मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल

मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन हुनेछ : पौडेल


पौडेल र नेम्बाङले एकै ठाउँमा उभिएर एकअर्कालाई दिए शुभकामना

photo: rss

राष्ट्रपति पदका लागि उम्मेदवार रामचन्द्र पौडेल (नेपाली कांग्रेस)ले आफ्नो राजनीतिक सङ्घर्षको सही मूल्याङ्कन गर्दै मतदाताले निर्वाचित गराउने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा राष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरेका हुन् ।

नेता पौडेलले भने, ‘सङ्घीय तथा प्रदेशसभाका सदस्यले मलाई मत दिनुहुने पूर्ण विश्वास छ । उहाँहरुले मेरो लामो सङ्घर्षको सही मूल्याङ्कन गर्नुहुने विश्वास छ ।’

यसअघि, राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले विजयका लागि एक अर्कालाई शुभकामना दिए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा सहभागी हुन पुगेका पौडेल र नेम्वाङले एकै ठाउँमा उभिएर लोकतन्त्र र संविधान निमार्णका लागि एकअर्काले गरेको योगदानको प्रशंशा गर्दै विजयका लागि शुभकामना दिएका हुन् ।

‘लोकतन्त्रका लागि र ब्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भुमिका छैन्,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन् ।

उता नेम्वाङले पनि पौडेलको छेउमा नै उभिएर भने, ‘वास्तवमा लामो समयदेखि हामी सँगै छौँ, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्वपुर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौँ, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंकगणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’

लोकतान्त्रिक प्रक्रियामा पौडेल निरन्तर योगदान गरेको उल्लेख गर्दै नेम्वाङले थप भने, ‘यो पटक म निश्चिन्त ढुक्क छु कि एकातिर म छु र एकातिर उहाँ हुनुहुन्छ, मलाई लाग्छ- जसले जिते पनि संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनिको शासनको पक्षमा नै सिंगो देशलाई एकताबद्ध बनाएर लैजाने सवालमा, मधेसदेखि हिमालसम्म एकता बनाएर लाने काम हुनेछ ।’

लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु अचम्म मान्न नहुने नेम्वाङले बताए ।