एक्लिए केपी, एमालेविरुद्ध कस्सिँदै मोर्चाबन्दी

एक्लिए केपी, एमालेविरुद्ध कस्सिँदै मोर्चाबन्दी


राष्ट्रपतिको निर्वाचन प्रक्रिया प्रारम्भ भएसँगै सत्ता समीकरण बदलिएपछि नेकपा एमाले र केपी शर्मा ओलीलाई एक्ल्याउने प्रयास द्रुत गतिमा भएको छ । फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनुअगाडि पनि केपीको पक्षमा स्वयं प्रधानमन्त्रीको दल नरहेको ठानिन्थ्यो र, केपीलाई राप्रपा र रास्वपाले मात्र साथ दिएको महसूस गरिन्थ्यो । अहिले राप्रपाभित्र अन्तरविरोध चर्किएको छ, पार्टी अध्यक्षले मात्र चाहेर केपीको पक्षमा निर्णय हुने स्थिति देखिएको छैन । जबर्जस्ती गरे राप्रपा अन्ततः विभाजनसम्म हुनसक्ने सम्भावना बढेको छ । त्यसो त राप्रपा विभाजन नभएको वर्ष दिन नाघिसकेकोले त्यसैपनि उक्त पार्टीमा विवाद र विग्रह सुरु हुने बेला भइसकेको हो, तर यसपटकको विवाद केपीतिर लाग्ने कि प्रचण्डतिर भन्ने स्तरमा सीमित रहेको देखिएको छ ।

उता रास्वपा जसरी भएपनि प्रचण्ड र देउवालाई रिझाएर सरकारमा पुग्ने आत्मरक्षत्मक कसरतमा लागेको छ । हिजो केपी बलवान् हुँदा लपक्कै केपीको पक्षमा उभिएको रास्वपा अहिले प्रचण्ड र देउवाको निगाह पाउन दिलोज्यानले लागिपरेको छ । राष्ट्रपतिको चुनावपश्चात् आफूहरूलाई सत्तामा सामेल गर्ने वचनबद्धता आए रामचन्द्र पौडेललाई मतदान गर्न उनीहरू तयार भएको पाइएको छ । तर सत्ता-गठबन्धनभित्रका अधिकाङ्श नेताहरू रास्वपाको भोट लिएपनि त्यसलाई सरकारमा सामेल नगराउने पक्षमा देखिएका छन् । केपी ओली प्रधानमन्त्री रहँदा उनलाई एक्ल्याउन जुन स्तरको प्रयास भएको थियो अहिले पनि सोही स्तरमा केपीविरूद्धको मोर्चावन्दी सुरु भएको छ । राप्रपा र रास्वपालाई समेत केपीकै कित्तामा पुर्‍याएर त्यसलाई प्रतिगामी करार दिने र, एउटा उद्वेलनको स्थिति पैदा गर्ने योजनाबद्ध प्रयासमा सतापक्ष जुटेको छ ।

सत्ताबाहिर रहेका केपीको पक्षमा अन्तर्राष्ट्रिय शक्तिहरू पनि नदेखिएकोले नेपाली राजनीतिमा गहिरो अन्तरविरोध र अन्तरसङ्घर्षको स्थिति उत्पन्न हुनसक्ने सङ्केतहरू देखिएका छन् । केपीले राष्ट्रपतिको आफ्नो उम्मेदवार सुवास नेम्वाङका पक्षमा जनजाति र मधेशी समुदायका मतदाता जुटाउने प्रयास त गरिरहेका छन्, तर उक्त प्रयासले परिणामदायी अन्तर पैदा गर्ने स्थिति बनाउन सकेन । रामचन्द्रलाई विजयी गराउन सबै प्रकारको शक्ति एकजुट भएकोले केपीलाई यो प्रकरणमा सफलता नमिल्ने स्पष्ट भइसकेको छ ।

यसबीचमा माओवादीलाई धोखा हुन्छ भन्दै काङ्ग्रेससँग तर्साउने र काङ्ग्रेसलाई सरकारको नेतृत्व दिने भन्दै फकाउने कुटिल प्रयास पनि केपीले नगरेका होइनन्, तर उनका यस्ता प्रयासले पनि कुनै परिणाम ल्याउन सकेन । त्यसैले केपीलाई एक्ल्याउन भइरहेको चौतर्फी प्रयास अहिलेलाई सफल देखिएको छ, तर यसले नेपाली राजनीतिको अन्तरविरोधलाई थप गहिरो तुल्याउँदै बाह्य हस्तक्षेपलाई अझै फराकिलो बनाउने सम्भावना भने बढाएको छ ।