राष्ट्रपति पदको टुङ्गो लागेपनि उपराष्ट्रपति को बन्ने भन्ने कुराको टुङ्गो लाग्न अझै केही दिन प्रतीक्षा गर्नुपर्ने छ । सत्ता गठबन्धनले उपराष्ट्रपतिको जिम्मेवारी जनता समाजवादी पार्टीलाई दिने निर्णय गरिसकेको हुँदा जो बने पनि जसपाकै मानिस उपराष्ट्रपति बन्ने निश्चित मानिएको छ ।
प्रमुख विपक्षी बन्दै गरेको एमालेले पनि कुनै मधेशी या महिलालाई उम्मेदवार बनाउने गृहकार्य गरिरहेको बुझिएको छ । उपयुक्त ब्यक्ति उम्मेदवार बनाइएमा एमालेले नै उपराष्ट्रपति पदमा बाजी मार्ने सम्भावना पनि नरहेको होइन । तर त्यसको गहिरो असर सत्ता गठबन्धनमा पर्ने भएकोले इमान्दारीपूर्वक जसपाको पक्षमा मतदान हुने विश्वास गरिएको छ ।
जसपाका मुख्य नेता उपेन्द्र यादव आफू पुनः संसदीय निर्वाचन लडेर संसद्मा उपस्थित हुन चाहन्छन् । त्यसनिम्ति बाराबाट विजयी सांसद राम सहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर रिक्त स्थानमा यादवले चुनाव लड्ने तयारी भइरहेको बुझिन्छ । तर उपेन्द्र यादव आफै उपराष्ट्रपतिको उम्मेदवार बने भनेपनि कुनै आश्चर्य हुनेछैन । यादवमाथि गौर हत्याकाण्डको विषयलाई लिएर मानवअधिकार आयोगले कारवाहीका निम्ति सिफारिस गरेको छ र कुनै पनि बेला उनिमाथि उक्त मुद्दा लाग्ने सम्भावना देखिन्छ । त्यस मुद्दाबाट जोगिने एकमात्र उपाय भनेको उपराष्ट्रपति बन्नु हो ।
ज्ञातब्य छ, नेपालका राष्ट्रपति र उपराष्ट्रपतिमाथि यस किसिमका कुनै मुद्दा नलाग्ने वैधानिक व्यबस्था छ । अर्कोतिर उपेन्द्र यादव जति तन्किए पनि उनी प्रधानमन्त्री बन्न सम्भव देखिन्न । तर उपराष्ट्रपति प्रधानमन्त्रीभन्दा माथिको पद भएकोले उपेन्द्रले यो अवसरको फाइदा लिने सम्भावना छ ।
अर्कोतर्फ उपेन्द्रले गत निर्वाचनमा आफूलाई सीकेले होइन विदेशीले पराजित गराएको टिप्पणी गर्दै आएका छन् । यदि उनलाई विदेशीले नै पराजित गराएको हो भने सम्भावित उपनिर्वाचनमा पनि उनलाई विदेशीले जित्न देलान् भन्न सकिन्न र, यही कुरालाई दृष्टिगत गरेर उपेन्द्र आफै उपराष्ट्रपति बन्न अग्रसर भए भने कुनै आश्चर्य हुनेछैन । त्यसैले बाहिरी चर्चा राम सहायको भएपनि उपेन्द्र यादव आफै उपराष्ट्रपति बन्न अग्रसर हुने सम्भावनालाई इन्कार गर्न नसकिने स्थिति छ ।
प्रतिक्रिया