । राष्ट्रियसभाका ५८, प्रतिनिधिसभाका २७३ र प्रदेश सभाका ५५० मतदाताले मतदानमा भाग लिनेछन् ।
प्रतिक्रिया