‘पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ/भाउजु/साला/भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’
नेपाली कांग्रेसभित्र आशलाग्दा युवाको रुपमा चिनिँदै आएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेका छन् । कुनैबेला पार्टीसभापति शेरबहादुर देउवाको रोजाइमा परेका डा. वाग्लेलाई पछिल्लो चरणमा देउवा र श्रीमती आरजु देउवा रणाले उपेक्षा गर्दै आएका थिए । आफ्नो नशा नशामा कांग्रेसी रगत बगेको अभिव्यक्ति दिँदै आएका डा. वाग्लेले शीर्ष नेतृत्वको उपेक्षा तथा पेलाइ खप्न नसकी अन्तत पार्टी परित्यागको घोषणा गरेका हुन् ।
बिहीबार औपचारिक रुपमा कांग्रेस छोडेको जानकारी दिँदै उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्- ‘२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।’
उनले अगाडि भनेका छन्- ‘त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ । विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ/भाउजु/साला/भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।’
‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल।’
प्रतिक्रिया