बालुवाटारमा बसेको सत्तारुढ दश दलीय बैठक निश्कर्षविहीन

बालुवाटारमा बसेको सत्तारुढ दश दलीय बैठक निश्कर्षविहीन


नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत सत्तारुढ दश दलको बालुवाटारमा बसेको बैठक निश्कर्षविहीन टुंगिएको छ । उपराष्ट्रपतिको निर्वाचन र मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवासमा बुधबार साँझ बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि बिहीबार पुनः बस्नेगरी टुंग्याएको हो ।

प्रधानमन्त्री प्रचण्डको सचिवालय सुत्रका अनुसार बैठकमा मूलतः यही चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावको विषयमा छलफल चलेको थियो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत दश दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीन जना उम्मेदवार छन् ।

बुधबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।