आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (फागुन २७) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।
निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता, दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने, दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम बनाएको छ ।
यस्तै, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।
उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ ।
उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
प्रतिक्रिया