मन्त्रिपरिषद् विस्तारबारे छलफल : शुक्रबार भागबण्डा टुङ्ग्याएर शुक्रबार नै शपथको तयारी

मन्त्रिपरिषद् विस्तारबारे छलफल : शुक्रबार भागबण्डा टुङ्ग्याएर शुक्रबार नै शपथको तयारी


file photo: rss

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत सत्तारुढ दलको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शुक्रबार मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाएर शुक्रबार नै शपथको कार्यक्रम गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

सत्तारुढ दलको बैठक सकिएपछि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग छुट्टाछुट्टैसमेत छलफल गरेका थिए । सत्ता साझेदार दलहरुको बीचमा कांग्रेसले आठ, माओवादी पाँच, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले दुई/दुई र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीलाई एक/एक मन्त्रालय दिने सहमति भएको थियो ।