एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने


उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेका उपमहासचिव युवराज ज्ञवालीले दिएको जानकारीअनुसार शाक्यलाई सर्वसम्मत रूपले उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेपालको पहिलो महिला मुख्यमन्त्रीको परिचय बनाएकी शाक्य नेपाली महिला आन्दोलनमा लामो समय सक्रिय रहेकी राजनीतिकर्मी हुन् ।

देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने बताइएको छ ।