जसपाका उपराष्ट्रपति उम्मेदवार प्रमिला कुमारीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन् । पार्टीका अर्का उम्मेदवार रामसहाय प्रसाद यादवका लागि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् ।
उम्मेदवारी फिर्ता लिँदै प्रमिलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ-
२०७९ साल चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि मैले २०७९ साल फागुन २७ गते आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएकी हुँ ।
गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुभएका पूर्वमन्त्री जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य माननीय रामसहाय प्रसाद यादव नेपालको निरङ्कुश शासन प्रणालीकाविरुद्ध लोकतन्त्र स्थापनका लागि त्याग र संघर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ ।
वहाँ राजनीतिक, आर्थिक र सामाजिक-साँस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्षसँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनविद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक-पटक भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको सर्बविदितै छ । मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधिनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादप्रति निष्ठापूर्वक संधै समर्पित रहने सालीन स्वभावका, सादा जीवन, निष्कलंक एवम् स्वच्छ छवी र उच्च विचार भएका एक बौद्धिक एवम् परिपक्व नेता माननीय रामसहाय प्रसाद यादव, उपराष्ट्रपति जस्तो गरिमामय पदका लागि सबै भन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ । प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।
अब उपरान्त म उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।
प्रतिक्रिया