राष्ट्रपतिको निर्वाचन आज बिहान १० बजेदेखि, साँझ ७ भित्र परिणाम घोषणा हुने

राष्ट्रपतिको निर्वाचन आज बिहान १० बजेदेखि, साँझ ७ भित्र परिणाम घोषणा हुने


राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।

संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

‘बिहान १० बजेदेखि मतदान सुरु हुनेछ र ३ बजेभित्र मतदान सम्पन्न हुनेछ,’ निर्वाचन अधिकृत महेशराज पौडलले भने, ‘मतदानका लागि ३ बजेभित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजेपछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।’

आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपतिको निर्वाचनको परिणाम आजै सार्वजनिक हुनेछ । निर्वाचन आयोगका निर्वाचन अधिकृत पौडेलका अनुसार आजै साँझ ७ बजेभित्र निर्वाचन परिणाम घोषणा हुनेछ ।

वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र नै मतगणना हुने र सोही स्थानबाट मत परिणाम सार्वजनिक हुने उनको भनाइ छ ।

राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । विगतमा जस्तै मुलुकका प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीचको प्रतिस्पर्धालाई महत्वकासाथ हेरिएको छ ।