बढ्यो डिडिसीको दूधको मुल्य, उपभोक्तालाई अब ९० देखि १३० रुपैयाँसम्म

बढ्यो डिडिसीको दूधको मुल्य, उपभोक्तालाई अब ९० देखि १३० रुपैयाँसम्म


सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ ।

संस्थानले बिहीबारदेखि लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मुल्यमा ११ देखि १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाइसकेका छन् ।

‘मन्त्रिपरिषदले निर्णय अनुसार वृद्धि भएको मुल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने बिहीबार (आज)बाट उपभोक्ताले नयाँ मुल्यअनुसारको दुध पाउनेछन् ’, डीडीसीका महाप्रबन्धक सन्जिव झाले भनेका छन् ।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेट)को मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दुधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैयाँ बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।