काङ्ग्रेसको बेग्लै भागबण्डा
विश्वासको मत लिएलगत्तै मन्त्रिमण्डलको पुनर्गठन हुने माओवादीसम्बद्ध सूत्रले जनाएको छ । नेकपा एमाले र उसका सेटलाइट पार्टी भनिने राप्रपा र रास्वपाले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पुनः लिनुपर्ने अवस्था सिर्जना भएको हो ।
यसबीचमा एमाले नेतृत्वले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर प्रचण्डलाई किनारा लगाउने प्रयास पनि नगरेको होइन, तर गत पौषमा नै ओलीबाट धोखा महसूस गरेका देउवा तत्काल प्रचण्डलाई किनारा लगाएर आफू प्रधानमन्त्री बन्न तयार भएनन् । यसरी तत्कालका निम्ति एमालेको सपना-योजना तुहिएको छ । त्यसैले काङ्ग्रेस, माओवादी, समाजवादी र जसपा आदि सम्मिलित पुरानो गठबन्धनको नयाँ सरकार बन्ने निश्चित भएको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनअगाडि पुनर्गठन गर्दा असन्तुष्ट ब्यक्तिहरूले अर्को पक्षलाई मतदान गर्नसक्ने भएकोले पुनर्गठनमा ढिलाइ भएको हो । उक्त निर्वाचनअगाडि पुनर्गठन गर्दा त्यसको असर उपराष्ट्रपति निर्वाचनको परिणाममा पर्न सक्ने निष्कर्ष गठबन्धनका नेताहरूले गरेका थिए । अब विश्वासको मत लिएपछि मात्र पुनर्गठन गर्नु नैतिक रूपले उपयुक्त हुने ठानिएको छ ।
मन्त्रिमण्डलमा काङ्ग्रेसले बढीमा नौ, माओवादीले प्रधानमन्त्रीसहित बढीमा सात, जसपाले तीन, एकीकृत समाजवादीले तीन, लोसपाले एक, उन्मूक्तिले एक र जनमतले एक मन्त्रालय पाउने गरि भागबण्डा हुनसक्ने देखिएको छ । रास्वपा र राप्रपाले पनि सरकारमा छिर्ने उपाय खोजिरहेका छन्, तर उनिहरूलाई समेत समेट्दा मन्त्रालय भागबण्डामा ‘मर्का’ पर्ने भएकोले उल्लिखित दुवै समूहलाई सरकारमा सामेल गराउन नहुने धारणा गठबन्धनका अधिकाङ्श नेताहरूले बनाएको बुझिन्छ । यसअघि एमालेसँगको गठबन्धनमा माओवादीले गृह, अर्थ, परराष्ट्र, कानून र रक्षा जस्ता रणनीतिक महत्वको कुनै पनि मन्त्रालय पाउन सकेको थिएन । अब माओवादीले गृह र अर्थमध्ये एक मन्त्रालय पाउने निश्चित मानिएको छ । काङ्ग्रेस पार्टीले नौ मन्त्रालयमा दाबी गरेको भएपनि उसलाई अर्थ र रक्षासहित आठ मन्त्रालयमा चित्त बुझाउन प्रधानमन्त्रीको आग्रह हुने बुझिएको छ ।
गृह माओवादीले पाएको अवस्थामा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त मन्त्रालय मिल्नसक्ने सम्बद्ध सूत्रहरूको भनाइ छ । यद्यपि माओवादीकै केहीले अन्य नेतालाई समेत गृह मन्त्रालय लिन उचालिरहेको बताइन्छ । कानून मन्त्रालय लिन एकीकृत समाजवादीले विशेष अभिरुचि लिएको छ भने जसपाका नेताहरूको ध्यान शहरी विकाश र भौतिक योजना मन्त्रालयतिर गएको छ । तर भौतिक र शहरी विकाश एउटै पार्टीलाई मिल्ने सम्भावना देखिएको छैन ।
काङ्ग्रेसको बेग्लै भागबण्डा
मन्त्रिमण्डलमा दलहरूबीच मात्र नभइ दलभित्रका उपसमूहहरू बीच पनि भागबण्डा हुने देखिएको छ । खासगरी काङ्ग्रेसभित्र विभिन्न ‘उपदल’ खडा भएकोले उनिहरूबीच छुट्टै भागबण्डा हुने स्थिति निर्माण भएको हो । रामचन्द्र पौडेलको ब्यवस्थापन भएकोले पौडेलको भाग नलाग्ने, तर डा. शेखर कोइरालाको भाग लाग्ने अवस्था उत्पन्न भएको छ । काङ्ग्रेसले नौ मन्त्रालय पाउँदा शेखरले चार मन्त्रालय दाबी गर्ने स्थिति छ । तर डा. शशाङ्क कोइरालालाई समेत भाग दिनुपर्ने भएकोले शेखरलाई जम्मा दुईवटा मात्र मन्त्रालय मिल्नसक्ने अवस्था छ । आफूलाई मिल्ने दुईमा शेखरले डिकबहादुर लिम्बू, रामनाथ अधिकारी, चन्द्र भण्डारी र सुनिल शर्मा मध्येबाट चयन गर्नसक्ने विश्वास गरिएको छ । भागबण्डामा प्रकाशमान सिंहको पनि कम्तिमा दुई मन्त्रालय पाउनुपर्ने दाबी छ । उपप्रधानमन्त्रीको हैसियतसहित गृह दाबी गर्नेमा प्रकाशमानको समेत नाम रहेको छ ।
डा. शशाङ्कको कोटामा मन्त्री बन्न कोइराला क्याम्पका एकथरी ब्यक्तिहरू आपसमै प्रतिष्पर्धा गर्दैछन् । दीपक गिरीले शशाङ्कको कोटामा पर्न विशेष प्रयास गरिरहेको बुझिन्छ । त्यस्तै एउटा कोटा कृष्ण सिटौलालाई पनि उपलब्ध गराउने सोच देउवाले बनाएको बुझिन्छ । विमलेन्द्र निधिले कोटा दाबी गर्ने हैसियत गुमाएको भएपनि मधेसी समुदायका कम्तिमा एक जनालाई मन्त्री बनाइने बुझिएको छ । परराष्ट्र मन्त्रालय लिन देउवा स्वयम्ले डा. शेखर कोइरालालाई आग्रह गरिरहेको बताइन्छ । तर कोइराला अनिच्छुक रहेको सम्बद्ध सूत्रहरूले जनाएका छन् । शेखरले परराष्ट्र नलिएमा आरजु राणालाई उक्त मन्त्रालयको जिम्मा लगाउन प्रचण्ड र देउवा दुवै तयार भएका छन् ।
त्यसैगरी अर्थमन्त्रीमा डा. प्रकाश शरण महत नै देउवाको रोजाइमा परेका छन् । तथापि, उपप्रधानमन्त्रीसहितको हैसियतमा उक्त मन्त्रालयको जिम्मेवारी लिन ज्ञानेन्द्रबहादुर कार्कीसमेत तयार रहेको बुझिन्छ । कार्कीलाई रक्षामन्त्री बनाइन सक्ने देउवा निकटको एक सूत्रले जनाएको छ । जसपाका अशोक राई र राजकिशोर यादव मन्त्री बन्ने सम्भावितहरूको लाइनमा छन् । त्यसबाहेक उपेन्द्र यादवले विशेष रुचाएको अर्का एकलाई समेत मन्त्री बनाइने बताइन्छ । तर उपराष्ट्रपति दाबी गर्ने प्रमिला यादवलाई मन्त्री बनाउने शर्तमा उम्मेदवारी फिर्ता लिन लगाएको बुझिएको छ ।
प्रतिक्रिया